चाडपर्वसँगै बजारमा चहलपहल

दाङ– चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको छ । तीज, दसैं, तिहार आउने क्रमसँगै बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको हो । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा किनमेल गर्ने महिलाको भीडभाड बढेको छ ।
विशेष गरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै भीड हुने गरेको छ । धेरैजसो कपडा पसलमा तीजका सामान साडी तथा अन्य पोसाक किन्नेको दैनिक भीड लाग्ने गरेको छ । शृंगार पसलमा पनि अन्य समयभन्दा अहिले बढी भीड हुने गरेको छ । विशेष गरी कपडा, कस्मेटिक, गहना पसलमा बढी भीडभाड हुने गरे पनि व्यापार भने त्यति सन्तोष जनक नभएको केही व्यवसायी बताउँछन् ।
कोरोनापछि थलिएको बजार पछिल्लो समयको आर्थिक मन्दीले गर्दा सोचेअनुसार व्यापार–व्यवसाय हुन नसकेको व्यवसायी बताउँछन् । तर, यसअघिका वर्षभन्दा केही व्यापार–व्यवसाय बढेको छ । तीज पर्वलाई लक्षित गरी बजारमा विभिन्न खालका नयाँ–नयाँ डिजाइनका पहिरन भित्रिएका छन् । परापूर्वकालदेखि साडीचोलोमा सजिँदै आएका नारी पछिल्लो समय आधुनिकता तथा पश्चिमा संस्कृतिको सिको गर्न थाले पनि साडी किन्नेको भीड हुने गरेको छ । तीजलाई मध्यजनर गर्दै विभिन्न सामग्री किनमेल गर्नेको भीड भने धेरै छ ।
‘गत वर्षभन्दा बढी भीड भए पनि बजारमा पहिले हजारौँको सामान किन्ने गरेकोमा अहिले सयमा झरेको छ,’ उनले भने, ‘यसअघि लाखौँको थोक सामान लिने व्यवसायी अहिले हजारौँमा झरेका छन् ।’ कपडा व्यवसायी कल्पना केसीले गत वर्षभन्दा यो वर्ष किनमेल गर्ने बढेको बताइन् । कपडामा मूल्य धेरै बढेका कारण मन खोलेर किनमेल गर्ने कम भएको उनको भनाइ छ । स्थानीय चन्दकला वलीले यसअघि करिब १ हजार २०० सय पर्ने साडी अहिले २ हजार २०० सम्म पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिन् ।
दैनिक उपभोग्य सामग्री पनि महँगिएका कारण यो वर्ष चाडपर्व महँगो पर्ने स्थानीय मनकली बूढाले बताइन् । उनले यसअघि ६ सय प्रतिकिलो पाइने जिरा अहिले १ हजार २ सय रुपैयाँ पुगेको भन्दै भान्सा निकै महँगो भएको बताइन् । तीजका लागि दर खाने पुलाउ चामल र अन्य चामल पनि दुई गुणाले बढेको उनको गुनासो छ । उनी जस्तै धेरै गृहिणीले बजारमा किनमेल गर्न आफूहरू आउँदा भाउ अकासिएर छुनै नसक्ने अवस्थामा पुगेको बताउँछन् । यता व्यवसायीले भने खरिद मूल्य नै बढेकाले आफूहरूले पनि सोहीअनुसार बिक्री गर्ने गरेको बताएका छन् । ‘चाडपर्व नजिकिएको छ, हामीले पनि खरिदअनुसार बिक्री गर्नुपर्छ’, व्यवसायी कमल केसीले भने, ‘यस वर्ष सबै कुरा महँगो छ ।’
शनिबार पनि बजार खुला
उद्योग वाणिज्य संघहरूले चाडपर्वलाई मध्यजनर गर्दै शनिबारका दिन पनि बजार खुला राख्ने निर्णय गरेका छन् । नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै दाङमा रहेका सबै उद्योग वाणिज्य संघहरूले शनिबार बजार खोल्ने निर्णय गरका हुन् । यसअघि शनिबार बजार बन्द हुँदै आएको थियो । त्यस्तै यहाँको उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीलाई म्याद गुज्रेका सामान तत्काल हटाउन आग्रह गरेको छ ।
बजारमा म्याद गुज्रेका सामान बिक्री–वितरण हुने गरेको र मूल्य पनि पसलैअनुसार फरक–फरक हुने गुनासो आएको बेला तत्काल हटाउन वा फिर्ता गर्न व्यवसायीलाई आग्रह गरिन् । आउँदै गरेका चाडपर्वका अवसरमा बजारमा हुने अनुगमनलाई सहजीकरण गर्दै म्याद गुज्रेका सामान तत्काल हटाउन वा फिर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने निर्णय भएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले बताए ।