वर्षौंदेखि खोलाको पानी पिउन बाध्य

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोला र नौलाको फोहर पानी पिउन बाध्य छन् ।
गाउँमा खानेपानी आएको भए तापनि खानेपानीको पाइपलाइन बिग्रँदा र मुल सुक्दा २० वर्षदेखि पानीको समस्या झेलिरहेको स्थानीय सुनकोटवासीको भनाइ छ । हिउँद नसकिँदै पानीको समस्या देखापरेको र खोला तथा नौलाको पानीको भरमा खानेपानीको गुजारा चलाउनु परेको स्थानीय लक्ष्मी विकले बताइन् । २ सय बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्न सक्यो भने खानेपानी पाउने नत्र खोलाको फोहर पानीले नै खाना तथा अन्य कुराको लागि जोहो गर्नु पर्ने बाध्यतता रहेको सुनकोटका अर्का महिला राजु भुलले जानकारी गराइन् । अन्य समुदायको बस्तीभन्दा मुनि दलित समुदाको बस्ती रहेकाले पनि खानेपानीको समस्या भएको अगुवा दलित बताउँछन् । साविकको कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या रहेको स्थानीय कलावती भुलले बताइन् ।
खानेपानीको समस्याकै कारण धेरै बालबालिका विद्यालय जानबाट वञ्चित भएको छन् । घरको एकजनाले पानी भर्नमा दिन बिताउनु पर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयले जानकारी गराएका छन् । केही वर्ष पहिला गाउँमा नै खानेपानीको धारा निर्माण गरिएको भए पनि १५ वर्षदेखि बीच बाटोमै पानीको मूलपाइपबाट २ सय बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी विकले बताइन् ।
–हरिश चन्द