पर्यटन विकासमा छिमेकी राष्ट्रहरू «

पर्यटन विकासमा छिमेकी राष्ट्रहरू

छिमेकी राष्ट्रहरूमा गरिने पर्यटन प्रवद्र्धन अपेक्षित रूपमा आक्रामक नभएजस्तै यी राष्ट्रहरूसँगको हवाई सम्पर्कसमेत अपेक्षित रूपमा बढेको छैन ।

पर्यटक आगमनसम्बन्धी विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०१७ मा बढी पर्यटक भित्र्याउने राष्ट्रहरूको सूचीमा नेपाल १ सय ६ औं स्थानमा पर्छ । सोही तथ्यांकअनुसार फ्रान्स, स्पेन, अमेरिका, चीन र इटली धेरै पर्यटक भित्र्याउने विश्वका पाँच ठूला राष्ट्रहरू हुन् । सन् २०१७ मा यी राष्ट्रहरूले क्रमशः ८ करोड ६९ लाख, ८ करोड १८ लाख, ७ करोड ६९ लाख, ६ करोड ७ लाख र ५ करोड ८२ लाख पर्यटक भित्र्याएका थिए ।
विश्वको सबैभन्दा बढी पर्यटक स्वागत गर्ने फ्रान्स जाने पर्यटकहरूमध्ये ७८.७ प्रतिशत पर्यटक युरोपियन हुँदा रहेछन् । युरोपियन पर्यटकहरूमा पनि उसका छिमेकी देशहरू जर्मनी, बेलायत, स्विट्जरल्यान्ड, बेल्जियमबाट आउनेको संख्या अधिक रहेछ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको स्पेनले ६९ प्रतिशत युरोपियन पर्यटक भित्र्याउँदो रहेछ र उसका लािग छिमेकी राष्ट्रहरू बेलायत, जर्मनी, फ्रान्स र इटली पर्यटकका प्रमुख स्रोत रहेछन् । तेस्रो स्थानमा रहेको अमेरिकाको पर्यटनको प्रमुख आधार पनि उसका छिमेकी देश क्यानडा र मेक्सिको रहेछन् । यी दुई राष्ट्रबाट अमेरिका जाने पर्यटकको संख्या अमेरिका प्रवेश गर्ने कुल पर्यटक संख्याको आधा हुँदो रहेछ । चौथो स्थानको चीन घुम्न जाने कुल पर्यटकमध्ये एसियन पर्यटकको संख्या ७४.६ प्रतिशत रहने गरेको छ । चीनको पनि पर्यटकको स्रोत राष्ट्र भनेका उसका छिमेकीहरू दक्षिण कोरिया, जापानजस्ता देशहरू नै हुन् । पाँचौं स्थानको इटलीको पर्यटक स्रोत भनेको युरोप नै हो र उसका छिमेकी राष्ट्रहरू नै हुन् ।
कुनै पनि राष्ट्रको पर्यटन–उद्योगमा छिमेकी देशका पर्यटकहरूको कति योगदान हुन्छ भन्ने कुरा माथिका तथ्यांकहरूले देखाउँछन् । नेपालमा पनि पर्यटकको स्रोत राष्ट्रका रूपमा धेरै अघिदेखि हाम्रो छिमेकी राष्ट्र भारत रहँदै आएको छ । पछिल्ला केही वर्षदेखि हाम्रो अर्को छिमेकी राष्ट्र चीनबाट नेपाल भित्रिने पर्यटकको संख्या समेत उत्साहप्रद छ । तथापि हाम्रा दुई छिमेकी राष्ट्रहरूबाट नेपाल भित्रिने पर्यटकको संख्या जुन स्तरमा पुग्नुपर्ने हो अझसम्म पुग्न सकेको छैन । सन् २०१६ मा १३ करोड ५० लाख चिनियाँ विदेश भ्रमणमा निस्कँदा नेपालमा आउने चिनियाँको संख्या भने १ लाख ४ हजार मात्र छ । त्यसैगरी २ करोड ३० लाख भारतीय विदेश भ्रमणमा निस्कँदा नेपालले भने १ लाख १८ हजार भारतीयलाई मात्र आकर्षित गर्न सक्यो ।
नेपालका लागि भारत र चीन पर्यटक स्रोतका हिसाबले प्रमुख राष्ट्रहरू रहेको भए पनि यी दुई राष्ट्रबाट नेपाल भित्रिने पर्यटकको संख्या हेरेर खुसी भइहाल्ने अवस्था छैन । यी दुई राष्ट्रबाट सन् २०१८ मा नेपाल आउने पर्यटकको संख्या कुल पर्यटक आगमनको ३०.२ प्रतिशत छ । सिमाना जोडिएका हाम्रा छिमेकी देशहरूबाट नेपाल आउने पर्यटकको संख्या र हिस्सा तुलनात्मक रूपमा कम नै छन् । डेढ दशकअघिसम्म नेपालमा पर्यटक आगमनको तथ्यांकको कुरा गर्दा भारतीय पर्यटकको हिस्सा एकतिहाइभन्दा बढी हुन्थ्यो, जुन अहिले १७ प्रतिशतमा झरेको छ । भारतीयहरूलाई पनि राम्ररी आकर्षित गर्न नसक्नु हाम्रै कमजोरी हो । नेपालले छिमेकी राष्ट्रहरूबाट उल्लेख्य संख्यामा पर्यटक आकर्षण गर्न नसक्नुमा दुईवटा प्रमुख कारण देखिन्छन् । पहिलो कारण भनेको सोचको हो भने दोस्रोचाहिँ पहुँचको हो ।
पर्यटकलाई स्रोत राष्ट्रहरूका दृष्टिकोणले दुई प्रकारले विभाजन गरिएको हुन्छ— लामो दूरीबाट आउने पर्यटक (लङ हल टुरिस्ट) र छाटो दूरीबाट आउने पर्यटक (सर्टहल टुरिस्ट) । केही समय अघिसम्म हाम्रो पर्यटनको आधार भारतपछि लङहल टुरिजम नै थियो । विगतमा नेपाल आउने पर्यटकहरूमध्ये बेलायत, जापान, अमेरिका, युरोपजस्ता लामो दूरी पार गरेर आउने पर्यटकहरूको हिस्सा धेरै थियो । विकसित राष्ट्रका उच्च आय हुने यी पर्यटकहरूले गर्ने खर्च पनि बढी नै हुन्थ्यो । पर्यटन व्यवसायीहरूमा यो सोचाइ अहिले पनि बलियो नै छ । यही दृष्टिकोणका कारण हाम्रो पर्यटन प्रवद्र्धनको ध्यान अझसम्म पनि युरोपबाट अन्यत्र मोडिएको छैन । पछिल्लो समय नेपाल पर्यटन बोर्डको पर्यटन प्रवद्र्धन बजेटको केही हिस्सा भारत, चीनलगायतका छिमेकी राष्ट्रहरूमा गएको भए तापनि छिमेकी राष्ट्रहरूमा गरिने पर्यटन प्रवद्र्धन अन्य राष्ट्रहरूमा गरिने पर्यटन प्रवद्र्धनभन्दा राम्रो छैन ।
छिमेकी राष्ट्रहरूमा गरिने पर्यटन प्रवद्र्धन अपेक्षित रूपमा आक्रामक नभएजस्तै यी राष्ट्रहरूसँगको हवाई सम्पर्कसमेत अपेक्षित रूपमा बढेको छैन । गएको १५ वर्षमा चीनसँगको हवाई सम्पर्क केही बढ्दा भारतसँगको हवाई सम्पर्क भने बढ्न सकेको छैन । पछिल्लो दशक भारतको नयाँ दिल्लीमा काठमाडौंबाट तीन भारतीय र दुई नेपाली हवाई कम्पनीले उडान गर्ने गरेकोमा अहिले दुई भारतीय र नेपाल वायुसेवा निगमको मात्र उडान रहेको छ । भारतको नयाँ दिल्लीमा गरिने हवाई उडान नै कम रहेको अहिलेको समयमा अन्य भारतीय सहरहरूमा हवाई सेवा विस्तार हुने देखिँदैन । काठमाडौंबाट भारतको मुम्बईसँग रहेको सिधा सम्पर्क भारतमा जेट एयर बन्द भएसँगै बन्द भएको छ भने नेपालको बुद्ध एयरले भारतका साना सहरहरूमा उडान गर्ने भने पनि भरपर्दो रूपमा उडान सुरु हुन सकेको छैन । बुद्ध एयरका साना जहाजहरूले भारतीय सहरहरूमा भरपर्दो रूपमा हवाई सेवा विस्तार गर्न सक्छन् भन्ने सम्भावना कम नै छ । भारतको कोलकाता र बैंग्लोरमा हुने हवाई उडान नियमित भए पनि लामो समयदेखि कम संख्यामा नै सीमित छन् ।
चिनसँगको हवाई सम्पर्क भने केही विस्तार भएको छ । यो विस्तार १५ वर्षअघि चीनले नेपाललाई पर्यटन गन्तव्यको सूचीमा राखेपछि क्रमशः बढेको हो । उक्त समयमा नेपालको चीनसँग सिधा सम्पर्क भनेको नेपाल वायुसेवा निगमले काठमाडौंबाट जापानको ओसाका उडान गर्ने क्रममा चीनको सांघाईमा गर्ने उडान नै थियो । सांघाई र लासा बाहेकका अन्य कुनै पनि सहरसँग नेपालको सिधा सम्पर्क थिएन । आज चीनसँगको हवाई सम्पर्कमा उल्लेख्य सुधार भएको छ । अहिले काठमाडौंसँग चीनका पाँचवटा सहरहरू (ल्हासा,चेङदु, कुनमिङ, ग्वाङझाउ र सियान) पाँचवटा चिनीया वायुसेवा कम्पनीहरू (एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स, सिचुवान एयरलाइनस र तिबत एयरलाइन्स) मार्फत हवाई माध्यमबाट जोडिएका छन् । चीनसँग हुने हवाई उडानको संख्या साप्ताहिक ७० वटाभन्दा बढी हुँदा पनि नेपालमा थप उडान गर्न चिनियाँ वायुसेवा कम्पनी तयार छन् । नेपालसँगको हवाई उडानको संख्या साप्ताहिक १ सयभन्दा बढी गर्न चिनियाँहरूले चाहेको समाचार आइरहेको हाल सुनिएको यसैका कारण हो ।
हवाई सम्पर्क पनि विस्तार नहुने र पर्यटन प्रवद्र्धनमा समेत प्राथमिकतामा नपर्ने भएपछि छिमेकी राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको संख्या अपेक्षित रूपमा कम देखिनु स्वाभाविक नै हो । छिमेकी राष्ट्रहरूबाट नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम देखिए पनि नेपाली पर्यटनले विगतदेखि नै यी राष्ट्रहरूबाट सद्भाव भने पाइरहेकै छ । यसैको पछिल्लो उदाहरण भारतको राजस्थान राज्य सरकारले ६५ वर्षभन्दा बढी उमेरका आफ्ना नागरिकलाई पशुपतिनाथ मन्दिरको दर्शन गर्न नेपाल जाँदा हवाई भाडा तिरिदिने निर्णय हो । त्यस्तै पछिल्लो समय नेपालप्रति चिनियाँहरूको चासो बढेका कारण नै नेपाल र चीनबीचको हवाई सम्पर्क बढेको हो र यसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यासमेत बढ्दै गएको छ ।
हाम्रा दुई छिमेकी मुलुकबाट अपेक्षित रूपमा पर्यटक भित्र्याउन नेपाललाई यी राष्ट्रहरूमाझ धार्मिक–सांस्कृतिक पर्यटकीय गन्तव्यका साथै कार्यक्रममा आधारित माइस पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गराउनु उचित देखिन्छ । भारतमा रहेका करिब १ अर्ब हिन्दू र चीनमा रहेका करिब १ अर्ब बौद्ध धर्मावलम्बीहरूलाई लक्षित गरी उपयुक्त पशुपतिनाथ–प्याकेज र लुम्बिनी–प्याकेज बनाउन सकिए मात्र पनि हाम्रो पर्यटनले राम्रो गति लिन सक्छ । त्यसैगरी मिटिङ, इन्सेन्टिभ्स, कम्फरेन्सिङ र एक्जिविसनजस्ता कार्यक्रमका लागि पहुँचका दृष्टिकोणले नेपाल यी दुवै देशका लागि उपयुक्त गन्तव्य हुन सक्छ । अतः नेपालको पर्यटनलाई गति दिन अब हाम्रा छिमेकी राष्ट्रहरूमा गरिने पर्यटन प्रवद्र्धनलाई लक्षित रूपमा अझ प्रभावकारी बनाउनु र हवाई सम्पर्कलाई अझ सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्