बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए । उनले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताए । उनले करको विषयमा देशको हीतलाई हेरेर दर हेरफेर गरिएको बताए ।
उनले करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने आशमा रहेकाहरु रिसाएको भन्दै आफूले समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेको दाबी गरे । उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गरे ।
उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताए । उनले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या अदालतले मात्र गर्नसक्ने बताए । उनले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गरे ।
उनले भने,‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ । करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो । उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौं । महालेखा परीक्षकको सुझाव अनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको हो । यो नयाँ कर थपेको हैन । अदालतले मात्र यसको टुंगो लगाउन सक्छ । मैले केही गर्न सक्दिनँ । मैले राहत मात्र दिएको हो, यसको अन्तिम निक्र्यौल मबाट हुँदैन, महालेखाले भनेको विषय मैले काट्नसक्ने अवस्था पनि थिएन ।’
उनले विगतका सरकारले निरन्तरता करछुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको बताए । उनले सरकारले बजेटमार्फत कर नभएर करको दायरालाई बढाएको दाबी गरे । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान हुने बताए । उनले मौद्रिक नीतिले पनि अर्थतन्त्रमा थप सुधार ल्याउने अपेक्षा रहेको बताए ।
उनले बजेटमा साधरण खर्चतर्फ सामाजिक सुरक्षा लगायतका विषयबाट सरकार पछाडि हट्न नसकेकाले पुँजीगत खर्चको स्पेस बढाउन नसकेको स्वीकार गरे । उनले सरकारको ऋण तथा ब्याज तिर्ने दायित्व बढेको र अर्को वर्ष अझै बढ्दै जाने चिन्ताको विषय बनेको बताए ।