अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औ स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवर्द्धन गरिनुपपर्नेमा सरकार दृढ रहेको बताएका हुन् । उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए ।
उनले साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे ।
कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए । कार्यक्रममा साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि आ आफ्नो स्थानबाट उत्कृष्ट योगदान पुर्याएका समाजसेवी, व्यवसायी तथा पत्रकारहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।