फेवातालको सिमसार क्षेत्र पुनः पुर्न सुरु «

फेवातालको सिमसार क्षेत्र पुनः पुर्न सुरु

पोखरा-फेवातालको सिमसार क्षेत्र पुनः पुर्न सुरु भएको छ । फेवातालको सिरान भाग पामेस्थित समरखो क्षेत्र नजिक दलदल भागमा यति बेला धमाधम माटो ढुंगाले पुर्न सुरु गरिएको हो । बर्खायामको समयमा जथाभावी सडक बनाउने नाममा डाँडा कटान गरी फेवातालको सिरान भाग दलदल रहेको ठाउँमा माटो हालेर पुर्ने काम भएको स्थानीयले गुनासो गरेका छन्। “महानगरको लापरवाहीले गर्दा फेवातालको सिरान क्षेत्रमा धेरै दलदल भागमा हाल घर बनाउने उद्देश्यले माटो पुर्दै गएका छन,” एक स्थानीयले भने, “केही समय यो क्रम रोकिए पनि फेरि यस्तै गरी माटो पुर्ने काम चलिरहेको छ ।”
पोखरा महानगरपालिकाले निर्माण गर्न लागेको कनेक्टिङ रोडअन्तर्गत सडक चक्लावन्दी गर्ने क्रममा उक्त क्षेत्रमा डाँडा कटानबाट निस्केको माटो, ढुंगा स्थानीय हरी भण्डारी र मनोज कुँवरले दलदल भएको आफ्नो जग्गामा हालेका हुन् । सडक चक्लाबन्दी गर्दा आफूहरूले धेरै सडकको भाग दिएकाले डाडाँतर्फ बढी कटान गरी निस्केको माटो ढुंगा आफ्नो जग्गा संरक्षणका लागि केही भाग पुरेको भण्डारीले बताए । धान खेती गर्ने उद्देश्यले हाल घोलो रहेको क्षेत्रमा माटोले पुरपार गरेको उनले बताए । “हाम्रो जग्गासँगै भएको क्षेत्र गहिरिएकाले अन्य व्यक्तिको जग्गासँग मेल खाने गरी माटो हाल्न थालेका हौं,” उनले भने ।
यस विषयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने पामे क्षेत्रमा पानी भएको क्षेत्रमा कसैले अनुमति विना माटो पुर्न नपाउने बताए । “सिमसार एवं पानी भएको कुनै पनि दलदल क्षेत्रमा जथाभावी रूपमा कसैले अनुमति बिना पुर्ने काम गर्छन् भने उनीहरू माथि कारवाही गर्न बाध्य हुनेछौं,” उनले भने ।
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले वर्षादको समयमा सकभर फेवाताल क्षेत्रमा कुनै योजना अघि बढाउन नहुने बताए । “अत्यावश्यक सडक मर्मत गर्नुपर्ने अवस्थाबाहेक जेठदेखि असोजसम्म सडक निर्माण तथा मर्मतको खासै काम गरेका छैनौं,” उनले भने, “महानगरको योजना भएकाले त्यसबारेमा हाम्रो खासै ध्यान पुगेन ।” वडा सदस्य अग्नीधर त्रिपाठीले पामे क्षेत्रमा अग्लो डाँडाको केही बढी भाग कटान भएका बताए ।

प्रतिक्रिया दिनुहोस्