किन नखोल्ने माछापुच्छ्रे ? «

किन नखोल्ने माछापुच्छ्रे ?

हाम्रो देशमा लगभग १७ सय हिमाल (हिमरेखाभन्दा माथि) रहेको अनुमान छ । तीमध्ये ४ सय १४ वटा हिमाल आधिकारिक रूपमा पर्वतारोहणका लागि खुला गरेको छ, सरकारले । बाँकी रहेका नेपालका धेरै हिमालको पहिचान खुलिसकेको छैन भने केही हिमाल आरोहण गर्न नपाइने गरी निषेध गरिएको छ । पर्वतारोहीका लागि निषेध गरिएका त्यस्ता केही हिमालमध्ये एक हो-माछापुच्छ्रे । माछापुच्छ्रे हिमालको उचाइ ६ हजार ६ सय ९३ मिटर छ ।

पछिल्लो प्रशासनिक विभाजनअनुसार माछापुच्छ्रे हिमाल गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । पर्वतारोहणको इतिहास हेर्दा माछापुच्छ्रे हिमाल सुरुमै आरोहण गर्न नपाउने भनी नेपाल सरकारले निषेध वा प्रतिबन्ध लगाएको ‘हिउँचुली’ होइन । नेपालमा रहेका हिमाल आरोहणको इतिहास हेर्दा के देखिन्छ भने माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रथम पटक सन् १९५६ मा बाटो खोज्ने र रेकी गर्ने काम एक बेलायती पर्वतारोही टोलीले गरेको थियो । (स्रोत: डा. हर्क गुरुङद्वारा लिखित ‘विषय विविध’ नामक पुस्तक ।)

सो टोलीले माछापुच्छ्रे हिमाल आरोहणका लागि बाटो खोज्दै जाने क्रममा ऊ बेलाको समयमा पञ्चेनीवराह नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने अर्थात् बन्देज रहेको कुरा थाहा भयो । त्यसै कारण सोभन्दा माथिको ठाउँलाई ‘अन्नपूर्ण सेन्चुरी’ नामकरण गरे, बेलायती पर्वतारोही टोलीले । डा. हर्क गुरुङका अनुसार सोही बेलायती टोली सन् १९५७ मा चाहिँ माछापुच्छ्रे हिमाल आरोहण गर्ने तयारीका साथ नेपाल आयो र सो टोलीले माछापुच्छ्रे आरोहणमा सफलता पाउनका लागि सक्दो प्रयास गर्‍यो ।

तर, सो टोली माछापुच्छ्रे हिमालभन्दा ४५ मिटरमुनि पुग्दा अकस्मात् भारी हिमपात भएका कारण आरोहण अभियान त्यागेर फर्किन बाध्य भयो । यसरी बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमाल आरोहण गर्न असफल भयो । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडाैंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । त्यसैले आफूले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही तथा कवि विल्फ्रिड नोयशको पुस्तक ‘क्लाइम्बिङ दि फिसेज टेल’ (सन् १९५८) बाट प्रस्ट हुन्छ ।

आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्‍यो भनी डाक्टर हर्क गुरुङले थप लेखेका छन् । हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामकरण भएका हिमचुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजकमा डा. हर्क गुरुङ स्वयम् रहेका थिए । त्यसैले गुरुङले पुस्तकमा थप लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीको नेपाली नामकरण गर्ने समितिको संयोजकका रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’

त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरै पछि सन् २००१ मा राससले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीले माछापुच्छ्रे हिमाल सुन्दर, पवित्र भएकाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको धारणा बुझ्नुपर्छ भनेको उल्लेख छ । हुन त कुनै हिमाल वा स्थान पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? अझ त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हुन्छ ।

के भनिन्छ भने कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोही चढे भन्नेमा रहेको हुन्छ । हुन त पछिल्लो पटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिइसकेको माछापुच्छ्रे गाउँपालिका स्रोतले जनाएको छ ।

खासमा नेपाली समाज, त्यसमा पनि ऊ बेला (लगभग ७० वर्षअघि) को समाज धेरै नै फरक थियो, यसमा विवाद गर्ने कुरो पनि भएन । तर, आजको समाज र युवा पुस्ता धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । त्यसैले आजको २१ औं शताब्दीमा पनि माछापुच्छ्रे हिमाललाई प्रतिबन्धित नै राख्नु ठीक हुँदैन कि ? तथापि पोखरेलीहरूसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखिराख्नु ठीक होला कि अथवा आरोहणका लागि खुला गर्नु ठीक होला भनी छलफल गर्दा राम्रो हुन्छ, फरक पर्दैन । किनकि अबका दिनमा विरलै पोखरेलीहरूले माछापुच्छ्रे हिमाल पवित्र छ, यसलाई अझै निषेधित नै राखौं भन्लान् ।

त्यसैले केन्द्रीय सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहणप्रेमीहरूका लागि खुला गरोस् । वास्तवमा माछापुच्छ्रे हिमालले नै गण्डकी प्रदेशको विकासको ढोका खोल्न सक्ने सम्भावना देखिन्छ । साथै, माछापुच्छ्रे हिमालले गण्डकी प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रूपमा भरथेग गर्न सक्ने देखिन्छ । गण्डकी प्रदेशको आर्थिक विकासका साथै सामाजिक विकासको पनि ढोका खोल्न सक्ने देखिन्छ । हुन पनि माछापुच्छ्रे हिमाल अन्य हिमाल हेरी भौगोलिक दूरीका हिसाबले पनि धेरै नजिक छ । केही सुगम स्थानमा पनि रहेको छ ।

त्यसको मतलब हो, माछापुच्छ्रे हिमाल आरोहण गर्न चाहने स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई खर्चबर्च जोहो गर्न पनि भगौलिक दूरीका हिसाबले टाढा र आरोहण गर्न कठिन रहेका हिमालमा जस्तो गाह्रो छैन । त्यस्तै माछापुच्छ्रे हिमाल धेरै नै आकर्षक र सुन्दर पनि छ । उचाइका हिसाबले पनि ठिक्कको छ । यातायातको दृष्टिले त धेरै नै सुगम छ । त्यस्तै, अन्नपूर्ण संरक्षण आयोजनाले विगत लामो समयदेखि जैविक विविधताको संरक्षण गर्दै आएको छ भने वनजंगल, वातावरण, जंगली पशुपन्छी, स्थानीय आदिवासी र अन्य जातजातिको भाषा, वेशभूषा, संस्कार, संस्कृति, रहनसहन आदिको पनि संरक्षण र संवद्र्धन गर्दै आएको छ, बाटोघाटो बनाएको छ ।

त्यसैले माछापुच्छ्रे हिमाल आरोहणका लागि खुल्ला गर्नेबित्तिकै सबैथोक नाश भइहाल्छ भन्ने वातावरणविदहरूले पनि खासै चिन्ता लिइरहनु पर्दैन । बरु माछापुच्छ्रे हिमाल आरोहण गर्न खुला गरेमा थप रोजगारी र स्थानीय बासिन्दाहरूको आयआर्जनको बाटो खुला हुनेछ, जसले गर्दा गण्डकी प्रदेशका साथै समग्र देशकै अर्थतन्त्र चलायमान हुनेछ । किनभने माछापुच्छ्रे हिमाल गण्डकी प्रदेशको विकासको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्