आगामी बजेट उत्पादनमुखी बनाउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गरेका छन् ।
शुक्रबार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गरेका हुन् । उनले आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिनुपर्ने बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग रहेको बताए ।
उनले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गरे । उनले विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भिर आर्थिक शिथिलता उत्पन्न भएको बताए ।
उनले कर बढाउने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको बताए । उनले लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिन आग्रह गरे । उनले भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै भन्सार प्रयोजनका लागि सन्र्दभ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याव राख्न समेत माग गरे ।