Logo

सगरमाथा आरोहण र मृत्यु

फाइल तस्बिर ।

हालसम्म विश्वकै अग्लो हिमाल सगरमाथा आरोहणका क्रममा कति मानिसले ज्यान गुमाए होलान् अथवा कसैले पनि ज्यान गुमाएका छैनन् कि ? सो सम्बन्धमा सबैलाई थाहा नभएको हुन सक्छ । त्यसैले यो पटक सगरमाथा आरोहणका क्रममा हालसम्म ज्यान गुमाएका मानिसहरूका बारेमा केही लेख्दै छु ।

सगरमाथा आरोहणका क्रममा सर्वप्रथम सन् १९२२ मा एकै पटक सात जना नेपाली (शेर्पा) ले सगरमाथा आरोहणको बाटो बनाउने र सामान ओसार्ने क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थिए । त्यस्तै दोस्रो पटक सन् १९२४ मा चार जना (दुई नेपाली र दुई विदेशी) ले सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाएका थिए । त्यसमा नेपालीहरू मानबहादुर थापामगर र शमशेर पुनमगर थिए भने दुई जना विदेशी (बेलायती) हरूमा एन्ड्र्यु इर्भिन र जर्ज म्यालोरी थिए ।

स्मरणीय छ, यी दुईमध्ये जर्ज म्यालोरीले उतिबेलै पो सगरमाथाको शिखर चुम्न सफल भएका थिए कि भनी सन् १९९९ मा एक बेलायती टोली आएर अध्ययन गरेको थियो । सो अध्ययन टोलीले सगरमाथा शिखरभन्दा २ हजार फिट तल जर्ज म्यालोरीको लासको हाडखोर भेटेका थिए । तर, सो टोलीका सदस्यहरूले जर्ज म्यालोरीले सगरमाथा चढे/नचढेको के हो ? भनी निचोड निकाल्न भने सकेनन् । जे होस्, त्यसपछि सन् १९३१ मा तेस्रो पटक सगरमाथा आरोहण गर्ने प्रयास भयो ।

सो क्रममा पनि नेपालका दोर्जेमिङ्मा शेर्पाको मृत्यु भएको थियो भने सन् १९३४ मा भएको सगरमाथा आरोहणको चौथो प्रयासमा बेलायती पर्वतारोही मौरिस विल्सनको मृत्यु भएको थियो । यसरी इतिहास हेर्दा त्यतिबेलासम्म भएको सगरमाथा आरोहणको कुनै पनि प्रयास सफल हुन सकेन । सगरमाथा आरोहण र सो क्रममा ज्यान गुमाएका मानिसहरूको कुरो गर्नुभन्दा पहिले सगमाथाको उचाइका सम्बन्धमा केही लेख्नैपर्ने जस्तो लाग्छ । किनभने जहिले पनि सगरमाथाको आधिकारिक उचाइका बारेमा विवाद हुने गरेको थियो ।

खास गरी पश्चिमा देशका भूगोलविद् तथा हिमालसम्बन्धी अध्येता एवम् विज्ञहरूले सगरमाथाको उचाइ बढेको जस्ता भनाइ राख्ने गरेका थिए । संयोगवश वि.सं. २०७२ मा नेपालमा भूकम्प गयो । सो भूकम्पपछि चाहिँ नेपालकै भूगोलविद् र भूगर्भशास्त्रीहरूले समेत सगरमाथाको उचाइ बढेको हुन सक्ने भनी कुरो उठाउन थालेपछि नेपाल सरकारले पनि तदारुकताका साथ सगरमाथाको उचाइ घटेको वा बढेको के हो ? सत्यतथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरूको टोली गठन गर्‍यो ।

सो अध्ययन टोलीले आफ्नो प्रतिवेदनमा सगरमाथाको उचाइ पहिलको भन्दा बढेको भनी नेपाल सरकारलाई आफ्नो अध्ययन प्रतिवेदन बुझायो । सो प्रतिवेदनलाई वि.सं. २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रूपमा नेपाल र चीन सरकारले मान्यता दियो । स्मरणीय छ, सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर छ, तापनि आधिकारिक रूपमा लेख्दाचाहिँ ८ हजार ८ सय ४९ मिटर लेख्ने गरिन्छ ।

यसरी सगरमाथा आरोहणको इतिहासमा ज्यान गुमाएका मानिसको संख्या हेर्दा सन् १९२२ देखि २०२३ को वसन्त ऋतुसम्म आइपुग्दा विश्वका विभिन्न देशका २ सय २३ जना पर्वतारोहीले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन गुमाएका छन् । त्यसरी आफ्नो अमूल्य जीवन गुमाउनेहरूमध्ये पनि एकल देशीय हिसाबले हेर्दाखेरि नेपाली पर्वतारोहीहरू मात्रै १ सय २५ जना छन् भने बाँकी विश्वका विभिन्न देशका पर्वतारोहीहरू रहेका छन् ।

विश्वकै अग्लो हिमशिखर सगरमाथा हुनुको कारण यसको आर्थिक पक्ष र कीर्तिमान राख्ने होडका कारण पनि मानिसहरूको भीड लाग्न थालेको छ । त्यस्तै सगरमाथाको आर्थिक पाटो छुट्टै छ । सगरमाथा आरोहण र यसको कमाइका बारेमा कुरो गर्दा सन् २०२३ को वसन्त ऋतुमा मात्रै नेपाललगायत विभिन्न देशका पर्वतारोहीहरूले सगरमाथा आरोहण गर्नका लागि अनुमतिपत्र लिएबापत ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी रकम मात्रै नेपाल सरकारको मातहतमा रहेको पर्यटन विभागलाई तिरेका छन् ।

लाखौं अमेरिकी डलर खर्च गरी जिन्दगीमा एकपटक जसरी भए पनि विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कैयौं देशका पर्वतारोहीहरू । तर, सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्नभन्दा पनि जसरी पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दा सगरमाथा आरोहण पनि हिजोआज एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ ।

जसले गर्दा आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा स्टामिनाको कमी र हिमाल चढेको अनुभव (खास गरी ७–८ हजार मिटरभन्दा अग्ला) भए पनि जसरी पनि सगरमाथा चढेरै छाड्ने जिद्दीपनसहित पर्वतारोहीहरू आउन थालेका छन्, जसले गर्दा सगरमाथाको गरिमा नै नरहने स्थिति आयो । समग्रमा भन्दा नेपालका हिमालबाट बर्सेनि हुने आर्थिक उपार्जन जुन छ, त्यसमा सगरमाथा एक्लैको ठूलो योगदान छ । यसरी हेर्दा सगरमाथाको आरोहणमा पर्वतारोहीहरूले व्यक्तिगत रूपमा राख्ने सगरमाथा आरोहणको इतिहास, कीर्तिमान र यशभन्दा पनि आर्थिक, राजनीतिक र प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसँग पनि सम्बन्ध गाँसिन थालेको छ ।

त्यसैले त प्रथम सगरमाथा आरोही दुईमध्ये एक सर एडमन्ड हिलारी, भूगर्भविद्, वातावरणविद् तथा सगरमाथाको आयु लामो रहोस् भनी कामना गर्ने विभिन्न देशका शुभचिन्तकहरूले सगरमाथा आरोहणलाई केही वर्ष स्थगन गरौं भनी आवाज उठाएका थिए । तर, निश्चित कोटा तोकेर मात्र सगरमाथा आरोहण गर्न दिऔं भन्ने भन्दाभन्दै पनि झन् धेरै मानिस सगरमाथा आरोहणका लागि आउन थालेका छन् । हिजोआज पैसाको भर र बलमा जसरी पनि सगरमाथा चढ्न चाहने मानिस, जो वास्तविक पर्वतारोही होइनन्, उनीहरूसँग पर्वतारोहणको खासै अनुभव हुँदैन, त्यस्ता पर्वतारोहीहरूको भीड बढ्न थालेको देखिन्छ ।

जसले गर्दा मौसमी बाधा–व्यवधानबिनै पनि तुलनात्मक रूपमा धेरै पर्वतारोहीको ज्यान जान थालेको छ, सगरमाथा आरोहण गर्ने क्रममा । सो क्रमलाई रोक्न पनि सर एडमन्ड हिलारी, भूगर्भविद्, वातावरणविद्, सगरमाथाको आयु लामो रहोस् भनी कामना गर्ने विभिन्न देशका शुभचिन्तकहरूले सगरमाथा आरोहणलाई केही वर्ष स्थगन गरौं भनी उठाउँदै आएको आवाजलाई नेपाल सरकारले मनन गर्ने हो कि ? नत्र त सगरमाथाको अस्तित्व नै रहेन भने हामीले केमा गौरव गर्ने ?

प्रतिक्रिया दिनुहोस्