लघुवित्त वित्तीय संस्थाहरुद्वारा सम्पूर्ण सेवाहरु बन्द गर्ने चेतावनी

नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरुले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । सोमबार लघुवित्त बैंकर्स संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त वित्तीय संस्थाहरु माथिको अराजक गतिविधिहरु निरन्तर भए, राज्य संयन्त्रबाट असहयोग भए र सुरक्षा व्यवस्थामा सुधार नभए लघुवित्तहरुले देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने जानकारी गराएको हो ।
लघुवित्त बैंकर्स संघले आज ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ । संघले पछिल्लो समय देशको संवैधानिक कानूनभित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरु माथि लगातार रुपमा प्रत्यक्ष आँच पुर्याउने र लाखौं जनताको बैंकिङ प्रतिको भरोसालाई प्रभावित पार्ने काम भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
संघले स्वार्थ समूहले आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन ७७ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरु माथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको बताए ।
उनले पछिल्लो समय प्रत्येक दिन अरापक गतिविधिहरु बढ्दै गएको भन्दै यही रुपमा अराजक गतिविधि अगाडि बढे बैंक तथा वित्तीय संस्थाहरु काम गर्न नसक्ने बताए । उनले वित्तीय संस्थाहरुमा लगाएको लगानीको असुरक्षा बढेको बताए । उनले अहिलेकै अवस्थाको सुरक्षा व्यवस्था हुने हो र सुरक्षा व्यवस्था सुधार नहुने हो भने वित्तीय कारोबार सञ्चालन गर्न नसक्ने बताए ।
उनले अब कुनै दिन बन्द गरेको घोषणा गर्नुपर्ने अवस्था आएको बताए । उनले लघुवित्तले खराबी गरेको भए नियमनकारी निकायले कारबाही गरे भोग्न तयार रहेको बताए । उनले सरकारले बनाएको कानून बमोजिम कारोबार गर्दा किन व्यवधान गरिन्छ ? भन्दै प्रश्न गरे ।
संघका महासचिव रामबहादुर यादवले अहिलेकै अवस्था रहे लघुवित्त संस्थाहरुलाई कसैले बन्द गर्नु नपर्ने र आफैँ बन्द हुने अवस्थामा पुग्ने बताए । उनले लघुवित्तहरु बन्द भएभने ग्रामिण क्षेत्रका जनतालाई बैंकिङ सेवा कसले दिन्छ ? भन्ने कुरामा राज्यले विचार गर्नुपर्ने बताए । उनले पैसा तिर्ने चाहनेहरुले पनि सुरक्षाको कारणले तिर्न नपाएको बताए ।
उनले पैसा तिर्न नदिने कार्य भएको र संघर्ष समितिमा लागेर पैसा फिर्ता गर्न सक्षमले पनि ऋण नातिरेको बताए । संघले अहिलेको अवस्थामा कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा चिन्ताको विषय भएको जनाएको छ । कर्जा असुली हुँदै जानेमा आफूहरु विश्वस्त भएपनि लघुवित्त र लघुवित्तकर्मीहरुको सुरक्षा पहिलो चिन्ताको विषय संघले बताएको छ ।