निकासीमा अलैंचीले देखाएको सम्भावना «
Logo

निकासीमा अलैंचीले देखाएको सम्भावना

नेपालमै उत्पादित वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात यस वर्ष दोब्बर भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको हो । यस आर्थिक वर्ष ०७९/८० मा समग्र निर्यात व्यापार निराशाजनक रहे पनि कृषिजन्य वस्तुको निकासी भने उत्साहजनक मान्नुपर्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आव ०७९/८० को ११ महिना जेठ मसान्तसम्म मुख्य कृषिजन्य वस्तुको निकासी बढेको छ । यसबाट उत्साहित हुनुपर्ने अवस्था छ । मूल्यका हिसाबले अलैंची निकासी सबैभन्दा बढी छ । जेठसम्म नेपालले ७ अर्ब ७० करोड २१ लाखबराबरको अलैंची निकासी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६९ प्रतिशत बढी हो ।

तथ्यांक आफैं बोल्छ
यससँगै कुल निकासीमा अलैंचीको हिस्सा ५.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा ४ अर्ब ५५ करोड ६६ लाखको अलैंची निकासी भएको थियो । अघिल्लो वर्षभन्दा ४३ लाख ३५ हजार ९ सय ७६ किलो बढी अलैंची निकासी भएको तथ्यांक छ । अघिल्लो जेठसम्म ५० लाख ५० हजार ५ सय ९३ किलो अलैंची निकासी भएकोमा यस वर्ष भने ९३ लाख ८६ हजार ५ सय ६९ किलो निकासी भएको छ ।

उपलब्ध तथ्यांक हेर्दा नेपालमा करिब १५ हजार ४ सय हेक्टर जमिनमा यसको खेती हुने गरेको छ । मुलुकमा वार्षिक ५ हजार टन अलैंची उत्पादन हुन्छ । केही वर्षदेखि नेपालमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको देखिन्छ । वैशाखमा प्रतिमन कम मूल्यमा खरिद–बिक्री भएको अलैंची अहिले केही बढेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको छ ।

विगत फर्केर हेर्दा
विगतमा अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर, यस वर्ष त्यो अवस्था छैन । मुस्लिम देशहरू विशेष गरी पाकिस्तानबाट अलैंचीको माग उच्च रहेको देखिन्छ । कोभिडका केही वर्ष मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन् । यो वर्ष ती देशमा कोभिडको संकट छैन । त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको माग बढेर गएको हो ।

खडेरीका कारण औल भेगका अलैंचीमा डढुवा रोगले क्षति पुर्याउने गर्छ । डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने अनुमान गरिएको छ । यस कारण पनि यो वर्ष अचानक अलैंचीको भाउ बढेको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपालमा मात्र नभई भारतमा पनि डढुवा रोगले अलैंचीमा क्षति पुर्याउन सक्छ । एकपटक अलैंचीको बिरुवा मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउँछ । नेपाली अलैंचीको प्रमुख बजार भारत रहेको छ । अलैंची भारतको अमृतसार, दिल्ली र कानपुरमा बढी व्यापार हुने गरेको छ । कोरोनाको दोस्रो लहरले दिल्लीसहित भारतमा संक्रमण दर उच्च हुँदा चैत–वैशाखमा एक महिना नेपाली अलैंचीको भारत निर्यात ठप्प भएको थियो । निर्यात खुलेलगत्तै अलैंचीको माग र मूल्य वृद्धि भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्यवृद्धि भएको तर त्यसको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएको गुनासो सुनिन्थ्यो । सर्सरी समीक्षा गर्दा पछिल्लो चार/पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिदबिक्री गरिसकेकाले हालको मूल्यवृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् सक्ने बलियो आधार रहेको छ ।

हाल ताप्लेजुङमा ४ हजार २ सय ५८ हेक्टरबराबरमा अलैंची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यस वर्ष मात्र २ हजार ९ सय ६० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र, पाँचथरको तथ्यांकअनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैंची उत्पादन वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा माग
अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन । भारतमा अलैंचीको फसल मरेकाले नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको हो । नेपालको कृषि प्रणालीले पछिल्ला वर्षहरूमा एक स्पष्ट परिवर्तन आएको छ । यस परिवर्तनका लागि महत्वपूर्ण प्रेरणादायक कारक उपभोक्ताका केही उत्पादनका लागि बजार भएको छ ।

उत्पादित कृषिजन्य वस्तुको फसलको बजार र खेती प्रणालीको छनोट सहरी क्षेत्रहरूमा र बाहिर देशका उपभोक्ताका उत्पादनको मागद्वारा निर्धारित भएको देखिन्छ । राम्रो यातायात सुविधाका साथ सहरका बासिन्दाको आम्दानीस्तरमा भएको वृद्धिले उत्पादकहरूलाई असंख्य अवसर प्रदान गरेको छ । फलस्वरूप, निर्वाहमुखी रूपमा सञ्चालित साना फार्महरू अहिले बजारको माग र आपूर्ति संयन्त्रका साथ व्यावसायिक संस्थाको रूपमा रूपान्तरण हुँदै छन् ।

विगतमा के विश्वास गरिन्थ्यो भने दुर्गम क्षेत्रमा कृषि विकासमा ठूलो धनराशिको लगानी न्यायसंगत र लगानीका लागि प्रतिफलयुक्त हुँदैन, तर यो तार्किक धारणा अब उल्लेखनीय रूपमा परिवर्तन भएको छ । विगत चार दशकको अवधिमा कृषिक्षेत्रमा गरिएका प्रयासहरूले दुर्गम क्षेत्रमा पनि आशाजनक परिणाम दिन थालेको छ । किसानहरूले घरेलु वा अन्तर्राष्ट्रिय बजारका लागि धेरै उच्च मूल्यको नगदे बाली उत्पादन गरिरहेका छन् ।

विगतमा अलैंची
विगतको कुरा स्मरण गर्ने हो भने अलैंची सिक्किममा अनादि कालदेखि नै खेती गर्दै आएको देखिन्छ । यो सिक्किमको मुख्य बाली हो र यहाँबाट यो छिमेकी मुलुक र क्षेत्रहरूमा फैलिँदै गयो । जस्तो कि, दार्जीलिङ, उत्तर–पूर्वी भारत, भुटान र नेपालको भूमिमा समेत फैलिएको देखिन्छ ।

प्राविधिक पक्ष
नेपालजस्ता विकासशील देशहरूमा नगदे बाली उत्पादन सम्भावना र प्रवद्र्धन प्रायः पर्याप्त पुँजीको उपलब्धता, कृषि प्रविधिको स्तर, बजारीकरणको सुविधा र सरकारी तथा गैरसरकारी संस्था (एनजिओ) हरूद्वारा नगद बालीसम्बन्धी कारोबार गर्ने व्यवसाय तथा उनीहरूको संलग्नता र सक्रिय सहभागिताको माध्यमबाट गरिन्छ ।

नगदे बाली
राष्ट्रिय विकास योजना र कार्यक्रमहरूमा परिकल्पना गरिएको लक्ष्यलाई कार्यान्वयन गर्न सबै विकासोन्मुख देशहरूले विदेशी विनिमय कमाउन नगदे बालीको निर्यात बढाउनु आवश्यक छ । यो स्पष्ट छ कि नेपाली नगदे बालीनाली उद्यमीहरू ठूलो संख्यामा विदेशी बजारहरू निर्यात गर्न असमर्थ छन्, किनकि उत्पादनको उच्च लागत, अपर्याप्त भण्डारण सुविधा, ट्यारिफ अवरोध, यातायात अवरोध र वास्तविक उत्पादनदेखि निकासी बजारसम्मको ज्ञानको अभावका कारण पनि केही नकारात्मक असर परेको छ ।

कृषिजन्य वस्तु नेपालबाट कुल निकासीको एक प्रमुख हिस्सा हो । नेपाली निर्यातजन्य प्रमुख कृषि वस्तुहरू अदुवा, तेलका बीउ जस्तै सूर्यमुखी फूल, नाइजरको दाना, सुर्तीजन्य, तरकारीको बीउ, अर्थोडक्स चिया, अलैंची, मसला, फलफूल र तरकारीहरू आदि । जनसंख्या र खाद्यान्नका लागि आन्तरिक माग दुवैतर्फ वृद्धि भइरहेको छ, उपलब्ध अधिक कृषिजन्य वस्तु निर्यातका लागि उपलब्ध घट्दै छन्, किनकि उत्पादन जनसंख्या वृद्धिको तुलनामा बढ्न सकेको छैन ।

अलैंचीको निर्यात
इलामलगायत संखुवासभा जिल्लाभित्र र बाहिर ठूलो अलैंचीको मार्केटिङ गरिन्छ । साना उत्पादकहरू सामान्यतया थोक विक्रेता र साहू विक्रेताद्वारा भर्ती संकलकहरूको सट्टा आफ्नो उत्पादन स्थानीय संकलनकर्ताहरूलाई बेच्छन् । यी व्यक्ति सामान्यतया स्थानीय निवासी हुने गरेको र जो अन्य व्यवसायमा संलग्न छन् तर मौसमको बीचमा अलैंचीको कारोबारमा पनि संलग्न हुने गर्छन् ।

अलैंचीको निर्यात भारतमा हुन्छ र त्यसपछि अन्य देशहरूमा गरिन्छ । यसैले मूल्य सम्बन्धितद्वारा दोहन गर्ने भारी सम्भावना र अवसरहरू छन् । ठूलो अलैंचीले नेपालको विदेश निर्यात व्यापारमा महत्वपूर्ण स्थान ओगटेको छ ।

उत्पादन क्षेत्र
नेपालको पूर्वी क्षेत्र अलैंची उत्पादन गर्ने प्रमुख क्षेत्र हो । संखुवासभा, इलाम, पाँचथर, धनकुटा र भोजपुर अलैंची उत्पादनका लागि प्रमुख जिल्लाहरू हुन् । इलामले यी क्षेत्रमा उत्पादन हुने कुल बालीको महत्वपूर्ण हिस्सा ओगटेको छ । यद्यपि, पछिल्लो वर्षमा केही रोगका कारण तीव्र गिरावट आएको छ ।

अलैंचीको उत्पादन बर्सेनि बढ्दै गएको छ र यसले निर्यात पनि बढाउनेछ । भारत अलैंचीको प्रमुख उत्पादक र निर्यातकर्ता हो, त्यसपछि ग्वाटेमाला, श्रीलंका र तान्जानिया पर्छन् । नेपाल र पपुआन्युगिनीबाट अलिकता अलैंची विश्व बजारमा देखा पर्न थालेको छ । अलैंचीको प्रमुख आपूर्तिकर्ता नेपाल, भारत, भुटान र इन्डोनेसियाले पनि जंगली ठूलो अलैंचीको आपूर्ति गर्छ, जुन नेपाली अलैंचीजस्तै देखिन्छ ।

ठूलो बजार
हाल नेपालको सबै अलैंची भारत जान्छ, जहाँबाट यो अन्य देशहरूमा पुन निर्यात गरिन्छ । नेपाली अलैंची आयात गर्ने देशहरू बंगलादेश, पाकिस्तान, कतार र साउदी अरेबिया हुन् भन्नुमा अत्युक्ति नहोला । अलैंचीको आयातमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रित छ । केही देशहरू जस्तै— साउदी अरेबिया, कुवेत, बहराइन र मध्यपूर्वका अन्य खाडी राज्यहरू र युरोपका नार्डिक देशहरूमा निर्यातको सम्भावना छ ।

साउदी अरेबिया विश्वको सबैभन्दा ठूलो अलैंची आयातकर्ता हो । ठूलो अलैंचीका लागि प्रमुख बजार सिंगापुर हो । तर, सिंगापुर वास्तविक उपभोक्ता बजार होइन, केवल एक इन्टरपोर्ट हो । इस्लामी राष्ट्रहरू ठूलो अलैंचीको प्रमुख उपभोक्ता बजार हुन्, जसमध्ये पाकिस्तान ठूलो उपभोक्ता हो र सिंगापुर पाकिस्तानलाई ठूलो अलैंचीको प्रमुख आपूर्तिकर्ता हो ।
रुस र पश्चिम जर्मनी हालका वर्षहरूमा अलैंचीको महत्वपूर्ण आयातकर्ताको रूपमा देखा परेका छन् । संयुक्त राज्य अमेरिका र पश्चिम जर्मनी ठूलो अलैंचीको लागि सम्भावित बजार हुन सक्छन् । ठूलो अलैंचीका लागि अन्य अवस्थित र सम्भावित बजारहरू हुन्, युरोपियन युनियन ।

विश्व बजार
विश्वको सटीक तथ्यांक विशेष गरी अलैंचीको आयात प्राप्त गर्न धेरै गाह्रो हुन्छ, किनकि आधिकारिक व्यापार तथ्यांकले प्रायः अलैंचीलाई अन्य असम्बद्ध मूल्यहरू जस्तै जाइफलसँग वर्गीकृत गर्छ । यद्यपि यो अनुमान गरिएको छ कि यस मसलाको औसत विश्व आयात प्रतिवर्ष बढिरहेको छ ।

नेपाली अलैंचीको बजार धेरै सीमित छ । यद्यपि ट्रेड एन्ड एक्सपोर्ट प्रोमोसन सेन्टरले विगत केही वर्षहरूमा केही विविधीकरण गरेको भए पनि यस उत्पादनको प्रमुख खण्ड भारतमा नै निकासी भइजान्छ ।यस पृष्ठभूमिमा, एक विशेष तत्काल आवश्यकता यो मसलाको आन्तरिक बजार मूल्य नियन्त्रणका लागि हो । यो पनि सुझाव छ कि त्यहाँ एक सरकारी संस्था हुनुपर्छ, उत्पादनदेखि अलैंचीको बजार हेर्नका लागि । नेपाली अलैंचीको सीमित बजार भएकाले नेपालले अन्य सम्भावित अन्तर्राष्ट्रिय बजारहरू पनि खोजी गर्नुपर्छ ।

यसका साथै कतार, साउदी अरेबिया, कुवेत र अन्य खाडी मुलुकहरूमा नियमित आधारमा परिवर्तन हुने उपभोक्ता व्यवहारहरूको अध्ययन गर्नु आवश्यक छ । नार्डिक बजारमा अलैंचीको स्वादको सम्भावनाको अन्वेषण गरिनुपर्छ । समग्रमा, यस वर्ष निकासी उत्साहजनक रहे पनि यसलाई दिगो बनाउन धेरै पहल गर्नुपर्ने कुरा निर्विवाद छ । यस वर्ष सबैजसो कृषिजन्य उत्पादनको निकासी वृद्धि भएको तथ्यांक छ । निकासीका क्षेत्रमा राहत महसुस भए पनि बिनालगानी निकासी बढाउन नसकिने कुरा निर्विवाद छ । अलैंची उत्पादन बढाउन रोग–कीरा नियन्त्रण र सिँचाइमा ध्यान दिन सकिएको छैन । निकासी बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्