Logo

गर्मीले कुलर र एसीको मागमा वृद्धि

गर्मीले कुलर र एसीको माग बढेको छ । जेठयता रुपन्देहीमा गर्मी तीव्र रुपले बढिहरेको छ । लगातार गर्मीको कारण चिस्यानसँग सम्बन्धित विद्युतीय सामानको कारोबार बढेको हो । बुटवलको नेपालगञ्जरोडमा ३० वर्षदेखि विद्युतीय उपभोग्य सामानको व्यापार गर्दै आएका महेन्द्र श्रेष्ठले यो सिजनमा भएको व्यापार देखेर आफू दंग भएको बताए । ‘‘व्यापार गरेको लामो समय भयो । अहिले जस्तो व्यापार कहिले भएको थिएन’’ उनले भने ।

नेपालगञ्ज रोडमा श्रेष्ठको कस्तुरी फ्रिजघर छ । उनको पसलमा फ्रिज मात्र नभई एसी, कुलर लगायत अरु विद्युतीय उपभोगका सामान रहेका छन् । ‘‘फ्रिजमा अघिल्ला वर्षहरुको तुलनामा बिक्री दोब्बर छ । एसी ३ गुणा बढी बेचिएको छ ।’’ उनले भने,‘‘कुलरहरु त यो वर्ष ५ गुणसम्म बढी बिक्री भयो ।’’ बुटवलको दुर्गामन्दिर लाइनमा दीपा थान्जुले कुमारी इम्पेक्स सञ्चालन गरेकी छन् । उनको पसलमा कुलर किन्न एक पछि अर्को ग्राहक आउने क्रम जारी रहेको उनको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघकी विद्युतीय वस्तुगत समितिका संयोजक समेत रहेकी थान्जुले माग अनुसार कुलर पुर्‍याउन नसकेको बताइन् । ‘‘फोनबाट अडर दिएर ग्राहकहरु सामान लिन आउँछु भन्छन् । दुई तीन घण्टापछि ग्राहकहरु आउँदा सामान सकिसकेको हुन्छ । पछि सामान पाइएन भनेर गालि पनि खानुपरेको छ ।’’ उनले भनिन्,‘‘जसले सामान झार्यो उस्कोमा मेला लागे जस्तो हुन्छ । झारेको सामान उत्तीखेरै सकिन्छ ।’’ फोनमा अर्डर गरेका ग्राहकलाई एसी कुलर उपलब्ध गराउन नसक्दा पटक पटक गाली खानुपरेको थान्जुले सुनाइन् ।

पानी नपर्दा र लगातार गर्मी बढ्दा कुलर र एसीको माग बढेको हो । गर्मी बढेपछि साधारण पंखाले पनि चिसो हावा फाल्न नसक्ने अवस्था सिर्जना भएको छ । दुर्गामन्दिर लाइनमा भेटिएका बुटवल तामनगरका आशिष आचार्यले पंखाले राम्रोसँग हावा नदिएकाले कुलर किन्न आएको बताए । ‘‘छत तातेको हुन्छ । त्यसैले पंखाले तातो हावा फाल्छ । कुलर लगेपछि अलि चिसो होला भनेर लिन आएको’’ उनले भने । पंखाबाट सितलता पाउन नसकेपछि निम्न मध्यम र मध्यम बर्गले कुलर किन्ने क्रम बढेको छ ।

बजारमा कुलरको मूल्य १२ हजारबाट २२ हजारसम्म पर्छ । उच्च वर्ग र केही मध्ययम वर्गले घरमा एसी जडान गरेका छन् । बजारमा एसीको मूल्य ४५ हजार देखी ८० हजार रुपैयाँसम्म पर्दछ । एसी र पंखाबाहेक चार्जवाला पंखाको पनि केही बिक्री बढेको व्यवसायीले बताएका छन् । नियमित लोडसेडिङ नभएपनि रुपन्देहीमा छिन् छिन्मा विद्युत लाइन जाने गरेको छ । अघिल्लो वर्षको बैशाख जेठमा वर्षा पनि भइरहेकाले एसी कुलरहरु व्यवसायीहरुसँग स्टक रहेको थियो ।

यो वर्ष पनि पानी पर्यो भने सामान नजालाकी भनेर व्यवसायहरुले गर्मी अघि थप सामान नमगाउँदा पनि सामान अभाव देखिएको हो । लगातारको गर्मीले स्टक सामान सकिएपछि एक्कासी माग ढेको नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका महासचिव जेपी कंडेलले बताए । ‘‘पुरानो स्टक भएकाले थप सामान मगाइएन । पानी पर्यो भने सामान विक्दैन भन्ने भयो’’ उनले भने । गर्मी याममा चिस्यानको लागि उपयोग हुने एसी कुलर भारत र चाइनाबाट आउने गर्छ । बजारमा सबै भन्दा बढी चाइनिज सामान भएको कंडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्