उपभोक्ता समितिको विवादले करोडौंको खानेपानी योजना अवरुद्ध

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौंको खानेपानी योजना अलपत्र बनेको छ ।
पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण सुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको छ । कांग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिमा एमालेका तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुबहादुर विक उपाध्यक्ष रहेका थिए ।
तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आपूmहरूले पाउनुपर्ने दाबी गर्दै उक्त समितिलाई नस्वीकार्ने बतापछि विवादले चर्को रूप लिएको हो । उनीहरूले आमभेला नै नगरी उपभोक्ता समिति निर्माण गरिएको भन्दै विरोध गरेका हुन् । विरोधीहरूले अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् । यता उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलका प्रतिनिधिसहित दलित, अपांग र महिलाको सहभागिता समितिको निर्माण भएको दाबी गरेका छन् ।
नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ करोड रुपैयाँको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका सात सयभन्दा बढी घरधुरी र केही सार्वजनिक धारासमेत निर्माण गर्नेगरी योजना सुरु भएको हो । “उपभोक्ता समिति आमभेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही होइन ।” उनले भने, “नगरपालिकाले समेत सोही समितिलाई वैधानिकता दिएको छ ।” नगरपालिकाका प्रमुख पदमपाणि शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह गरेको छन् । “बेकारका माग राखेर काम रोक्नु हुन्न भन्नेमा हामी अडिग छौं ।” नगरप्रमुख शर्माले भने, “सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौं ।”
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले विवाद भइरहेकाले काम सुरु गर्न नसक्ने बताउँदै तत्काल विवाद समाधान गरेर काम सुरु गर्न ताकेता गरिरहेको छ । चालू आवमा खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत २४ करोड रुपैयाँको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भए पनि उपभोक्ता समितिमा विवादले नै आयोजना प्रभावित बनेको छ । नियमअनुसार स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आव्हान गर्न मिल्दैन । वडाभरिका नागरिकलाई खानेपानीको पहुँच पुराउन आयोजना सुरु हुन लाग्दा उपभोक्ता समिति निर्माणमा नै विवाद भएपछि स्थानीयवासी भने निरास बनेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार उपभोक्ता समितिबीचको विवादले आयोजना निर्माणकार्यमा ढिलाइ हुने बताए ।
–लक्ष्मीप्रसाद सापकोटा