‘अर्थतन्त्रमा सुधार ल्याउन लगानी वृद्धि अपरिहार्य’

मुख्य सचिव डा.बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मुख्य सचिव अर्याललाई बधाइ तथा शुभकामा दिएपछि उनले सो उक्त कुरा बताएका हुन् । परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मुख्य सचिव अर्यालसँग भेट गरी शुभकामना दिएको थियो ।
मुख्य सचिव अर्यालले पुँजीगत खर्च बढाउन आवश्यक रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने भन्दै उनले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका थिए । उक्त अवसरमा परिसंघ अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र बुझेको व्यक्ति मुख्य सचिव भएकोमा खुसि व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
अर्थतन्त्रको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको भन्दै उनले लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलयमान बनाउन सक्नेमा जोड दिए । परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रको तर्फबाट पहिलो पटक ‘बजेट वाच’ कार्यक्रम संचालन गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेको छ । यसको स्वागत गर्दै अध्यक्ष अग्रवालले उक्त समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गरे ।
सोही अवसरमा अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहितको अवधारणा मुख्य सचिव डा. अर्याल समक्ष पेश गरेका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय गर्न सुझाव दिएको छ ।