Logo

कर्णाली समृद्धिको आधार जडिबुटी

चार वर्षमा जुम्लाबाट ७९७ टन निर्यात

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला कृषि, पर्यटन, संस्कृतिसँगै जडिबुटीको पनि प्रचुर सम्भावना भएको जिल्ला हो । जडिबुटीमा आत्मनिर्भर साविक कर्णालीका मुगु, डोल्पा, हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोत नै जडिबुटी हो । जडिबुटीबाटै साविक कर्णालीका नागरिकले वर्षभरि पुग्ने आम्दानी गर्छन् । यद्यपि उपयुक्त मूल्य नपाउने समस्या विद्यमान नै छ ।

तर किसानको मुख्य आयस्रोतको माध्यम नै जडिबुटी बनेको छ । जुम्लाको पातारासी र गुठिचौर गाउँपालिकाका नागरिकको आम्दानीको स्रोत नै जडिबुटी संकलन र बिक्री हो । कर्णालीको जडिबुटी विशेषगरी दक्षिणमा भारत र उत्तरमा चिनमा बढी निर्यात हुने गर्छ । बितेका दुई वर्षमा जडिबुटी संकलन राम्रो भए पनि कोरोनाका कारण चीन र भारताका नाका बन्द भएपछि किसान कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भए । पछिल्लो वर्षमा भने जडिबुटीबाट किसानले राम्रै लाभ लिने देखिन्छ ।

कर्णालीका विभिन्न पाटनमा यार्सागुम्बा, घुच्ची च्याउ, रातो च्याउ, कुड्कीलगायत २२ प्रकारका बहुमूल्य जडिबुटी पाइन्छन् । बहुमूल्य जडिबुटी कौडीको भाउमा बेच्नु पर्ने किसानदेखि व्यापारीको बाध्यता छ । कर्णालीमै जडिबुटी प्रशोधन उद्योग छैन । राज्यले जडिबुटीसम्बन्धी ठोस नीति पनि बनाउन सकेको छैन । सिधै किसानले बेच्न पाउने, मूल्य तोक्न पाउने स्थिति छैन । जसका कारण किसानबाट सस्तोमा किन्ने र केही फाइदा खाएर व्यापारीले अन्तराष्ट्रिय बजामा बेच्ने गर्दै आएका छन् ।

ज्यान दाउमा राखेर किसानले जडिबुटी संकलन गरे पनि राज्यको ठोस नीति नहुँदा घाटा खाएरै बेच्नु पर्ने विगतदेखिको बाध्यता रहेको जडिबुटी व्यापारी मिन कठायत बताउँछन् । उनका अनुसार कर्णाली प्रदेश सरकारले आफ्नै प्रशोधन उद्योग सञ्चालन गरेको खण्डमा जडिबुटीले उपयुक्त मूल्य पाउन सक्छ । जडिबुटीको संरक्षण, व्यवस्थित संकलन, उपयुक्त मूल्य र बजारीकरणमा राज्यले नीति बनाएको खण्डमा कर्णालीको आर्थिक समृद्धि र जीविकोपार्जनको जडिबुटीबाटै सम्भव रहेको उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउँछन् ।

उनका अनुसार पछिल्ला वर्ष जडिबुटीको संरक्षणमै चुनौती छ । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबैभन्दा धेरै जडिबुटी पाइन्छ । जुम्लाबाट मात्रै बितेको चारम झण्डै आठ सय टन जडिबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाको चार वर्षको तथ्यांकअनुसार आव २०७६/०७७ देखि आव २०७९/०८० सम्मको तथ्यांकलाई हेर्दा जुम्लाबाट ७९७ टन ५५ क्विन्टल जडिबुटी जुम्लाबाट निर्यात भएको देखिन्छ ।

जसअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा १८५ टन ३७ क्विन्टल जडिबुटी निर्यात भएको थियो भने आव २०७७/०७८ मा २०२ टन जडिबुटी निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्कबहादुर महतले बताए । त्यस्तै आव २०७८/०७९ मा भने एक टनले घटेर मा २०१ टन जुम्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निर्यात भयो भने गत आव २०७९/०८० मा अहिलेसम्मकै धेरै मात्रामा २०९ टन १९ क्विन्टल जडिबुटी निर्यात भएको सूचना अधिकारी महतले जानकारी दिए ।

विगत दुई वर्षमा कोरोनाका कारण जडिबुटी त्यति धेरै संकलन नभएको कारणले आव २०७९/०८० मा उत्साहजनक रूपमा जडिबुटी निर्यात भएको हो । चार वर्षमा ७९७ टन ५५ क्विन्टल जडिबुटी निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने तथ्यांक कतै छैन । किनकि मूल्यमा एकरूपता छैन । व्यापारीहरूले किसानसँग समझादारीमै कतैबढी कतै कम दिएर जडिबुटी खरिद गर्छन् । वन कार्यालयले जडिबुटीको मात्रानुसार निर्यातका लागि राजस्व संकलन गर्ने तर कति रुपैयाँ बराबरको निर्यात भयो भन्ने तथ्यांक आफूसँग नहुने डिभिजन वन कार्यालयका जुम्लाका प्रमुख दिनेशजंग शाहीले बताए ।

उनले जडिबुटी कर्णाली समृद्धिको स्रोत भएकाले यसको संरक्षण र कर्णालीमै प्रशोधन गर्न ध्यान दिनु जरुरी छ । जुम्लाबाट सबैभन्दा बढी धुपी, सचेक चिनि, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ भने अन्य चिराइतो, सुनपाती, पाखनवेद, सुगन्धवाल, विषजरा, बोझो, अतिस, पदमचाल, गुच्ची च्याउ, अमलवेद, रातो च्याउ, वन लसुनलगायत २२ प्रकारका जडिबुटी निर्यात हुने गरेका छन् ।

१ करोड ४१ लाख राजस्व संकलन

जडिबुटी बिक्रीबाट जुम्लाका किसानले एकिन कति कमाए, जिल्लामा कति आर्थिक भित्रियो भन्ने विवरण नभए पनि जडिबुटी संकलन तथा निर्यात र काठको गरी बितेको चार वर्षमा झण्डै डेढ करोड राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय जुम्लाको विवरणअनुसार चार वर्षमा जडिबुटी निर्यातबाट एक करोड ४१ लख ३५ हजार आठ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जसमा आव २०७६/०७७ मा ३२ लाख, आव २०७७/०७८ मा २९ लाख ७४ हजार रुपैया राजस्व संकलन भएको थियो । त्यस्तै, आव २०७८/०७९ मा २०१ टन जुटिबुटी निर्यातवापत ३५ लाख र गत आर्थिक वर्ष २०७९/०८० मा २०९ टन जडिबुटी निर्यातवापत ४६ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले जानकारी दिए ।

विभिन्न २२ प्ररकारका बहुमूल्य जडिबुटी जुम्लामा पाइने भए पनि नीतिगत अप्ठ्यारा, उचित मूल्य नपाउनु, असहज बजार नीतिका कारण पनि जडिबुटीको व्यापार सिजनअनुसार फष्टाउँदै गएको छ । जडिबुटीको संकलन निर्यात तथा सहज बजारीकरणका लागि तीनै तहका सरकारले दोहोरोपन नहुने नीति तथा प्रदेशस्तरमै ठूलो लगानीको प्रशोधन उद्योग स्थापना गर्न जडिबुटी व्यापारीको माग छ ।

प्रतिक्रिया दिनुहोस्