भीरकोटमा वृद्धभत्ता घरघरमा

स्याङ्जा- संघीयता लागू भएसँगै सिंहदरबारको अधिकार घरघरमा आयो भन्ने घोषणाले खुसी देखिएका सर्वसाधारण पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, अपेक्षाकृत सेवा सुविधा नपाउँदा संघीयतासँग वाक्क भएका छन् । संघीयतालाई स्थापित बनाउन केही स्थानीय तहले सह्रानीय कामको थालनी गरेका छन् । यही सह्रानीय कामको थालनी स्याङ्जाको भीरकोट नगरपालिकाले गर्न थालेको छ ।
सह्रानीय कामको थालनी स्वरुप भीरकोट नगरपालिकाले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेको छ । ६ हजार वृद्धभत्ताका लागि १० हजार खर्च हुने गुनासो वृद्धहरूले गरिरहेका बेला नगरपालिकाले घरघरमै पुगेर भत्ता वितरण गरेको हो । नगरपालिकाको वडा ५ का ७० वर्ष नाघेका हिँडडुल गर्न नसकने अपांग, अशक्त ३५ जना वृद्धवृद्धालाई घरघरमै पुगेर भत्ता वितरण गरिएको नगरप्रमुख छायाराम खनालले बताए । यसअघि वृद्धाहरूको भत्ता आफ्ना घर परिवारका सदस्यले बुझ्दै आएका थिए । “जसका लागि सामाजिक सुरक्षा भत्ता आएको हो उसले आफ्नो हातमा नपाउने गरेको गुनासो आएपछि नगरपालिकाले वृद्धवृद्धाको घरघरमा गएर भत्ता वितरण गरेका हौं ।” नगर प्रमुख खनालले भने, “घरघरमा पुगेर भत्ता दिँदा परिवारका सदस्यले भत्ता बुझ्ने तर वृद्धवृद्धाले नपाउने समस्यासमेत हट्नेछ ।”
आफ्नो भत्ता रकम बुबा आमालाई कमै मात्रामा दिने गरेको भेटिएपछि ७० वर्ष अशक्त वृद्धवृद्धाहरूलाई घरघरमा गएर सुरक्षा भत्ता वितरण गरेको मेघा बैंक नेपाल बयरघारी शाखाका प्रबन्धक रवीन्द्र नेपालले बताए । उनका अनुसार आर्थिक वर्षको पहिलो महिनामै नगर प्रमुख, वडाका जनप्रतिनिधि र बैंकका कर्मचारीसहितको टोलीले घरघरमा पुगेरा भत्ता वितरण गरेको थियो ।