कोरला नाकाको नेपालतर्फ पूर्वाधार निर्माणमा ढिलाइ

म्याग्दी– कोरला नाकाको नेपालतर्फको पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको छ । नेपाल र चीनको कोरला सिमाना २४ नम्बर पिल्लरमा नेपालका तर्फबाट कच्ची सडक पुगेको छ । तर, व्यावसायिक रूपमा नाकालाई अगाडि बढाउन पूर्वाधार निर्माणमा भने सरकारले ढिलाइ गरेको देखिएको छ ।
दुई देशको व्यापारलाई व्यवस्थित बनाउन दुई देशको सिमानामा भौतिक संरचना आवश्यक हुन्छ । चीनतर्फ भौतिक संरचना पूर्ण रूपमा तयार पारेको छ भने नेपालतर्फ कुनै सुरसार नै भएको छैन । कोरला नाकामा पूर्वाधार निर्माणका लागि विभिन्न समयमा सकारका टोलीले अध्ययन गरे पनि भौतिक संरचना निर्माण सुरु हुन सकेको छैन । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सिमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीच भएको सम्झौता कागजमै मात्र सीमित बनेको छ ।
कोरला नाका सञ्चालनको सम्भावना र आवश्यकताको अध्ययनका लागि संघीय सरकार र प्रदेश सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको आवतजावत बाक्लो भए पनि सरकारले कोरला नाका सञ्चालनको पूर्वाधार निर्माणको कार्य अझै सुरु गर्न सकेको छैन । चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सबै तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमा नाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ ।
नाकासम्म सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगह, सुरक्षा पोस्ट, भन्सारलगायतको सबै तयारी गरिसकेको छ । चीनतर्फ ठेकेदारमार्फत निर्माण गरेको सम्पूर्ण पूर्वाधार सरकारलाई हस्तान्तरण गरेको सन्देश आएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । ‘चीन नाका खुलाउन तयार भएको छ, हाम्रोतर्फ भरखर माटो परीक्षण भएको छ, अब कहिले डिपिआर बन्ने हो, कहिले ठेक्का लाग्ने र कहिले पूर्वाधार बन्ने हो ? टुंगो लागेको छैन,’ अध्यक्ष गुरुङले भने ।
कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब १ हजार रोपनी जग्गा अधिकरणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षण समेत गरिएको छ । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना मुस्ताङ खण्डको काम अन्तिम चरणमा पुगेको छ । घाँसादेखि जोमसोम हुँदै कोरला नाका जोड्ने सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको क्रममा छ । विभिन्न खोलाहरूमा मोटरेबल पुल निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको छ ।
चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाको म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको घाँसा खण्डको काममा भने ढिलासुस्ती भएको छ । निर्माण व्यवसायीको ढिलासुस्ती, बाढी, पहिरो र नदी कटानको कारण म्याग्दी खण्डमा सडक कालोपत्रे गर्ने काम प्रभावित बनेको छ । व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी करिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो ।
उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चीनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी र पूर्वाधार हो । पिल्लरको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाइरहेको छ । नेपाल र चीनबीच भएको नाका खुलाउने सम्झौताअनुसार कोरला नाकामा चिनियाँ पक्षले भन्सारलगायतको प्रयोजनका लागि विशाल भवन निर्माण गरिसकेको छ ।
सिमानामा आफ्नो देशको राष्ट्रिय झन्डा फहराउँदै चीनले सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिसकेको छ । परम्परागत रूपमा कोरला नाकामा अर्धवार्षिक रूपमा व्यापार मेला लाग्दै आएको छ । अहिले वर्षमा दुई पटक मात्रै मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँले सामान आयात र निर्यात गर्दै आएका छन् । यो वर्ष नाका सञ्चालनको सबै पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला लगाउन इच्छा देखाएका छैन ।
खास गरी उनीहरूले व्यापार मेलाभन्दा पनि नियमित रूपमै नाका खुलाउन चाहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । हरेक वर्षको भदौ र जेठमा मुस्ताङवासीलाई लक्षित गरेर दुई सातासम्मको समयका लागि अल्पकालीन व्यापार मेलाको रूपमा नाका सञ्चालन हुँदै आएको थियो । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर जोडिने भएकाले कोरला नाका सञ्चालनमा आए मुस्ताङमात्रै नभएर गण्डकी प्रदेशसहित मुलुककै लागि अन्तरदेशीय व्यापार र पारवहनको भरपर्दो भाग्यरेखा तयार हुने अपेक्षा गरिएको छ ।