Logo

इजरायलमा तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा समस्या

भिसा नवीकरण गर्न इजरायली पक्षसँग इजरायलस्थित नेपाली दूतावासले छलफल गरिरहेको छ ।

काठमाडौं– इजरायल र नेपालबीच सरकारी तवर (जीटुजी)मार्फत इजरायल गएका मध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको छ । भिसा नवीकरण समयमा नभएपछि इजरायलस्थित नेपाली दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ । पछिल्लो डेढ वर्षयता इजरायल गएका ११ सयमध्ये तीन सय नेपालीको भिसा नवीकरण प्रक्रियामा ढिलाइ भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दुई देशबीच सम्झौता भएर सरकारी तवरबाट इजरायल गएका मध्ये तीन सय नेपाली केयरगिभरको भिसा नवीकरण प्रक्रियामा ढिलाइ भएको हो । नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले इजरायलमा सरकारी तवरबाट आएका नेपाली कामदारहरुको भिसा नवीकरणका लागि कूटनीतिक पहल भइसकेको बताए । इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी (पिवा) सँग कुरा भएको उनले जनाए ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको पहलमा भदौ पहिलो साता इजरायली पक्षसँग छलफल भएको थियो । विशेषगरी पछिल्लो समय सरकारी सम्झौतामार्फत इजरायल गएका नेपाली सहायक कामदारको भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।

पिवाले भिसा नवीकरण हुन बाँकी नेपाली कामदारलाई इजरायलमा कुनै समस्या नहुने आश्वासन दिएको छ । साथै बैठकमा कृषि क्षेत्रमा नेपाली कामदार लैजाने विषयमा समेत कुराकानी भएको थियो । इजरायलमा कार्यरत नेपालीको भिसा नवीकरण नभएकोमा एनआरएनए आईसिसि इजरायलले दूतावाससँग पहलका लागि अनुरोध गर्दै आएको प्रवक्ता मञ्जु थपलियाले जानकारी दिइन् ।

इजरायलको केयरगिभरमा सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना छनौट भएरका थिए । हालसम्म इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात् लगभग ७७० महिला र ३० प्रतिशत अर्थात् बाँकी ३३० पुरुष रहेका छन् । पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । अन्तिम नामावली प्रकाशित भएका मध्ये केही श्रमिक भने जान योग्य नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार करिब १ लाख ९० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि थपेर ५ वर्षसम्म बस्न पाइने व्यवस्था छ । नेपालबाट १ हजार १ सयभन्दा बढी केयरगिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागि समेत श्रमिक लैजाने जनाउँदै आएको छ । हाल इजरायलको कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्