बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार हुँदै «

बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार हुँदै

पर्वत, २८ माघ:  पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको छ ।विगत साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्डयन प्राधिरण तयार भएसँगै आवश्यक पूर्वाधार तयार गर्न थालिएको हो ।

नागरिक उड्डयन प्राधिकरण र विभिन्न विमान कम्पनी र बागलुङ नगरपालिकाबीच गत साता विमानस्थल सञ्चालनमा ल्याउने सहमति भएको थियो । 

गौरचरणमा परिणत भएको विमानस्थल सञ्चालनका लागि उक्त सहमति सँगै बिहीबार भएको प्राविधिकहरूको अवलोकनपछि पूर्वाधार निर्माणको काम तत्काल सुरु हुने भएको छ । अब विमानस्थलमा रन वे मर्मत, पुरानो टावरको चेकजाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाउने र रूखहरू तत्काल हटाउने कार्य केहि दिनमै सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख इन्द्रराज शर्माले सुरुमा पूर्वाधार तयार हुनुपर्ने बताए । गत बिहीबार सरोकारवालाहरू बीचको छलफलमा शर्माले दैनिक पोखरा, काठमाडौं जाने यात्रुको संख्या पुगेपछि बिमान सञ्चालन गर्न समस्या नरहेको बताउँदै पूर्वाधार निर्माणका लागि प्राविधिकहरूको सल्लाहाअनुसार अघि बढने प्रतिबद्धता जनाए । उनले जिल्लाका सबै संयन्त्रबाट विमानस्थल सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले विमानस्थल सुरक्षा समिति बनाउन आग्रह गरे । उनले अब फर्के लगत्तै बजेट इस्टिमेट गरेर मन्त्रालयसँग माग गर्नेसमेत बताए । 

पूर्वाधार निर्माणको काम अब तत्काल सुरु गर्न हामी पहल गर्छौं शर्माले भने । उनले प्रमुख जिल्ला अधिकारी, नगरपालिका, स्थानीय राजनीतिक दल र सांसदहरूलाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे । एक साताअघि वायुसेवा निगम र तारा एयरले हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिबद्धता जनाएका थिए । यता बागलुङ नगरपालिकाले यात्रुहरूको ग्यारेन्टी र विमानस्थल नियमित  सञ्चालनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जनाएको छ । नगरपालिकाका प्रमुख जनक पौडेलले दैनिक उड्ने जहाजमा अपुग यात्रुको भाडा नगरपालिकाले भुक्तानी गर्ने बताए । 

वि.स.२०४८ सालमा पोखरा–बाग्लुङ सडकमा सवारी  साधन गुड्न थालेपछि उक्त विमानस्थल बन्द रहेको थियो । सो स्थानमा पुग्ने बाटो कच्ची भएको कारण बीचमा परीक्षण उडान भए पनि विमानस्थल नियमित सञ्चालनमा आउन सकेको थिएन । करिब तीन वर्षअघि विमानस्थल सञ्चालन ल्याउने तयारीका साथ तत्कालिन शिक्षामन्त्री तथा माओवादी नेता दिननाथ शर्माको पहलमा नेपाल एयरलाइन्सको ट्वीनेटर जहाजले टेस्टिङ उडान गरेको थियो । अहिले मालढुंगादेखि—नारायणस्थान हुँदै सरंगीसम्मको कालीगण्डकी करिडोरको सडक नेपाली सेनाले करिब पाँच करोडको लागतमा स्तरोन्नति गरिसकेको र कुश्मादेखि बागलुङ जान एउटा झोलुङ्गे पुल र एकवटा यान्त्रिक पुल समेत सञ्चालनमा आएकाले यात्रुका लागि विमानस्थलसम्म पुग्न समस्या नरहेको नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए । विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक–पटक यसअघि पनि माग गर्दै आएको थिए ।  सो विमानस्थलमा हवाई उडान भए धौलागिरीका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । उनले साताको एक दिन भने पनि नियमति हुन थालेपछि दैनिकजसोनै यात्रुको संख्या पुग्ने दाबी गरे । 

मालढुंगाबाट विमानस्थल हुँदै जाने सडकका लागि आवश्यक बजेट विनियोजन भई काम अघि बढेकाले कालो पत्रे गर्ने तयारीसमेत भैरहेको छ ।

यो विमानस्थल बाग्लुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करिब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण भएको हो । विमानस्थल सञ्चालन गरेर नियमित उडान भरेमा वैदेशिक रोजगारबाट आउने व्यक्ति, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीलगायत पर्यटक भित्राउनसमेत सकिने हुने स्थानीय बताउँछन् ।

लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया दिनुहोस्