तीन सय सडक तथा पुल निर्माणका योजना अझै बाँकी

महेन्द्रनगर– कञ्चनपुरको पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि आएको एक अर्ब २७ करोडको बजेटबाट ९९ करोड ६८ लाख सडक तथा पुल निर्माणका काममा खर्च गरिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी देव बडालका अनुसार कञ्चनपुरमा सडक तथा पुल निर्माणका जम्मा योजना ३४९ वटा छन् भने उक्त कार्ययोजना संख्याबाट ४१ वटा कार्य सम्पन्न गरिएको र ३०८ वटा कार्ययोजना सम्पन्न हुन बाँकी छ ।
बडालका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघको ससर्त अनुदानमा ५० करोड बजेट विनियोजन गरिएको थियो भने उक्त बजेटबाट चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानमा दुई करोड ८० लाख छ भने उक्त बजेटबाट दुई करोड ५३ लाख खर्च भएको छ । तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानमा पाँच करोड तीन लाख रहेको छ भने ३६ लाख ८५ हजार उक्त बजेटबाट खर्च भएको छ ।
त्यसैगरी सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि ६ करोड ८५ हजार बजेट विनियोजन गरिएको छ भने उक्त बजेटबाट दुई करोड ४७ लाख खर्च भएको कञ्चनपुर सूचना अधिकारी बडालले बताए । त्यसैगरी कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेट एक अर्ब ४७ करोड छ भने उक्त बजेटबाट एक अर्ब एक करोड खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय, कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको बजेटबाट ३६ करोड ७२ लाख ३४ हजार २६ फ्रिज भएको सूचना अधिकारी बडालले बताएका छन् । बडालका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट एक लाख ९० हजार फ्रिज भएको छ भने सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट २६ लाख ३७ हजार फ्रिज भएको छ ।
त्यसैगरी तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट चार करोड ६६ लाख फ्रिज भएको छ भने सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि आएको उक्त बजेटबाट चार करोड ३७ लाख फ्रिज भएको कञ्चनपुरका सूचना अधिकारी बडालले बताए । त्यसैगरी कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेटबाट ४६ करोड पाँच लाख रुपैयाँ फ्रिज भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको बजेट
पूर्वाधार विकास कार्यालयको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार सडक तथा पुल निर्माणकै लागि ६९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ भने उक्त बजेटबाट ४५ करोड ४४ लाख उक्त कार्यमा खर्च गरिएको छ । सूचना अधिकारीका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानमा २२ करोड विनियोजन गरेको थियो भने उक्त बजेटबाट एक करोड १८ लाख ५८ हजार खर्च भएको सूचना अधिकारी बडालले बताए ।
त्यसैगरी गत आर्थिक वर्षको तथ्यांकमा सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि दुई करोड १२ लाख विनियोजन गरिएको छ भने उक्त बजेटबाट ३१ लाख ८७ हजार खर्च भएको छ । सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा पाँच करोड ५० लाख विनियोजन गरिएको छ भने उक्त बजेटबाट तीन करोड ६१ लाख खर्च भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ ।
तथ्यांकका अनुसार कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेट ७९ करोड २५ लाख छ भने उक्त बजेटबाट भएको कुल खर्च ५० करोड ४६ लाख खर्च भएको कञ्चनपुर पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आवमा फ्रिज भएको बजेट
गत आर्थिक वर्ष पूर्वाधार विकास कार्यालयमा आएको बजेटबाट २३ करोड ९९ लाख फ्रिज भएको छ भने स्थानीयस्तरका सडक तथा पुलहरू संघ ससर्त अनुदानमा आएको बजेटबाट एक करोड एक लाख फ्रिज भएको कञ्चनपुर पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको एक करोड ८० लाख फ्रिज भएको छ भने एक करोड ८८ लाख सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा आएको बजेटबाट फ्रिज भएको छ ।
कार्यालयको तथ्यांकअनुसार फ्रिज भएको कुल रकम २८ करोड ६९ लाख रुपैयाँ छ । त्यसैगरी कञ्चनपुरका सूचना अधिकारी देव बडालले गत आर्थिक वर्ष २०७८/०७९ मा भन्दा चालू आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि बढी बजेट विनियोजन गरिएको बताए । उनले भने, ‘बाँकी रहेका जति पनि कार्ययोजना छन्, उक्त कार्ययोजनाका काम अहिले निर्माण भइरहेको छ भने छिट्टै उक्त निर्माणका योजना पूरा हुनेछन् ।”