Logo

चरंगेखोलामा पक्की पुल निर्माण

दोलखाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिका जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने चरंगेखोलामा पक्की पुल निर्माण भएको छ । यो पुल निर्माण भएसँगै पर्यटकीयस्थल शैलुङसँग जिल्ला सदरमुकाम चरिकोटको दूरीसमेत घटेको छ ।
डिभिजन सडक कार्यालय चरिकोटले ३ वर्षअघि ठेक्का लगाएको उक्त पुल निर्माण सम्पन्न भएपछि शैलुङ चरिकोट यात्रा सहज भएको हो । भीमेश्वर नगरपालिका–७ स्थित उखुबारीबाट शैलुङ गाउँपालिका–४ को मागापौवा जोड्ने प्रिस्टेट प्रविधिको आरसीसी पुल निर्माण भएसँगै शैलुङवासीलाई सदरमुकाम आवतजावतमा निकै सहज भएको स्थानीयले बताएका छन् ।
पुल सञ्चालनमा आएसँगै शैलुङ गाउँपालिकाको मागापौवा, फस्कु, काटाकुटी, ताम्चेत दूधपोखरी, भुषाफेदालगायतका ठाउँबाट सिन्धुपाल्चोकको मुडे हुँदै सदरमुकाम आउने दिनको अन्त्य भएको छ । त्यस ठाउँका स्थानीय अब दूधपोखरी हुँदै शैलुङ गाउँपालिकाको केन्द्र काटाकुटी निस्केर चरंगेखोला बालुवा पुलबाट चरिकोट छोटो समयमा आइपुग्ने शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।
डिभिजन सडक कार्यालय चरिकोटले ३ वर्षअघि उक्त पुल निर्माणको जिम्मा तामाकोसी-कामाख्य-मैयाँ जेभी लाई दिएको थियो । प्रिस्टेट प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न गरी हस्तान्तरणका लागि आवेदन दिइसकेको निर्माण व्यवसायी शान्तबहादुर उप्रतीले जानकारी दिए । उप्रेतीले कार्यालयले तोकेको मापदण्डअनुसार नै पुल निर्माण सम्पन्न गरी हस्तान्तरको प्रक्रियामा गएको जानकारी दिए ।
पर्यटकीय स्थल शैलुङ र जिल्ला सदरमुकाम चरिकोट जोड्ने उक्त पुलको लागत करसहित ४ करोड ५० लाख रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडक डिभिजन चरिकोटका प्रमुख इन्जिनियर धर्मेन्द्रकुमार झाले पुल निर्माण भएसँगै जिल्लाको दक्षिणी क्षेत्र आवतजावतमा निकै सहज हुने विस्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्