हस्तकलाले गर्‍यो बजेटको स्वागत «

हस्तकलाले गर्‍यो बजेटको स्वागत

नेपाल हस्तकला महासंघले आगामी वर्षको बजेटलाई स्वागत गरको छ । निजी क्षेत्रको मनोबल उच्च पार्ने र दिगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट लक्षित हुने कुरा सराहनीय रहेको उल्लेख गरेको छ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने युवालाई देशभित्र आर्थिक गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरणतर्फ बजेटले लिएको लक्ष्य सकारात्मक रहेको छ ।

सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर वृद्धि गर्न सरकारले जोड दिने कुरा सकारात्मक रहेको छ । आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने बजेटले लिएको नारा सान्दर्भिक रहेको छ । यो नारालाई सार्थक र सफलिभूत तुल्याउन स्थानीय स्रोत र साधनमा आधारित हस्तकला वस्तु उत्पादनसम्बन्धी सीप विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमअन्तर्गत स्वदेशी श्रम र कच्चा पदार्थमा आधारित अधिकतम मूल्य अभिवृद्धि हुने हस्तकलाका वस्तुको आन्तरिक खपत तथा बजार प्रवर्द्धनका लागि नेपाल सरकारले उक्त वस्तुहरू प्रयोग गर्ने व्यवस्था भएमा हस्तकला आन्तरिक बजार प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने भएकोले सोको प्रभावकारी कार्यान्वयन लागि सरकार समक्ष महासंघ आग्रह गर्दछ । नवप्रवर्तनको लागि एक अर्ब विनियोजन गर्नु निकै सराहनीय रहेको छ ।

नवप्रवर्तनभित्र हस्तकला क्षेत्रको लागि आवश्यक औजार, प्रविधि र कच्चा पदार्थसम्बन्धी अध्ययन र अनुसन्धान र उद्यमशीलता विकासका लागि पनि उक्त कोष परिचालन हुनुपर्नेमा महासंघको जोड छ । त्यसैगरी व्यवसाय सुरु गर्न स्टार्टअपलाई प्रोत्साहन गर्ने सरकारको नीति निकै सकारात्मक रहेको छ । यसबाट युवा पिढी आकर्षित भई उद्यमशीलता विकास र व्यवसाय विकासमा सघाउ पुग्ने महासंघले अपेक्षा गरेको छ ।

यद्यपि एकीकृत रूपमा एकै छानामुनिबाट सेवाग्राहीलाई, डिजाइन विकास गुणस्तर, प्रमाणीकरण, वस्तु विकाससम्बन्धी सेवा प्रवाहका लागि सार्वजनिक निजी नागरिक साझेदारी मोडलमा नेपाल सरकारको सहयोगमा यस महासंघद्वारा सञ्चालन गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको भवन बनेको झण्डै दुई वर्ष भइसक्दा पनि उक्त केन्द्र संचालनका सम्बन्धमा बजेट वक्तव्यमा केही उल्लेख नहुनु निकै दुःखको विषय रहेको महासंघले जनाएको छ ।

हस्तकला क्षेत्रको दिगो विकासका लागि हस्तकला ग्राम स्थापनाको लागि दशकौंदेखि महासंघबाट नेपाल सरकारसमक्ष पैरवी गर्दै आएको सम्बन्धमा पनि बजेट वक्तव्यमा केही उल्लेख नहुनु यस क्षेत्रको संस्थागत र दिगो विकासको कठिन हुने जनाएको छ । हस्तकला उद्योग व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्ति संलग्न रहेका छन् । वार्षिक रूपमा १२ अर्बको हाराहारीमा भारत चीनलगायत समुद्रपार मुलुकमा हस्तकला वस्तुको निर्यात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्