Logo

बैंकले धितोमा ऋणिलाई दुःख दिएका छन्: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले मुलुकको वर्तमान आर्थिक सूचकहरुले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताए । उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायीत्व र आर्थिक वृद्धि उन्मुख गराउने भएको बताए ।

उनले वर्तमान आर्थिक सूचकहरु अनुरुपमा चाँडै आउँदो वर्षको शुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने बताए । उनले खुकुलो मौद्रिक नीति आउँदा बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मद्दत पुग्ने बताए । उनले बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट गर्नसक्ने बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरु समाधान गर्नुपर्ने बताए । उनले बैंकहरुले ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह गर्ने तर मध्यम र साना लगानीकर्तामा पुँजीप्रवाह नगर्ने प्रवृति रोक्नुपर्ने बताए ।

उनले नेपालमा बैंकर्स र उद्योगीहरु एउटै हुनु समान्य भएको भन्दै विश्वका अन्य मुलुकमा त्यस्तो नभएको बताए । उनले उद्योगी व्यवसायीहरुसँगै अलिअलि पुँजी भएकाले पुँजी अनुसार बैंकमा सञ्चालन भएको बताए । उनले उद्योगीहरु नै बैंकर्स भएकाले बैंकको पुँजी प्रवाह त्यँही भित्र मात्रै हुने परिस्थिति रहेको बताए । उनले बैंकहरुले आगामी दिनमा ठूला लगानीकर्ता मात्रै नभएर मध्यम, साना लगानीकर्ता र उत्पादनशिल क्षेत्र पुँजीप्रवाह गर्नुपर्ने बताए । उनले बैंकिङ क्षेत्रले धेरै उत्पादनशिल क्षेत्रमा लगानी भएन अनउत्पादक क्षेत्रमा बढी लगानी गरे भन्ने गुनासो रहेको बताए ।

उनले बैंकर र व्यवसायी एकै व्यक्ति भइदिँदा समस्या आएको बताए । उनले केही बैंकहरुले धितोमा ऋणिलाई दुःख दिएको सूचना आफूलाई आएको बताए । उनले केही बैंकले धेरै धितो राखेर थोरै ऋण दिने र पछि सबै धितो सस्तो मूल्यमा लिलामी गरेर कब्जा गर्न थालेको सूचना पाएको भन्दै बैंकहरुलाई सचेत हुन आग्रह गरे । उनले मिलेमतोमा ब्याजदर तोक्ने परिपाटी गलत भएको पनि बताए । उनले बैंकहरुले मिलेर ब्याजदर तोक्दा नागरिकले छनोटको सुबिधा नपाएको बताए ।

उनले सबैले मिलेर ब्याजदर यति राख्ने भन्ने कुरा ठीक नभएको भन्दै प्रतिस्पर्धा सुनिश्चित गर्न आग्रह गरे । उनले निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनः स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको बताए । उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्