चौपाया व्यवस्थापनमा नगरपालिकाको चासो

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले छाडा चौपायाको सामुदायिक दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाका नगरप्रमुख पदम बोगटीले निर्वाचित भएयता सामुदायिक चौपायाको व्यवस्थापनका लागि विभिन्न प्रयास गरिरहेका छन् । त्यसैगरी विभिन्न ऐन, कानुनी बाधाअड्चन र अन्य कारणले गर्दा चौपायाको व्यवस्थापनका लागि आवश्यक जग्गा नपाउँदा सामुदायिक चौपायाको समस्या भने समाधान हुन् सकेको छैन ।
धेरै प्रयास गर्दापनि अन्य ठाउँमा जग्गा प्राप्त नभएपछि भीमदत्त नगरपालिका–१३ हात्तिसारको पश्चिमतर्फ रहेको महाकाली नदीको बगरको जग्गामा चौपायाको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग नगरपालिकाले छलफल अगाडि बढाएको छ । त्यसैगरी शुक्लफाँटा निकुञ्जको किनारमा रहेको जग्गामा गिद्द संरक्षण र छाडा चौपायाको व्यवस्थापनका लागि वन तथा वारतावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीलाई बोलाएर छलफल तथा स्थलगत अनुगमनसमेत गरिएको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता महेन्द्र खड्काले बताए ।
उक्त विषयमा केही साता अगाडि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नगरप्रमुख बोगटी, नगर उपप्रमुख निलम लेखक जोशीले वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोसँग छलफल गरेका थिए । नगरप्रमुख बोगटीको नेतृत्वमा नगर उपप्रमुख लेखक, विभागका उपमहानिर्देशक कार्की, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नापी कार्यालय कञ्चनपुरका प्रमुख राजेन्द्रप्रसाद भट्ट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वाडेन प्रमोद यादव, वडाध्यक्षहरू लगायतको टोलीले गिद्द संरक्षण तथा चौपायाको व्यवस्थापनका लागि नगरपालिकाले अगाडि सारेको जग्गाको स्थलगत अनुगमनसमेत गरेको छन् ।
अनुगमनका क्रममा उक्त जग्गा निकुञ्जको मातहतमा रहेपनि नापी कार्यालयको नक्सा हेर्दा महाकाली नदिको बगर रहेको खुलेको छ । टोलीले जग्गाको स्वामित्व, व्यवस्थापन र प्राविधिक कुरा यकिन गर्न प्राविधिक कार्यदल गठन समेत गरेको छ । यसअघि पनि भीमदत्त नगरपालिकाले चौपायाको व्यवस्थापनका लागि वेदकोट नगरपालिकासँग समन्वय गरी संयुक्त रूपमा व्यवस्थापन गर्न छलफलसमेत गरेको थियो । एक पालिकाले अर्को पालिकालाई रकम हस्तान्तरण गर्न नसक्ने कानुनी बाधाले गर्दा उक्त काम अगाडी बढ्न सकेन ।
त्यसैगरी नगरपालिकाले छाडा चौपाया संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सुदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समयदेखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यूका अध्यक्षलगायत, बुद्धिजिवी, जिल्ला समन्वयमा जिल्लाका सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सर्वदलीय बैठक पटक–पटक बसेको थियो । त्यसैगरी वेदकोट नगरपालिका र अन्य क्षेत्रमा चौपाया व्यवस्थापनका लागि गरिएका प्रयास बिफल भएपछि नगरपालिका भित्रै चौपाया व्यवस्थापन गर्न नगरपालिकाले सम्भावित जग्गा खोज्न कार्यदल गठन गरेको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सम्भावित जग्गाको अध्ययन अवलोकन समेत गरियो भने, यद्दपि सम्भावित जग्गामा विभिन्न कानुनी अड्चन र असहयोगका कारण चौपायाको व्यवस्थापन हुन् सकेन । त्यसपश्चात नगरपालिकाले भीमदत्त नगरपालिका–७ को सामुदायिक वनमा चौपाया व्यवस्थापनका लागि छलफल अगाडि बढायो । उक्त छलफल सकारात्मक भएपनि वनमा स्थायी टहरा निर्माण गर्न नपाइने कानुनी प्रवधानले नगरपालिकाले अस्थायी टहरा निर्माण गर्न खर संकलनसमेत गरेको थियो । अन्तिममा वनको कार्यसमितिले अस्थायी टहरा निर्माण गर्ने भएपछि त्यहाँ काम गर्न भने दिएन ।