खानेपानी आयोजना अलपत्र

जुम्ला-बृहत् धौलीघाट खानेपानी आयोजना निर्माणकार्य सुरु भएको ८ वर्ष बिते पनि निर्माण सम्पन्न भएको छैन । २०६६ मा निर्माण सुरु भएको योजना पूरा नहुँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् ।
आयोजनाको सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेको छैन । मुहानमा ८ लाख लागतमा इन्टेक र ५ लाखको पानी मुहान संकलन च्याम्बर निर्माण गरिएको धौलीघाट बहुउद्देश्यीय खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राजबहादुर खत्रीले बताए । उनले भने, “७ लाख लागतमा पर्खाल निर्माण भएको हो । आयोजना स्थलसम्म सडक सञ्जाल नपुग्दा सामग्री ढुवानीमा समेत समस्या भएको छ ।” निर्माण सामग्री मजदुरमार्फत बोकेर ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको हो । अध्यक्ष खत्रीले थपे, हरेक वर्ष स्टिमेट परिवर्तन हुने भएकाले पनि कामले गति लिन नसकेको उनले स्वीकारे । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जुम्लाले ०६६-६७ देखि धौलीगाड खानेपानी योजनाको वार्षिक कार्यक्रममा १० करोड ५१ लाख रुपैयाँ लागत उल्लेख भएको देखिए पनि १ करोड ६८ लाख रुपैयाँ खर्च भएको थियो ।
लाखौँ बजेट फ्रिज
हरेक वर्ष उक्त आयोजनाका लागि बजेट आए पनि खर्च नभएर फ्रिज जाने गरेको छ । सरोकारवाला तथा उपभोक्ता समितिले चासो नदिँदा बर्सेनि आउने लाखौं रुपैयाँ फ्रिज जाने गरेको छ । आव ०७१-७२ मा १ करोड रुपैयाँ विनियोजन भएकोमा ७३ लाख ६७ हजार खर्च भएको र २३ लाख ३३ हजार फ्रिज गयो । त्यस्तै आव ०७२-७३ मा १ करोड ६० लाख आएकोमा ७९ लाख ४६ हजार खर्च भएको र ८० लाख बजेट फ्रिज गएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाले जनाएको छ । आयोजनाका लागि १ हजार ३ सय मिटर जीआई पाइप प्राप्त भए पनि प्रयोग नगर्दा खानेपानी कार्यालयको खुल्ला चौरमा खिया लागेर थन्किएको छ । बर्सेनि आउने बजेटलाई सदुपयोग गर्न नसकी फ्रिज भएपछि उपभोक्ता समितिले विभिन्न कारण देखाएर काम पछि धकेलेको जुम्लीबासीको आरोप छ । ६१ करोडमा आयोजनाको पुनः स्टिमेट भएको र १२ करोडमा ८ किमिको सडक ट्रयाक खोलेर आयोजनाका सामग्री ढुवानी गरी आयोजना सुरु गर्ने तयारी भइरहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, जुम्लाका प्रमुख टंक सोडारीले बताए । उनले भने त्यही आयोजनाको छलफलका लागि विभागमा आएको छु ।
चार उपआयोजना सम्पन्न
बृहत् धौलीघाट खानेपानी आयोजनाअन्तर्गत चन्दननाथ नगरपालिकाभित्र भण्डारीगाउँको उपआयोजना सम्पन्न भएको छ । ढाँणथपला–१ र ढाँणथपला– २ र कोटिलागाउँ खानेपानी तथा सरसफाइ उपआयोजनाको केही काममात्र बाँकी रहेको कार्यालय प्रमुख सेडारीले बताए ।
५० लाखको लागतमा निर्माण भएको भण्डारीगाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर क्षमताको ट्यांकी निर्माणसहित आयोजना सम्पन्न भएको उनले बताए । ‘एक घर, एक धारा’ निर्माणबाट भण्डारीगाउँका २ सय घरधुरी लाभान्वित भएका छन् । निर्माणाधीन ढाँणथपलाका दुईवटा उपआयोजनाको पाइपलाइन निर्माणका लागि ७८ लाख लगानीमा एक लाख लिटर पानी क्षमताका लागि एक सय घनमिटरको ट्यांकी भएको र केही पाइपलाइनको काम हुदैँ गरेको प्रमुख सोडारीले बताए ।
४४ हजार उपभोक्ता लाभान्वित हुने
बृहत् धौलीघाट खानेपानी आयोजनाबाट तातोपानी र गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका ४३ हजार ५५५ जना उपभोक्ता लाभान्वित हुनेछन् । बृहत् खानेपानी आयोजना सम्पन्न भएको र तत्कालीन चन्दननाथ नगरपालिकामा सञ्चालन रहेको खलंगा खानेपानी आयोजनामा पानी मुहान घट्दै गएपछि उपभोक्तालाई समस्या भइरहेको छ ।
खानेपानी नपुगेपछि कारागारका कैदीबन्दीले तिलानदीको दूषित पानी खाने गरेका छन् । कारागारमा खानेपानी व्यवस्थापनका लागि पानी नयाँ मुहानको स्रोत खोजी भइरहेको र तत्कालीन कार्तिकस्वामी गाउँमा रहेको पिपलगाउँको वनमा रहेको मुहानबाट पानी ल्याउने विषयमा छलफल भइरहेको जिल्ला कारागार शाखाले जनाएको छ ।
खानेपानी कार्यालय जुम्लाको खुल्ला चौरमा राखिएका पाइप ।
सागर परियार