Logo

महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा

बिर्तामोड– मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको छ । मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाइबुनाइ सहुलियत कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए ।

मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले सञ्चालन गरेका ६ वटा संघसंस्थालाई जनही १ लाख ७० हजार रुपैयाँ कर्जा प्रदान गरेको अध्यक्ष प्रसाईले जानकारी दिए । उनले १० लाख २० हजार रुपैयाँ सहुलियत कर्जा प्रदान गरेको बताए । सहुलियत कर्जाको अवधि दुई वर्षको हुने र महिला उद्यमशीलता कर्जाका लागि ५ प्रतिशत ब्याज दिइएको उनले बताए ।

बिनाधितो सहुलियत कर्जाअन्तर्गत पशुपालनतर्फ तारापुञ्ज छोरी–बुहारी सशक्तिकरण मेचीनगर- ९ की अध्यक्ष सीता पोखरेललाई बाख्रा तथा कुखुरापालन, सञ्जीवनी महिला विकास संस्था मेचीनगर-९ की अध्यक्ष रेणुका डाँगी सिलाइ कटाइ, नारी कल्याणकारी विकाश संस्था मेचीनगर–९ की अध्यक्ष जानुका ओलीलाई पशुपालन तथा विविध व्यवसाय, समाज सुधार महिला समूह मेचीनगर–९ की अध्यक्ष संगीता थापालाई सिलाइबुनाइ, संयुक्त युवा संघ मेचीनगर-८ की अध्यक्ष अग्निमाया मेचेलाई तरकारी खेती तथा महिला जनचेतना केन्द्र मेचीनगर–६ की अध्यक्ष सीता गुरुङलाई पशुपालनका लागि कर्जा वितरण गरिएको उनले बताए ।

उनीहरूलाई कोसी प्रदेशसभा सदस्य सविना बजगाईं, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनालगायतले कर्जा रकमबराबरको चेकसहित दुवै पक्षबीच भएको सम्झौतापत्र प्रदान गरेका थिए । संघले सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेर १ लाख ७० हजार रुपैयाँसम्मको कर्जाको लागि विस्तृत परियोजना प्रस्ताव माग गरेपछि मागका आधारमा सहुलियत कर्जा उपलब्ध गराएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

संघका सचिव कमलप्रसाद कोइरालाले बिनाधितो सहुलियत कर्जा मागका लागि निकै प्रस्ताव प्राप्त भए पनि ६ वटा महिला आवद्घ संघ संस्थालाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको बताए । देशका विभिन्न सहरमा महिला उद्यमीहरूले उद्यमशीलता विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन माग गरिरहेका बखत संघले सहुलियत कर्जा लगानी गरेर प्रशंसनीय काम गरेको कोसी प्रदेश सभा सदस्य सविना बजगाईंले बताइन् ।

बैंकहरूले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यमीहरू सेवाप्रवाहबाट वञ्चित भएका बखत संघले प्रदान गरेको सहुलियत कर्जाले निक्कै राहत मिलेको समाज सुधार महिला समूह मेचीनगर–९ की अध्यक्ष संगीता थापाले बताइन् । स्थानीय सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

कर्जामा बैंकहरूले बिनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य रहेको नेपाल उद्योग वाणिज्य महासंघका केद्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष नरेन्द्रकुमार खड्काले बताए । सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, संयुक्त युवा संघकी अध्यक्ष अग्निमाया मेचेलगायतले संघले बिनाधितो सहुलियत व्याजदरमा महिला उद्यमशीलताका लागि सहुलियत कर्जा प्रदान गरेर राम्रो कार्य गरेको बताए ।

संघका महासचिव दिनेश शाक्यले देशका विभिन्न सहरमा महिला उद्यमशीलता लागि कर्जा प्रवाह बढाउन माग बढिरहेका बखत संघले बिनाधितो सहुलियत ब्याजदरमा सहुलियत कर्जा प्रदान गरेकाले यसलाई सदुपयोग गर्न महिला उद्यमीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्