Logo

गण्डकी प्रदेशले ३३ अर्बको बजेट ल्याउने

गण्डकी प्रदेशले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट कम ल्याउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट करिब ३३ अर्बको ल्याउने तयारी भएको प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही कराण गण्डकी सरकारले असार १ गते दिउँसो ३ बजे बजेट ल्याउने मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को कारण अर्थतन्त्रमा परेको प्रभाव अपेक्षाकृत ढंगले राजस्व संकलनमा कमी आएकोले गर्दा यो वर्ष चालु आर्थिक वर्ष भन्दा केही कम बजेट आउने आर्थिक मामिला मन्त्रालयका सचिव बिष्णुप्रसाद शर्माले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्ष ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । आउँदो वर्षको बजेटले कृषि, स्वास्थ्य लगायतका विषयमा जोड दिँदै जेठ २१ मा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

केही दिन सदनमा छलफल पश्चात नीति तथा कार्यक्रम पास भएको थियो । आन्तरिक स्रोत र संघीय सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी सरकारको आगामी आवको बजेट सानो बनाउन लागेको हो । संघीय सरकारले आगामी आवका लागि ३३ अर्ब ८५ करोडको सीमा तोको छ । गण्डकीले यही सीमाभित्र रहेर ३३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको हो । चालु आवमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ उठाउने लक्ष्य लिएकोमा ४ जेठसम्म ५ अर्ब ८९ करोड ३९ लाख १८ हजारमात्र राजस्व उठेको छ ।

आन्तरिक राजस्वतर्फ ५ अर्ब ९ करोड १६ लाखको लक्ष्य रहेकामा हालसम्म ५० प्रतिशतमात्र संकलन भएको छ । घरजग्गालगायत कारोबारमा मन्दी आउँदा राजस्व कम उठेको हो । संघ सरकारले दिने समानीकरण अनुदान पनि यो वर्ष १ अर्ब घटेको छ ।

प्रतिक्रिया दिनुहोस्