वैदिक ज्ञान र व्यावसायिक उत्कृष्टता

व्यावसायिक उद्देश्य प्राप्तिका लागि गरिने हरेक प्रयासलाई व्यवसायले अनिवार्य मानवताको प्रतीकका रूपमा ग्रहण गर्नुपर्छ ।
लिन–सिक्स–सिग्मा कल्चरमा क्रस फङ्सनल टिमको सहभागितामूलक स्वअस्तित्वको मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यवसायीकरण गर्ने ग्यारेन्टी गर्छ ।
वैदिक ज्ञान हाम्रो रैथाने परम्परागत कौशलता र कार्य शैली हो । वैदिक ज्ञानले दिने कौशलता हाम्रो आगामी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्षम व्यावसायिक उत्कृष्टता प्राप्त गर्न अनिवार्यजस्तै बनिसकेको खबर नेपाली व्यवसायीहरूबीच एउटा नयाँ अश्चर्यको विषय बन्न सक्छ । संस्था वा निकायको संस्थागत स्मृतिमा रहेका उत्कृष्ट ज्ञान, विज्ञान र प्रविधिको सहयोगमा संसारमै आफ्नो लोभलाग्दो संस्थागत कुशलता स्थापित गरिरहेका अन्तर्राष्ट्रिय जगत्का हालका व्यावसायिक घरानाहरूका लागि यो खबर न त कुनै आश्चर्यको, न पुनः प्रमाणित गरिरहनुपर्ने विषय बनेको दशकौ भइसकेको छ ।
मानव सभ्यताको विकाससँगै मानिसले नियमित नयाँ–नयाँ कुशलताको प्राप्तिबाट विकास कार्य सुचारु गरी समयसापेक्ष व्यावसायिक उत्कृष्टता हासिल गर्दै आएको हो । या त स्व–संवेदनामा या निजी तथा सामाजिक इच्छाहरूको पूर्तिको माध्यमबाट आनन्द प्राप्त गर्न जरुरी हुने ज्ञान, वस्तु वा सेवाको उत्पादन र पूर्तिमा सहयोगी हुने सक्षम व्यवसाय पहिचान, छनोट र सञ्चालन गरी व्यावसायिक घरानाहरूले मानिस र समाजलाई उत्कृष्ट ज्ञान, वस्तु वा सेवा पूर्ति गर्ने गरेको वर्षौं भइसक्यो ।
हजारौँ वर्षदेखि आफ्ना व्यावसायिक कौशलताले तत्कालीन विकासशील इच्छाहरू पूरा गर्दै आजको अवस्थामा आइपुगेको हो— मानिस । आउने हजारौँ वर्षको लागि जरुरी हुने व्यावसायिक उत्कृष्टताको खोजी अभियानमा पनि मानिस सुचारु रूपमै लागिपरेको छ ।
कुनै पनि कार्यमा उत्कृष्टता पाउनु भनेको त्यस कार्यमा शिद्धता प्राप्ति हो । आफ्नो काम वा कर्मप्रति लगनशील र प्रतिबद्ध रहेर मानिसले उत्कृष्टता वा पूर्णता हासिल गर्न सक्छ भन्ने मान्यता निकै पुरानो हो । विज्ञानको सहयोगमा मानिस आफ्नो काम वा कर्मप्रति कसरी लगनशील र प्रतिबद्ध बन्न सक्छ भनी विभिन्न समयमा विभिन्न व्यावहारिक सिद्धान्त र मान्यताहरू विकास भएको छ । अध्यात्मिक ज्ञानमा उत्कृष्टता वा सिद्धता प्राप्तिलाई ईश्वरको प्राप्ति मानिएको छ । उदाहरणका लागि भागवत् गीताका अनुसार परमेश्वर प्राप्त गने सरल तरिका भनेको आफ्ना सबै काममा उत्कृष्टता ल्याउनु हो ।
विज्ञानले उपलब्धमध्ये उच्चतम सम्भावना बोकेको क्षमताको स्तरलाई उत्कृष्टता मान्ने गर्छ । स्व–धर्ममा रहनु र आत्म–आचारमा विचलन हुन नदिई व्यवसायको मूल्य र मान्यताको परिधिभित्र रहनुलाई गुणस्तरयुक्त समीकरण भनिन्छ । तत्कालीन परिस्थितिको व्यावहारिकतामा सम्भव हुने उच्चतम बिन्दुको गुणस्तरयुक्त समीकरणलाई उत्कृष्टता मान्ने गर्छ वैदिक मान्यता ।
रिग वेदका अनुसार उत्कृष्टताको प्राप्तिका लागि व्यवसायमा संलग्न व्यक्तिहरूबीच साझा दृष्टि, सार्वभौम भाइचारा, समुचित समृद्धिको नियत बोकेको व्यावसायिक तथा नैतिक नियमहरू अवलम्बन गरिनुपर्छ । व्यावसायिक उद्देश्य प्राप्तिका लागि गरिने हरेक प्रयासलाई व्यवसायले अनिवार्य मानवताको प्रतीकका रूपमा ग्रहण गर्नुपर्छ । व्यवसाय सञ्चालनबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पु-याउने कर्मचारी, ग्राहक, आपूर्तिकर्ता, सेयर धारक, छिमेक, समाज र अन्य सबै हितधारक पक्षको उचित र प्रासंगिक आवश्यकता र चासोहरूको सन्तोषजनक र सन्तुलित समाधान खोज्न सक्षम नीति अवलम्बन गर्नु जरुरी छ ।
उत्कृष्ट व्यवसायले आफ्नो मानव संसाधनको सम्भावित दक्षताको पूर्ण सदुपयोगमा सदैव ध्यान केन्द्रित गरेको हुन्छ । मानव संसाधनको सशक्तीकरण, सीप मानकीकरण, साझा मूल्य विकास, आपसी भाइचारा र विश्वासको प्रवद्र्धनको माध्यमबाट मानव संसाधनको दक्षताको अधिकतम सदुपयोग गर्न सकिने स्थिति रहन्छ । व्यवासायभित्र क्षमतावान्, मेहनती र कर्मनिष्ठ मानव संसाधनको उच्च कदर हुने तथा काम चोर प्रवृत्ति पूर्ण निरुत्साही हुने प्रणाली स्थापित हुनु जरुरी हुन्छ । गुणस्तरयुक्त समीकरण तथा दक्ष र नैतिक मानव संसाधनबिना व्यवासायबाट दूरगामी लाभ, आनन्द र समृद्धिको आशा गर्नु अचम्मलाग्दो अप्राकृतिक महŒवाकांक्षा हो ।
अनुसन्धानलाई विज्ञानले विभिन्न तहमा राखेर हेर्छ । एकेडेमिक वा सैद्धान्तिक खोज, जसमा आउने सम्भावित निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ हुँदैन । अर्को पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक खोज । सफलता प्राप्त गरेका सबै व्यावहारिक अनुसन्धानका नतिजा हाताहाती प्रतिफल दिने प्रकृतिका वा तत्काल व्यवसायीकरण गर्न सकिने अवस्थाका रहन्नन् ।
कतिपय अवस्थामा व्यावहारिक अनुसन्धानका नतिजा व्यवसायीकरण गर्न त सकिने तर इच्छाएको स्तर प्रतिफल दिने अवस्थाका भेटिन्नन् । नेपालमा एकेडेमिसियन र टेक्नोक्य्राटहरूले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनरसिप मोडलको लगभग १ हजार डलर मूल्य बराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई व्यवसायीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यवसायीकरणले लगानी उठाउँछ भन्ने निश्चितता दिँदैन । उक्त परिमाणको खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त विश्वमै व्यावहारिक छ ।
विज्ञानले बौद्धिक ज्ञानको प्रगाढ प्रभावमा विकसित गरेको को–क्रिएसन अथवा स्व–अस्तित्वको मोडलबाट १ हजार डलर मूल्यबराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई १ हजार डलर मूल्य हाराहारीकै लगानीमा व्यवसायीकरण गर्न सक्षम अवस्थाको सिर्जना गर्न सकेको छ । त्यसरी सक्षम बनेका संस्थालाई इनोभेटिभ कम्पनीका नाममा चिन्न सकिन्छ । विज्ञानले यो अवधारणालाई लिन–सिक्स–सिग्मा कल्चर भनी चित्रण गर्ने गर्छ, जुन उत्कृष्ट व्यावसायिक घरानाका लागि जरुरी हुने गुणस्तरयुक्त समीकरणका लागि बौद्धिक ज्ञानले सुझाएको व्यावहारिक निचोड नै हो ।
गुणस्तरयुक्त समीकरणमा सुझाएजस्तै लिन–सिक्स–सिग्मा कल्चरमा क्रस फङ्सनल टिमको सहभागितामूलक स्वअस्तित्वको मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यवसायीकरण गर्ने ग्यारेन्टी गर्छ । कुनै पनि प्रोसेसको नन–भ्यालु एडेड अथवा गुणस्तरीय सेवा वा उत्पादन दिने नियतमा कुनै महŒव नरहेको गतिविधि वा व्यक्तिलाई प्रोसेसबाट बिदा गर्ने प्रविधिलाई ‘लिन’ भनिने गर्छ । वस्तु वा सेवाको डिफेक्टिभ (कमसल) उत्पादन नै पैदा हुन नसक्ने गरी व्यवसायको गतिविधिलाई गुणस्तरीय डिजाइनबाटै नियन्त्रण गर्ने काइदा लाई ‘सिक्स–सिग्मा’ भनेको छ ।
एक अनुमानमा आज नेपालमा उत्कृष्ट पब्लिक–प्राइभेट पार्टनरसिप मोडल लागू गरी सञ्चालनमा रहिरहेको विश्वास गर्ने व्यावसायिक घरानाहरूको प्रत्येक १ मिलियन सञ्चालन खर्चमा कम्तीमा २ लाख नन–भ्यालु एडेड दायित्व वा जरुरी नै नरहेको गतिविधिमा खर्च रहिरहेको छ । भनिन्छ, सरकारी र अर्ध–सरकारी स्वमित्वको व्यवसायमा उक्त खर्च आधा मिलियनभन्दा माथि छ । व्यवसायलाई तथ्यमा आधारित रहेर आउँदो पुस्ताको आवश्यकता अन्दाज गर्न सक्षम बनाउने र नयाँ पुस्ताको मागले परिवर्तन गर्ने बजार मागकै परिधिमा आफ्नो सेवा र उत्पादनको परिवर्तनमा रहनुपर्ने हाम्रा व्यावसायिक घरानाहरू हालकै सञ्चालन खर्चमा रहेका नन–भ्यालु एडेड गतिविधि र प्रणालीले थपेको अनावश्यक दायित्वका कारण अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धामा खरो उत्रन सकिरहेका छैनन् ।
आफ्नो कारोबार सञ्चालनमा रहेका नन–भ्यालु एडेड दायित्वको पहिचान गरी त्यसबाट छुटकारा लिन र बदलिँदो बजार मागअनुसार आफ्ना व्यवसायका सेवा तथा उत्पादनलाई परिवर्तन गर्न सक्षम बनाउन हाम्रा ठूला व्यावसायिक घरानाहरूले संसारमै लोभलाग्दो संस्थागत कुशलता स्थापना गर्न सकिरहेका अन्तर्राष्ट्रिय व्यावसायिक घरानाहरूले जस्तै वैदिक ज्ञान र कौशलताबाट प्राप्त गर्न सकिने व्यावसायिक उत्कृष्टतातर्फ ध्यान पु-याउन सान्दर्भिक बनेको छ ।
(लेखक लिन–सिक्स–सिग्मामा मास्टर ब्ल्याक बेल्टको उपाधि हासिल गरेका क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन् ।)