उपभोक्ता समितिमार्फत गरिने निर्माणमा विकृति भित्रियो : आङ्बो «

उपभोक्ता समितिमार्फत गरिने निर्माणमा विकृति भित्रियो : आङ्बो

विराटनगर-प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उपभोक्ता समितिमार्फत गरिने निर्माणका काममा विकृति भित्रिएको बताएका छन् ।
उपभोक्ता समितिमार्फत गरिने निर्माणका कामसमेत गुणस्तरीय नहुने गरेको उनको दाबी थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको दुईदिने वार्षिक समीक्षा गोष्ठीमा मन्त्री आङ्बोले उपभोक्ता समितिमार्फत गरिने निर्माणको कामलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिए । “उपभोक्ता समितिमार्फत गरिने निर्माणलाई निरुत्साहित गर्नुपर्छ,” उनले भने, “उपभोक्ता समिति गठन गरेर निर्माण गर्ने भनिए पनि अधिकांश समितिले ठेकदारमार्फत निर्माण गराउने गरेको पाइएको छ । यस्तो विकृतिको अन्त्य गर्नैपर्छ ।”
उपभोक्ता समितिबाट भएका कतिपय काममा विवाद आउने गरेको पाइएको उनले बताए ।
मन्त्री आङ्बोले स्थानीय तहमा हुने कतिपय काममा राजनीतिक दलका नेता र कार्यकर्ता उपभोक्ता समितिको अध्यक्ष र सदस्य रहने गरेकाले मापदण्ड पूरा नभए पनि योजना पास गराउन स्थानीय तहका प्रमुख तथा इन्जिनियरलाई दबाब आउने गरेको दाबी गरे । “यतिसम्म कि उपभोक्ता समितिमा दलका नेता र कार्यकर्ता हुन्छन् । उनीहरूको दबाबमा परेर गुणस्तरहीन काम भए पनि स्थानीय तहका प्रमुख र इन्जिनियर योजना पास गर्न बाध्य हुन्छन्,” उनले थपे, “यस्ता विकृतिलाई अब जरैदेखि उखेलेर फ्याल्नुको विकल्प छैन ।”
मन्त्री आङ्बोले ठूला परियोजनाका लागि तयार गरिने डीपीआरमा समेत समस्या देखिएको बताए । इन्जिनियरहरूले डीपीआर तयार गर्दा थप उत्तरदायी हुनुपर्नेमा उनको जोड थियो । टेन्डरमार्फत निकालिने ठेक्कामा ठेकेदारले ६२ प्रतिशतसम्म बिलोमा टेन्डर सकार गरेको पाइएकाले टेन्डर जारी गर्नुअघि इन्जिनियर र प्राविधिकहरूको मिलेमतोमा डीपीआर तयार गरिने गरेको हो कि भन्ने प्रश्न उठेको उनको कथन थियो । “कुनै पनि ठेकेदारले शिलबन्दी ठेकामा ६० प्रतिशत बिलो हालेर कसरी ठेक्का कबुल गर्छन् ?” मन्त्री आङ्बोको प्रश्न थियो, “घाटा खाएर कसले टेन्डर स्वीकार गर्न सक्छ ? डीपीआर बनाउने क्रममा केही कमी कमजोरी भएको त छैन ।”
उनले विगतका कमीकमजोरीबाट पाठ सिकेर अबदेखि बजेट कार्यान्वयनका लागि समय तालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए । कामको सम्पादनले सरकारले कर्मचारीको मूल्यांकन गर्ने भएकाले सरकारको लक्ष्य पूरा गर्नेतर्फ लाग्न कर्मचारीलाई उनले आग्रह गरे । मन्त्री आङ्बोले भने, “समयमा बजेट खर्च गर्न नसकेकै कारण विगतमा विकासले गति लिन सकेन । अब सबै बजेट खर्च गरेर विकासका कामलाई तीव्रता दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्