प्रशासकीय भवन निर्माणमा दोयम इँटा

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ । भवनको दोस्रो र तेस्रो तलामा गुणस्तरहीन दोयम इँटाको प्रयोग भइरहेको देखिन्छ ।
निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको स्थानीयको आरोप छ । आगनमै निर्माण भइरहेको प्रशासकीय भवनमा कमसल सामग्री प्रयोग भइरहेको भए तापनि जनप्रतिनिधि र कर्मचारी भने मौन छन् । उपप्रमुख निलम जोशी नेतृत्वको अनुगमन समितिले पनि मौनता साँधेको नगरपालिकामा कार्यरत कर्मचारी बताउँछन् ।
भवन साढे २५ करोडको लागतमा निर्माण भइरहेको छ । भवन निर्माणका लागि नगरपालिका र अनक जोशी जेभीका बीच २०७८ जेठ १२ गते सम्झौता भएको थियो । २०८० जेठ १२ गते म्याद सकिएको थियो भने विभिन्न कारण देखाउँदै एक वर्षका लागि पुनः म्याद थप गरिएको छ । त्यसैगरी धनगढीबाट ल्याइएका गोदावरी र बीबीएफ नाम अंकित दोयम इँटा प्रयोग गरी मिस्त्रीहरूले दोस्रो र तेस्रो तलाको चिनाइ गरिरहेको देख्न सकिन्छ ।
प्रशासकीय भवनको ठेक्का अनक जोशी जेभीले पाएको थियो भने सम्झौता अवधिभित्र भवन सम्पन्न नभएपछि एक वर्षका लागि म्याद थप गरिएको जोशी जेभीका प्रतिनिधि बताउँछन् । प्रशासकीय भवनमा दोयम र अन्य इँटा मिसमास गरी काम भइरहेको छ । नगरपालिकाको आगनमै कमसल खालका इँटा प्रयोग गरी भवन निर्माण भइरहेको भए तापनि प्राविधिकले अनुगमन नगर्दा उनीहरूको पनि मिलेमतोको आशंकालाई बल पुगेको छ ।
निर्माणाधीन भवनमा पुग्दा मिस्त्रीहरू दोयम इँटा प्रयोग गरी भित्ताको चिनाइ गरिरहेका थिए । प्रयोग गरिरहेको इँटाका बारेमा मिस्त्रीहरूले खुलेर जवाफ दिन सकेनन् । ‘कुन इँटा हो, हामी चिन्दैनौं, राम्रै इँटा त होला नि,’ एक मिस्त्रीले भने । जोशी जेभीका सञ्चालक गणेश जोशीले विभिन्न इँटा उद्योगबाट इँटा मगाउँदा कमसल खालका इँटा परेको हुनसक्ने र त्यस्ता इँटा फिर्ता गर्ने बताए ।
उनले भने, ‘गुणस्तरीय सामग्री प्रयोगमा हामी प्रतिबद्ध छौं, काम गर्नेहरूको कमजोरीले दोयम इँटा आएको रहेछ भने फिर्ता गर्नेछौं,’ जोशीले भने, ‘निर्माण व्यवसायीले निर्माण भइरहेको आफ्नै भवनमा गुणस्तरहीन इँटा प्रयोग गरिए तापनि कार्यकक्षबाट बाहिर आएर प्राविधिकले त्यसको अनुगमन नगर्नु भनेको उनीहरूको पनि मिलेमतो हुनु हो,’ उनले भने ।
यसअघि पनि पटक–पटक दोयम इँटा प्रयोग भएको प्राविधिक स्वयम्ले स्वीकारेका छन् । त्यसैगरी उक्त नगरपालिकाका सबओभरसियर प्रेमसिंह धामीले दुई महिनाअघि हामीले दोयम इँटा प्रयोग गरी निर्माण भइरहेको वाल भत्काएको बताए । उनले भने, ‘एक, दुई दिनयता अनुगमन गरेका छैनौं, अब हेर्छौं र अनुगमनपछि दोयम इँटा फिर्ता पठाउँछौं ।’