भाषा सिकाउन जापानमै तालिम लिएको हुनुपर्ने «

भाषा सिकाउन जापानमै तालिम लिएको हुनुपर्ने

जापान जाने कामदारलाई भाषा पढाउने प्रशिक्षकका लागि अब जापान गएरै भाषा प्रशिक्षणसम्बन्धी तालिम अनिवार्य गरिएको छ । जापान सरकारले नेपाल लगायतका अन्य राष्ट्रबाट रोजगारीका लागि माग गर्ने विशेष दक्ष कामदार (स्पेसिफाइड स्कील वर्कर) को भाषा प्रशिक्षणका लागि प्रशिक्षकको यस्तो मापदण्ड तोकेको हो ।
नेपालबाट समेत जापान जाने कामदारको भाषा प्रशिक्षणका लागि आवश्यक पर्ने शिक्षक माग गरेसँगै नेपाली युवा रोजगारीका लागि जापान जाने सुनिश्चित भएको छ । यससँगै अब जापानी भाषा प्रशिक्षणमा त्यहाँको सरकारले तालिम दिएर प्रमाणपत्र लिएका नेपालीले मात्र भाषा पढाउन पाउने छन् ।
जापानले ‘स्पेसिफाइड स्कील्ड वर्कर’ को लागि जापानी भाषा पद्धतिअनुरूप कार्यक्रम सञ्चालन गर्ने शिक्षकका लागि आवेदन निर्देशन सार्वजानिक गर्दै आवेदन दिनसमेत अनुरोध गरेको छ । जापानले भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रमअन्तर्गत तोकिएका देशबाट कम्तीमा २ भन्दा बढीले आवेदन दिन सक्ने जनाइएको छ । प्रशिक्षण कार्यक्रम सन् २०१९ र २०२० मा तीनपटक सञ्चालन हुने जनाइएको छ । पहिलो चरणको भाषा शिक्षक प्रशिक्षण कार्यक्रम सन २०१९ नोभेम्बर १९ देखि डिसेम्बर १८ सम्म एक महिनाको हुने जनाइएको छ । यसैगरी दोस्रो चरणको भाषा प्रशिक्षक प्रशिषण कार्यक्रम २०२० जनवरी ७ देखी फेब्रुवरी ६ तारिकसम्म संचालन हुने जापानी फाउन्डेसनले जारी गरेको सूचनामा जनाइएको छ ।
फाउन्डेसनले जारी गरेको सूचनामा यो भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि नेपाल सहित ९ देशका लागू हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रम जापानको साईतामाको उरावामा रहेको जापानी भाषा संस्थामा दिईने जनाईएको छ । कार्यक्रममा जापानीज भाषको शिक्षण पद्धतिको परिचय, संगठन र ज्ञान अभिवृद्धि गरी जापान जाने नेपालीलाई दक्ष बनाउनु रहेको छ । परिक्षणपछि प्रशिक्षकले जापानको अवस्था, कार्य वातावरण, सामाजिक जीवनशैली तथा संस्कृतिबारे जानकारी दिनुपर्ने छ । श्रमिक स्रोत मलुकबाट पहिलो चरणमा ४० जनालाई प्रशिक्षणमा लैजाने जनाइएको छ । यसरी पहिलो चरणमा चीन, मंगोलिया, इन्डोनेसिया, कम्बोडिया, थाइल्यान्ड, फिलिपिन्स भियतनाम, म्यानमार र नेपालका नागरिकलाई प्रशिक्षण दिने कार्यक्रम छन् । भाषा प्रशिक्षण कार्यक्रम जान इच्छुक नेपाली आधारभूत जापानी भाषा र कार्य अनुभव रहेको हुनुपर्ने छ । यसरी नै दोस्रो चरणमा मंगोलिया, फिलिपिन्स, भियतनाम र म्यानमार रहेका छन् । तेस्रो चरणमा इन्डोनेसिया, कम्बोडिया, थाईल्यान्ड र नेपाल रहेका छन् । चीनबाहेक अन्य सबै देशबाट २ पटक प्रशिक्षण कार्यक्रममा भाग लिन पाउने अवसर प्रदान गरिएको छ । तर, कुन देशबाट कति जनालाई प्रशिक्षणमा सहभागी गराउने भन्नेबारे तोकिएको छैन ।
प्रशिक्षण कार्यक्रम सहभागी नेपाली २०१९ अप्रिल १ सम्म ५५ वर्षभन्दा कम उमेर भएको हुनुपर्ने छ । भाषा तालिममा भाग लिने नेपालीले जापानबाट फर्केर कम्तिमा यहाँको शैक्षिक संस्थामा एक वर्ष पढाएको हुनुपर्ने छ । पहिलो चरणमा भाषा परीक्षमा भाग लिने व्याक्तिको कम्तीमा ३ वर्ष भाषा प्रशिषण अनुभवसहित जापानमा एक वर्ष काम वा बसेको हुनुपर्ने छ । यसैगरी, दोस्रो र तेस्रो चरणको तालिममा भाग लिने उम्मेदवारको हकमा एक वर्ष शिक्षण अनुभव हुनुपर्ने उल्लेख छ । यसैगरी भाषा प्रशिक्षण कार्यक्रमका भाग लिने व्यक्तिले लेवल एन ३ (जेएलपीटी), लेबल ३ वा पुरानो जेएलपीटी वा सोसरह भाषा ज्ञान हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्