Logo

तनाव व्यवस्थापन र भावनात्मक बुद्धिमत्ता

हरेक व्यक्तिको बौद्धिक र भावनात्मक गरी सक्षमताका दुई स्तर हुन्छन् । एक अध्ययनका अनुसार हाम्रो व्यावहारिक जीवनमा बौद्धिक लब्ध वा स्तरले मात्र २० प्रतिशत र भावनात्मक लब्ध वा स्तरले ८० प्रतिशत भूमिका निर्वाह गरेको हुन्छ । दुर्भाग्यको कुरा के रहेछ भने अहिलेको तछाडमछाड र प्रतिस्पर्धी जीवनशैलीमा हामीले एकोहोरो बौद्धिक स्तरोन्नतिमै आफ्नो पूरा बल र प्रयास लगाइरहेका हुन्छौं, जसको परिणामस्वरूप शिक्षा, सफलता, वैभव, बैंक ब्यालेन्स, विलासितापूर्ण जीवन सब हुँदाहुँदै पनि कतै न कतै सम्बन्धमा तनाव र जीवनमा अशान्ति रहि नै रहन्छ ।

यो प्रसंग पूर्ण मनोवैज्ञानिक रहेको हुनाले सबै पेसा, उमेर समूह र खासगरी व्यवस्थापक, प्रशासक, अभिभावक र विद्यार्थीवर्गले बुझ्नैपर्ने प्रसंग हो यो । प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले भावनात्मक बुद्धिमत्तालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए । जीवनको भागदौडमा कतै न कतै सम्बन्धमा, व्यक्तिगत जीवन र पेसागत जीवनमा थाकेकाहरूका लागि यस विषय र शोधले उपचारकै काम गर्‍यो । भनिन्छ पश्चिमी मुलुकतिर लाखौँको संख्यामा युवा, व्यवस्थापक, व्यापारी र पारिवारिक व्यक्तिले रुचिका साथ यो किताबलाई खरिद गरेका थिए ।

आइक्यू र इक्युको सन्तुलन बनाउन सकेको व्यक्तिले दीर्घकालीन सफलता प्राप्त गर्छ । सफलता के हो त ? धेरै धन हुनु, सरकारी जागिर वा आफ्नै ठूलो सानो व्यापार हुनु ? धेरै शैक्षिक डिग्री हुनु कि प्रसिद्ध व्यक्ति बन्नु, ठूलो राजनेता गायक अभिनेता–अभिनेत्री हुनु ? के हो त सफलता ? वास्तवमा सफलताको र करियर भन्ने शब्दको कुनै पूर्वनिर्धारित व्याख्या नै छैन, किनभने राष्ट्र र राज्यपिच्छे कानुन अलग–अलग रहेझैं व्यक्ति–व्यक्तिपिच्छे सफलताको परिभाषा पनि धेरै हदसम्म फरक हुन सक्छ । तर, सफलताको मर्म सबैमा समान रहने भनेको एउटै हो र त्यो हो-सन्तोष र त्यस सन्तोषबाट उत्पन्न भएको खुसी ।

परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वत: धेरै न्यून हुन जान्छ ।

स्मरण रहोस्, खुसी र सुखीमा धेरै फरक छ । हरेक खुसी व्यक्ति सुखी हुन्छन्, तर हरेक सुखी व्यक्ति खुसी हुन् भन्ने जरुरी छैन । सुखले धन वैभव दर्साउँछ भने खुसीले शान्ति र आत्मसन्तोष । यस प्रकार आइक्यु र इक्युको सन्तुलन बनाउन सकेको व्यक्तिलाई मात्र वर्तमानमा चनाखो र स्मार्ट व्यक्तिको संज्ञा दिइएको छ । आइक्यु भन्नाले कुनै व्यक्तिको उसकै उमेर समूहका अन्य व्यक्तिहरूको तुलनामा बौद्धिक वा दिमागी क्षमताको गुणक हो भने इक्युको सामान्य भाषामा अर्थ कुनै व्यक्तिभित्र रहेका अलग–अलग भावनाहरू जस्तै : रिस, प्रेम, घृणा, दु:ख, निराशा, खुसी, डर आदिलाई व्यवस्थापन गर्न सक्ने क्षमताको गुणक हो ।

भावनात्मक बुद्धिमत्ताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ । यस प्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्साउँछ । सम्बन्धमा भावनात्मक बुद्धिमता प्रदर्शित हुने मुख्य–मुख्य क्षेत्रहरूमा हाम्रो मानसिक शान्ति, आत्मविश्वास, घरपरिवार, नातेदार तथा जागिर, व्यवसाय, छिमेक र समाज हुन् । यी महत्वपूर्ण क्षेत्रहरू नै हुन् जुन कि हाम्रो जीवनको वरिपरि छरिएर रहेका छन् र जसलाई समयमै महत्व र सही व्यवहार दिन सक्नुपर्छ ।

भावनात्मक ज्ञान अरू केही हैन, बल्कि आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । यसको प्रथम चरण नै बोली हो । तपाईं के–कसरी बोल्नुहुन्छ, केवल त्यही बुझ्छन्, सुन्ने व्यक्तिले तपाईंको मुटु छामी भाव बुझ्न जाँदैनन् । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वत: धेरै न्यून हुन जान्छ । धेरै खुसी भएका बेला र धेरै निराश भएको बेला भावनामा नियन्त्रण गर्न सक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले ।

रिसको जननी नै अपेक्षा हो । अपेक्षा पूरा भयो भने खुसी हुन्छौं, पूरा भएन भने यसले दु:खी र दु:खले निराशा जन्माउँछ । निराशाले रिस उत्पन्न गर्छ र रिसले समस्या सिर्जना गर्न थाल्छ । यहाँ बुझ्नुपर्ने कुरा के रहेछ भने यी पाँचवटै चरण अपेक्षा, खुसी, दु:ख, निराशा र रिसमा हाम्रो नियन्त्रण हुन सक्नुपर्‍यो । भावना हामीबाट सञ्चालित हुन्छन्, हामी भावनाबाट नियन्त्रित हुनु हुँदैन । जीवन कठिन हुँदैन, खासै जिउन नजानेर मात्र कठिन लागेको हो । मृत्यु जीवनमा एकपटक मात्र आए पनि हामीले जीवन हरेक बिहानी पाएका हुन्छाैं ।

खालि कतिखेर कस्तो भाव वा व्यवहार प्रदर्शित गर्ने कलामात्र विकसित गर्न सके अभावमा पनि आनन्दको अनुभूति हुन्छ । डर पनि एक भावमात्र हो । परिस्थिति वा भविष्यलाई लिएर डराउन छोडिदिनुस् । भावनात्मक बुद्धिमताले तनाव व्यवस्थापनमा पनि सञ्जीवनीको भूमिका निर्वाह गर्ने गर्छ । भावनात्मक बुद्धिमतालाई आधारभूत रुपमा निम्न चार तरिकाले अझ विकसित र व्यवस्थित गर्न सकिन्छ :

१. स्वयं जागरुक बन्न सिकेर

शिक्षित हुनु र जागरुक हुनुमा धेरै फरक छ । आज शिक्षित–साक्षर विगतका दशकभन्दा बढे पनि समाज र राष्ट्रमा विकृति, कुसंगति, भ्रष्टाचार र प्रदूषण उत्तिकै व्याप्त भएका छन् । यो जनतामा अजागरुकताको बलियो संकेत हो । यहाँ भावनात्मक रूपमा समेत सक्षम हुनका लागि व्यवहारगत रुपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि सुरु हुन्छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ ।

चिकित्सा विज्ञानले समेत नियमित व्यायाम शरीरका लागि र नियमित ध्यान एकाग्रता र तनावमुक्त मस्तिष्कको महत्त्वपूर्ण हो भनी घोषणा गरिसकेको अवस्था छ । एउटा स्वस्थ शरीरमै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । कम्तीमा २० मिनेट भए पनि प्रत्येक दिन केवल आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । आफूलाई बुझ्न सकेको व्यक्ति खुस र प्रसन्नचित्त हुन्छन्, नत्र मान्छेकै भीडमा मान्छेले एक्लै महसुस गरेको पनि खुब सुनिन्छ ।

यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ । हामी मानवमा एउटा कुरा बडा अनौठो रहेछन्, हामी आफ्नो गुण बुझ्न सके–नसके पनि आ–आफ्ना खराब कुरा हामी सबैलाई स्पष्ट रूपमा थाहा हुन्छ । सकेसम्म सामाजिक सञ्जाल जस्तै : फेसबुक, ट्विटर, युट्युब, टिकटक आदि कम प्रयोग गरी आफ्नो वृत्तिविकासमा आफूलाई व्यस्त राखिराख्नु उपयुक्त हुन्छ ।

२. आफ्नो भावनालाई परिस्थितिअनुरूप ढाल्नु

आफ्नो भावलाई झेलिरहेको परिस्थितिअनुरूप ढाल्ने प्रयास गर्नुपर्छ । चाहे त्यो प्रेम होस् वा अपमान, रिस होस् वा खुसी र डर नै किन नहोस् । हामीलाई रिस उठ्ने मुख्य कारण नै परिणाम वा परिस्थिति हाम्रो इच्छाअनुसार नहुनु हो । हाम्रो मनको पूरा भए राम्रो र नभए झन् राम्रो किनकि जब हाम्रो मनको चलेन भने सिद्ध हो, ईश्वरको मनको चल्ने हो र ईश्वरको मनको हाम्रो मनको भन्दा जहिले पनि हाम्रो लागि फाइदाजनक नै हुन्छ । रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ । सही र गलत भाव भन्ने केही हुँदैन, यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ ।

भगवान् महादेवको शिशमा गंगा, तल तेस्रो नेत्रमा अग्नि, टाउकोमा चन्द्रमा जसलाई अमृत पनि मानिन्छ र ठीक तल घाँटीमा विष, आफ्नो सवारी गोरु र स्वास्नीको सवारी ह्रिसंक सिंह, गणेशको सवारी मुसो र अर्को छोरा कार्तिकेयको सवारी मयूर रहेछ । यहाँ बुझ्नुपर्ने के रहेछ भने आगो–पानी, विष–अमृत, सिंह–गोरु, मयूर–सर्प, सर्प–मुसो सब एकआपसका विपरीत प्रकृति बोकेका छन्, तर पनि सब शान्त, अनुशासित मिलेर बसेका रहेछन् । जीवन र भावमा अनुशासनको धेरै राम्रो उदाहरण हो यो । तसर्थ रिस, ईष्र्या, प्रेम, मोह आदि भाव आएको बेला त्यस भावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई काम लाग्ने दिशामा उपयोग गर्नुपर्छ ।

३. स्वउत्प्रेरणा (आफूलाई उत्प्रेरित गरिराख्नु)

जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ । कामको समय कुनै पनि नकारात्मक विचार, जसले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ उक्त विचारबाट टाढा बस्नुपर्छ । कुनै काम, परिस्थितिमा अट्किएको बेला छोड्ने बहाना नगरी अगाडि बढ्दै जानुपर्छ । हामी जसरी अगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । आजकाल बजारमा मोटिभेसनल वक्ताहरूको वा भनौं उत्प्रेरणा वक्तव्य दिनेहरूको व्यवसायीकरण धेरै भएको देखिन्छ । तर स्मरण रहोस्, कुनै पनि मोटिभेसनल स्पिकर तपाईंलाई तपाईंभन्दा बढी जानेको हुँदैन । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हो । हाम्रो लागि सर्वश्रेष्ठ मोटिभेसनल स्पिकर हामी स्वयं हुन सक्नुपर्छ ।

४. अरूको भाव पनि बुझ्न सक्नु

हाम्रो लागि देखिने अंग्रेजीको अंक ६ सामुन्ने उभिएकाका लागि ९ पनि त हुन सक्छ । यहाँ दुवै आ–आफ्नो ठाउँमा सही नै रहेछन् । यसप्रकार भावनात्मक रूपमा दक्ष वा योग्य व्यक्तिले अरूको भावना बुझ्ने प्रयास गरिरहेको हुन्छ । धेरै जानकारी भएको क्षेत्रमा कम बोल्नुपर्छ र कम जानकारी भएको क्षेत्रमा पनि कम नै बोल्नुपर्छ । हामी जति धेरै कम बोल्छौँ, गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ र जति कम गलत बौल्छौँ, उति कम समस्यामा फस्छौँ । धेरै सुन्ने बानी बसाल्नुपर्छ । यसले केही न केही सिकिन्छ नै । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्त्व दिइएको पाइन्छ ।

अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । वर्तमानमा हरेक व्यक्तिले चाहन्छन् कि उसलाई सबले सुनोस्, सम्मान देओस् तर अरूलाई सुन्ने र सम्मान दिने धैर्य र साहस थोरैमा हुन्छ । तसर्थ, अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । सहज भावले अरूलाई सम्मान दिनुुस्, तिनलाई राम्रो लाग्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्तत: परिवारकै लागि त हो नि !

आफ्नो भावनात्मक दक्षतालाई कार्यालयमा सहकर्मीसँग राम्रो व्यवहारगत सम्बन्ध स्थापित गर्न उपयोग गर्न सकिन्छ । जागिरमा आफ्नो कार्यदक्षता विकसित गर्न, परिवार र समाजमा आफूभन्दा कान्छोसँग मधुर र अग्रजसँग विश्वसनीय सम्बन्ध निर्माण गर्न सकिन्छ । शैक्षिक क्षेत्रमा शिक्षक, समाजमा व्यक्तिविशेषसँग, साथीभाइसँग राम्रो सुमधुर जनसम्पर्क बनाउन सकिन्छ । भावनात्मक बुद्धिमताले यस प्रकृतिमा विद्यमान हरेक मान्छे, जीवको उत्तिकै महत्त्व र महत्त्वपूर्ण भूमिका छ भनी सिकाउँछ ।

प्रतिक्रिया दिनुहोस्