राहत वितरणमा प्रदेश सरकार सुस्त

निर्णय भएको दुई साता बितिसक्दा पनि कार्यान्वयन सुरु भएन
हेटौंडा-अविरल वर्षासँगै आएको बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई राहत र घाइतेलाई उपचार खर्च दिने घोषणा गरेको प्रदेश–३ सरकारले हालसम्म रकम वितरण गर्न सकेको छैन । गत असार २८ गतेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई जनही एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि ३० हजार रुपैयाँ दिने निर्णय गरिएकोमा दुई साता बितिसक्दा पनि राहत वितरण प्रक्रिया भने सुरु भएको छैन ।
गत असार २७ गतेयता बाढीपहिरोका कारण प्रदेश–३ मा १८ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । मुख्यमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन निर्देशक समितिले आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक रहेको कार्यान्वयन समितिलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट मृतक र घाइतेलाई राहत वितरण गर्न निर्देशन दिइए पनि दुई सातासम्म कुनै प्रक्रिया अघि बढ्न सकेन ।
मन्त्रिपरिषद्को निर्णय भएको १५ दिनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १३ वटै जिल्ला प्रशासन कार्यालयलाई मृतक तथा घाइतेको तथ्यांक संकलन गर्न पत्र लेखेको छ । मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार आइतबार १३ वटै जिल्ला प्रशासनमा पत्राचार गरी बाढी पहिरोमा परी मृत्यु भएकाको नामथर, प्रहरी मुचुल्का, हकवालाको नाम, बैंक खाता नम्बरलगायतको विवरण भरी पठाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत मृतकको विवरण आएपछि उनीहरूलाई बैंकमार्फत भुक्तानी दिइने श्रेष्ठले बताए । त्यस्तै घाइतेहरूले उपचार गराई बिल पेश गरेको आधारमा ३० हजार रुपैयाँसम्म उपलब्ध गराइने उनले सुनाए । सबै प्रक्रिया पूरा गरी मृतक र घाइतेलाई राहत दिन अझै केही दिन लाग्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश ३ मा बाढी पहिरोका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै महिला र बालिका रहेका छन् ।
मृत्यु हुनेमध्ये सातजना महिला, छजना बालिका र पाँचजना पुरुष छन् । घाइते १३ जनामध्ये पाँच महिला, छ पुरुष र एक÷एक बालक र बालिका छन् । पाँचजना बेपत्ता भएकामध्ये तीनजना पुरुष र एक÷एक महिला र बालिका रहेको प्रदेश ३ प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण मकवानपुरमा ६, सिन्धुलीमा ४, काभ्रेमा ३, धादिङमा २, सिन्धुलीमा २, चितवनमा १ जनाले ज्यान गुमाएका छन् ।
कांग्रेस सांसदले दिए पाँचदिनको तलब
बाढीपहिरो पीडितको राहतको लागि कांग्रेस प्रदेश–३ संसदीय दलले पाँच दिनको पारिश्रमिकवापतको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । असार २७ गतेदेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्रदेश–३ मा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै काँग्रेस प्रदेश ३ का २१ जना सांसदले पाँच दिनको पारिश्रमिक राहत स्वरुप प्रदान गरेका हुन् । प्रदेश ३ का कांग्रेसकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई सांसदहरुको पारिश्रमिकवापतको एकमुष्ठ एक लाख ६० हजार रुपैयाँ आइतबार हस्तान्तरण गरेकी हुन् । राहत रकम हस्तान्तरण गर्दै कांग्रेसले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई दिने भनिएको एक लाख रुपैयाँ निकै न्यून भएको भन्दै त्यसलाई थप गर्नसमेत माग गरेको छ ।
मृतकको परिवारलाई दिने रकम तीन लाख रुपैयाँ बनाउनुपर्ने तथा बाढी, पहिरो, डुबानका कारण पूर्ण क्षति र आंशिक क्षति भएका घरपरिवारलाई अस्थायी आश्रयस्थल, खाना र लत्ताकपडाको व्यवस्थाको लागि प्रतिपरिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउन कांग्रेस संसदीय दलले ध्यानाकर्षण गराएको छ । कांग्रेसको ध्यानाकर्षणपत्र तथा राहत रकमवापतको चेक ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले पीडितको यथार्थ विवरण संकलन भइरहेको जानकारी दिँदै उनीहरुलाई तत्काल राहत उपलब्ध गराइने बताए ।