सिमापारी किनमेल गर्न जानेको चहलपहल घट्यो

रुपन्देहीको बेलहिया नाकामा कडाइ गर्न थालेपछि सिमापारी किनमेल गर्न जानेहरुको चहलपहल घटेको छ । जाडो मौसममा दिनभर र गर्मी मौसममा बिहान तथा विशेष गरि साँझपख भारतीय बजारमा किनमेल गर्न जाने र आउनेहरुको लर्को लाग्ने गर्दथ्यो । तर अहिले बजार जानेहरु निकै कम भएका छन् ।
केही दिनयता सिमानाकामा खासै चहलपहल नदेखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक अनिल थापाले बताए । ‘‘पहिला बेसरी भिडभाड हुन्थ्यो । बेलुकापख सम्हालीनसक्नु हुन्थ्यो । अहिले त्यस्तो छैन ।’’ उनले भने,‘‘गर्मीको कारणले हो कि चेकजाँचमा कडाइ भएर हो, दस बाह्र दिनयता खासै चहलपहल छैन ।’’
भैरहवा भन्सार कार्यालयले जेठको मध्ये तिरबाट कडाइ गर्दै सय रुपैयाँ भन्दा बढीको सामानमा अनिवार्य भन्सार तिराउन थालेको छ । कडाइ गर्न थालेको केही दिनपछि भन्सारमा चहलपहल घटेको हो । सिमापारी भारतीय बजारमा सामान सस्तो पाइने भन्दै रुपन्देहीका गाउँ–गाउँ र छिमेकी जिल्लाहरुबाट आएकाहरु भैरहवा हुँदै सुनौली नाकामा किनमेल गर्न जान्थ्ये ।
दैनिक उपभोग्य खाद्यान्नदेखि, विवाह, ब्रतबन्ध लगायतका सामान किन्न सिमा पारी जानेको भिड लाग्ने गर्दथ्यो । तर उद्योगी व्यवसायीहरुले दबाब दिएपछि भैरहवा भन्सार कार्यालयले बेलहिया नाकामा कडाइ गर्न थालेको हो । किनमेल गरेर आउनेलाई कडाइ गर्न थालेपछि यात्रु शाखाबाट राजस्व पनि बढेको छ । कडाइ गर्न थाल्दा सुरुमा राजस्व संकलन अधिक बढेको र केही दिन यता कम भएको भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराइले बताए ।
‘‘सुरु–सूरुमा यात्रु शाखाबाट उठ्ने राजस्व बढेको थियो । भन्सारको लागि दैनिक ४०–५० वटा मात्र फारम बाडिने गरेकोमा चार सयभन्दा बढी पुगेको थियो’’ उनले भने । सिमानाकामा कडाइ गर्न थालेपछि जेठ १६ देखि यात्रुशाखाबाट भन्सारको लागि २१२ वटा फारम वितरण भएको छ । उक्त दिन १ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । यो क्रम बढ्दै गएर जेठ २० मा ४२६ वटा फारम वितरण भएको थियो ।
उक्त दिन यात्रु शाखाबाट २ लाख १४ हजार २०६ रुपैयाँ राजस्व संकलन भएको थियो । पछिल्लो दिन फारम वितरण र राजस्व संकलनदर केही घटेको छ । जेठ ३१ मा ९९ वटा फारम वितरण हुँदा यात्रु शाखाबाट १ लाख १९ हजार ४०२ रुपैयाँ राजस्व संकलन भएको थियो । जेठ १६ यता कुल ३ हजार २७९ फारम वितरण हुँदा भन्सार कार्यालयको यात्रु शाखाबाट २३ लाख ७५ हजार राजस्व संकलन भएको छ । सय रुपैयाँ भन्दा बढीको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने कानूनी व्यवस्था भएपनि यसअघि कार्यान्वयन हुन सकेको थिएन ।
आर्थिक मन्दीका कारण बुटवल भैरहवाका व्यापार व्यवसाय चल्न छाडेको व्यवसायीहरुको गुनासो छ । यस्तो बेला व्यवसायीले सिमानाकामा कडाइ गर्न दबाब दिइरहेका छन् । गत जेठ १२ मा भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, भन्सार कार्यालयका प्रमुखको उपस्थितिमा कार्यक्रम गरेको थियो । त्यसपछि भन्सार कार्यालयले सिमानाकामा कडाइ गर्न थालेको हो । किनमेल गरेर आएका सर्वसाधारणसँग पनि भन्सार लिन थालेपनि व्यवसायीहरुले केही राहातको महसुस गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले यसलाई निजी क्षेत्रले स्वागत गरेको बताए । ‘‘घरायसी सामान किन्नेको नाममा जो पनि बोर्डर पारी नै जाने चलन छ । त्यसले हाम्रो व्यापार व्यवसाय चौपट भएको थियो ।’’ उनले भने, ‘‘लामो समयदेखी हामीले माग गरिरहेका थियौं । अहिले नाकामा कडाइ गरेपछि बजारको रेसपोन्स राम्रो हुँदै गएको छ ।’’ श्रेष्ठले सिमापारीको तुलनामा नेपाली बजार महँगो नभएको बताए । सिमित सामान र केही कम गुणस्तरको सामान मात्र भारतीय बजारमा सस्तो हुने उनको भनाइ छ ।