Logo

तिला र तातोपानीमा सञ्चालित भकारी परियोजना

कृषि, सामाजिक र भौतिक विकासमा ६ करोड लगानी

जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत् सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आयआर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखनीय काम गरेको पाइएको छ ।

परियोजनामार्फत् सिँचाइ अभावले बाँझिँदै गएका खेतीयोग्य जमिनमा सिँचाइ सुविधामात्र पुगेको छैन । विद्यमान सामाजिक कुरिति अन्त्य, विपद व्यवस्थापन, लैंगिक समानता, समावेशीकरण, डेढ दर्जन बढी सिँचाइ कुला निर्माणलगायतका उल्लेखनीय काम भएका छन् । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा विगत तीन वर्षदेखि सञ्चालित भकारी परियोजना समापन भएको छ । समापनका अबसरमा परियोजनाले गरेको उल्लेखनीय गतिविधि सार्वजनिक गरिएको छ ।

यूनएनडीपीको आर्थिक सहयोग मर्सिकोरको नेतृत्व तथा किर्डाक नेपालद्वारा सञ्चालित भकारी परियोजना तिलाका १ देखि ९ वटा वडा र तातोपानीका ४, ७ र ८ नम्बर वडामा लागु भएको थियो । कर्णाली जलाधार क्षेत्रमा रहेको संकटासन्न सामाजिक वञ्चितीकरणमा परेका समुदाय तथा घरधुरीको खाद्य सुरक्षा र उत्पादनशीलतामा क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालित भकारी परियोजनाअन्तर्गत विभिन्न पाँचवटा विषयगत क्षेत्रमा काम गरिएको थियो ।

जसअन्तर्गत आपतकालीन क्षेत्र, कृषि तथा पोषण, उत्पादनशील पानी, विपद् जोखिम न्यूनीकरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन सञ्चार गरी ६ वटा विषयगत क्षेत्रमा काम गरिएको किर्डाक नेपालका डिआरआर अधिकृत पविना खड्काले बताइन् । उनका अनुसार उल्लेखित ६ वटा विषयगत क्षेत्रका कार्यक्रमबाट तिला गाउँपालिकाका २३ हजार ६०५ जना र तातोपानी गाउँपालिकाका ११ हजार ५० जना गरी ३४ हजार ६५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

कृषिमा अनुदान, सीप तथा प्रविधि, विपद् व्यवस्थापनको सीप उद्यमशीलता लगायतका सीप प्राप्त गरेका छन् । यसैबीच अक्टोबर सन् २०२० देखि जुन २०३० सम्म संचालनमा रहेको भकारी परियोजनाको समापन कार्यक्रम गरेर तीन वर्षमा भएका उल्लेखनीय कामको प्रतिवेदन दुवै पालिकालाई बुझाइएको छ । तीन वर्षे परियोजनाको उपलब्धि र नागरिकमा उत्साह देख्दा दातृ संस्था यूनएनडपिकी भेरिकाले पनि खुसी व्यक्त गरेकी थिइन् ।

परियोजनाले तीन वर्षमा कृषि, विपद व्यवस्थापन, सामाजिक विकास, पोषण, पूर्वाधार विकासलगायतका क्षेत्रमा भएका राम्रा कामको निरन्तरता दिने, संरचनाको संरक्षण तथा उपभोग गर्ने दायित्व स्थानीय तहलाई सुम्पिएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताए । स्थानीय तारा बुढाले परियोजनाबाट सिकेका सीपलाई निरन्तरता दिन, संरचनाको संरक्षण गर्न माग गरेकी छन् ।

संस्थाले निर्माण भएका संरचना र प्राप्त उपलब्धि परियोजना समाप्तिसँगै संरक्षण र निरन्तरतामा समस्या रहेकाले भकारी परियोजनाको करोडौ लगानीलाई दिगो व्यवस्थापन, संरक्षणमा ध्यान दिन उनको माग छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले परियोजनाबाट सञ्चालित विभिन्न कामको उपलब्धि रक्षा गर्न पालिका गम्भीर रहेको बताए । तातोपानीमा किर्डाकबाहेक अरु कोही पनि संस्था सञ्चालनमा छैनन् ।

उनले भने, “पालिकासँग स्रोत कम र आवश्यकता बढी हुँदा काम गर्न मुस्किल छ । तर किर्डाकद्वारा सञ्चालित भकारी परियोजनाले पालिकाको कृषि, सामाजिक तथा भौतिक विकासमा टेवा पुगेको छ ।” उता तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले विकास साझेदार संस्थाको सहयोग बिना राज्यले मात्रै नागरिकका आवश्यकता परिपूर्ति गर्न सक्ने अवस्था नरहेको बताए । भौगोलिक विकट, चेतनास्तरले पछि परेको तिलाको विकासमा भकारीले पु¥याएको योगदानको प्रशंसा गरे ।

दुई पालिकामा ६ करोड लगानी

किर्डाक नेपालद्वारा सञ्चालित भकारी परियोजनाले तिला र तातोपानी गाउँपालिकाको कृषि, सामाजिक तथा भौतिक विकास विकासका लागि ६ करोड बढी बजेट खर्चिएको छ । तीन वर्षको अवधिमा आयआर्जन वृद्धि, सिँचाइ सुविधा विस्तार, कूलो निर्माण, व्यवहार परिर्वतन, विपद् व्यवस्थापन, कृषि तथा पोषण सुधारलगायतका क्षेत्रमा झण्डै ६ करोड १५ लाख १० हजार ५४१ रुपैया लगानी गरेको आर्थिक प्रगतिमा उल्लेख छ ।

जसअन्तर्गत तिला गाउँपालिकाको कृषि तथा पोषण, उत्पादनशील पानी, प्राकृतिक स्रोत व्यवस्थापन, लैगिक समानता तथा समावेशीकरण लगायतका क्षेत्रमा तीन करोड ७१ लाख ८ हजार ८२१ रुपैयाँ लगानी गरेको छ । तिलामा कुल तीन करोड ८८ लाख ४४ हजार बढी बजेट रहेकोमा तीन वर्षमा कुल बजेटको ९५ प्रतिशत खर्च भइसकेको छ भने तातोपानी गाउँपालिका ४, ७ र ८ नम्बर वडाको, कृषि, पोषण, सिँचाइ, विपद् जोखिम न्यूनीकरणलगायत सामाजिक विकास (छुईप्रथा, बालविवाह, लैंगिक विभेद न्यूनीकरण, क्षमता विकास) लगायतका क्षेत्रमा दुई करोड ४३ लाख ८६ हजार ७२० रुपैयाँ लगानी गरेको छ ।

तातोपानीमा कुल दुई करोड ५१ लख ९६ हजार बढी बजेट रहेकोमा तीन वर्षमा ९६ प्रतिशत खर्च भएको हो । भकारी परियोजनाको दुई पालिकामा ‘आपतकालीन क्षेत्र, कृषि तथा पोषण, उत्पादनशील पानी, विपद् जोखिम न्यूनीकरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन सञ्चार’ गरी ६ वटा विषयगत क्षेत्रमा ६ करोड १५ लाखको लगानी गरेको छ । उक्त लगानी र उपलब्धिलाई सुरक्षित, दिगो र निरन्तरता दिन स्थानीय सरकारकै दायित्व भएकाले नीति बनाएरै उपलब्धिको सरंक्षरण गर्नुपर्ने बताएका छन् ।

डेढ दर्जन सिँचाइ योजना निर्माण

भकारी परियोजनामार्फत् तिला र तातोपानी गाउँपालिकामा झण्डै डेढ दर्जन सिँचाइ कुला निर्माण भएका छन् । सिँचाइ अभावले बाँझिँदै गएका जमिनमा सिँचाइ पु¥याई उत्पादन बढाउने, आयआर्जन वृद्धि गर्ने उद्देश्यले तिलामा ११ वटा सिँचाइ कुलो, ३ वटा बहुउपयोगी नर्सरी र १० वटा जोखिम क्षेत्र पहिचान गरी वायो इन्जिनियरिङ प्रविधि जडान भएका छन् ।

तातोपानीमा ६ वटा सिँचाइ कुलो, चारवटा इन्जिनियरिङ प्रविधि जडान निर्माण भएका छन् भने पहिरो रोकथामका लागि न्यून खर्चमा क्रिप पर्खाल, वर्षा पम्प जडान, एकीकृत शत्रुजीव सिकाइ केन्द्र स्थापना, किसानको क्षमता विकाससँगै सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्