संकटग्रस्त क्षेत्रमा खाद्यान्न ढुवानी «

संकटग्रस्त क्षेत्रमा खाद्यान्न ढुवानी

उदयपुर-बाढीपहिरोका कारण सडक क्षति ग्रस्त हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा प्रदेश सरकारले बिहीबार हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ । तर, लिम्चुङबुङ गाउँपालिकामा हेलिकोप्टर अवतरण गर्न नसकेपछि त्यहाँका लागि लगिएको सामग्रीसमेत ताप्ली गाउँपालिकामा लगेर अवतरण गरिएको छ । प्रदेश नम्बर १ सरकारले विराटनगरबाट नेपाली सेनाको रसियन ‘एम सेभेन्टी नम्बरको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो । प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयअनुसार दुवै गाउँपालिकामा बिहीबारदेखि खाद्यान्न ढुवानी सुरु गरिएको हो ।
प्रदेश सरकारले दुवै ठाउँमा गरी ७ सय क्विन्टल चामल, ७० क्विन्टल दाल, ७० क्विन्टल नुन, ७ हजार लिटर खाने तेल उपलब्ध गराउने निर्णय गरेको छ । सामग्री ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था मिलाउन प्रदेशले संघीय सरकारको गृह मन्त्रालयलाई अनुरोध गरेपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो ।
चामल ८ हजार १० केजी, नुन ५ सय केजी, रहरको दाल १ हजार ९ सय ९५ केजी र खाने तेल ५ सय लिटर ढुवानी गरिएको छ । लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा अवतरण गर्ने र खाद्यान्न लैजाने व्यवस्था मिलाए पनि खराब मौसमका कारण लिम्चुङबुङका लागि लगिएको सामग्रीसमेत ताप्लीमा झार्नु परेको प्रदेश सांसद विमल कार्कीले जानकारी दिए । “विराटनगर विमानस्थलबाट १२ः३० बजे उडेको हेलीले पहिलो पटक लिम्चुङबुङ गाउँपालिकामा खाद्यान्न ढुवानी गर्ने तयारी थियो,” ताप्ली पुगेर फर्केका कार्कीले भने, “तर खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि ताप्ली गाउँपालिकाको रुपाटारमा अवतरण गर्नु प-यो ।” दोस्रोपटकको उडानमा समेत लिम्चुङबुङको मौसम नखुलेपछि ताप्लीमै सामग्री अवतरण गरिएको उनले बताए । खाद्यान्न लिएर प्रदेश सरकारको तर्फबाट उदयपुरका प्रदेश सांसद नारायण बुर्जा मगर, विमल कार्की, मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापा र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई गएका थिए ।
बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त बनाएपछि लिम्चुङबुङ गाउँपालिकाले संकटग्रस्त क्षेत्र घोषणा गरी खाद्यान्न संकट समाधानका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । त्यसैगरी ताप्ली गाउँपालिकाले पनि खाद्यान्न संकट टार्न माग गरेको थियो । हेलिकोप्टरले सामान ढुवानी गरेपछि दुई सातादेखि खाद्यान्न अभाव झेल्दै बसेका ताप्लीका सर्वसाधारणको भीड लागेको छ । हेली आउने चर्चापछि रूपाटारमा झण्डै १ हजारको संख्यामा खाद्यान्न लिन आउने र हेलिकोप्टर हेर्न आउनेको भीड लागेको गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्