भुटानी शरणार्थीको परिचयपत्र नवीकरण हुन सकेन «
Logo

भुटानी शरणार्थीको परिचयपत्र नवीकरण हुन सकेन

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा वास्तविक भुटानी शरणार्थीले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार विज्ञप्ति जारी गरेर यो प्रकरणले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई बल पुगेको उल्लेख छ । जसका कारण वास्तविक भुटानी शरणार्थीलाई गम्भीर असर पुरर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका ६,५०० भुटानी शरणार्थी र सक्कली तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराइएको छ । जसमा शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको उल्लेख छ ।

“नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकाले सक्कली भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैरभुटानीलाई भुटानी र वास्तविक भुटानीलाई गैर भुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ । भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्