स्थानीय सरकार सहकारी अनुगमनमा

सहकारीहरूबाट ठगिएको गुनासोपछि झापाका स्थानीय सरकार सहकारीको अनुगमनतर्फ लागेका छन् । दमक नगरपालिकाले केही समय अघि नगरका विभिन्न सहकारी संस्थाको अनुगमन गरेको थियो । उपप्रमुख रेगीना भट्टराई तथा अन्य जनप्रतिनिधिको टोलीले सम्वन्धित संस्थामानै पुगेर कारोबार तथा सहकारीको अवस्था बारेमा जानकारी लिएका छन् ।
नगरपालिका कार्यक्षेत्र रहेका ८२ वटा सहकारी संस्था मध्ये केही सहकारीको अनुगमन गरिएको हो । त्यस्ता संस्थालाई कानून तथा नियमानुसार सञ्चालन गर्न र रहेका समस्याको पहिचानका लागि अनुगमन गरिएको नगरपालिकाका सहकारी शाखा प्रमुख ईच्छाराम चम्लागाँईले बताए । एकै पटक दण्डित गर्ने भन्दा पनि सुधारका लागि सुझाव दिने र समस्या रहेको पाईए सहजीकरणसमेत गर्ने उद्देश्यले अनुगमन गरिएको उनले बताए ।
दमकसँगैको कमल गाउँपालिकाले पनि सहकारी अनुगमनलाई तीव्र बनाएको छ । गाउँपालिकामा रहेका ३२ वटा सहकारी मध्ये आधा भन्दा बढीको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले जानकारी दिइन् । गाउँपालिकामा रहेका सबै सहकारी संस्थाको स्थलगत अनुगमन गरी संस्थालाई चुस्त र पारदर्शी रूपमा सञ्चालनका लागि प्रेरित गरिने उनको भनाइ छ ।
हालसम्म अनुगमन गरिएका सहकारी संस्थामा अधिकांसमा समान प्रकृतिको समस्या देखिएको गाउँपालिका सहकारी शाखा प्रमुख भरतचन्द्र तिवारीले बताए । केहीको अवस्था सन्तोषजनक पाइए पनि समस्या देखिएका र सुधार गर्नु पर्ने संस्थालाई सुझाव दिएको उनले बताए । अनुगमन गरिएका सहकारी संस्था मध्ये दमक नगरपालिका तथा कमल गाउँपालिकाका संस्थामा समान प्रकारका समस्या देखिएका छन् ।
निर्णय र सीमा बिनानै कर्जा ऋण प्रवाह गर्ने, धिताको मुल्यांकन चलन चल्ति भन्दा बढी गर्ने, तमसुकमा समेत ब्याजदर तथा तयार पार्ने कर्मचारीको विवरण उल्लेख नगर्ने जस्ता समस्या रहेको दमक नगरपालिका सहकारी शाखा प्रमुख चम्लागाँईले बताए । कमल गाउँपालिकामा पनि दमकको जस्तै अवस्था रहेको छ । उद्देश्य भन्दा भिन्न क्षेत्रमा लगानी गर्ने, विनियमको पालना नगर्ने, कतिपय संस्थामा समिति,उपसमितिका बैठक नियमित सञ्चालन नहुने पाइएको छ ।
त्यस्तै केही संस्थामा श्रोत नखुलेको रकम जम्मा भएको, ऋण र वचतको व्याजदर अन्तर ६ प्रतिशत भन्दा माथि रहेको, सञ्चालक–कर्मचारी तथा परिवारमा अधिक ऋण लगानी गरेको, केहीले आवश्यकता र क्षमता भन्दा बढी भौतिक पूर्वाधारमा लगानी गरेको पाइएको गाउँपालिका उपाध्यक्ष तिवारीले जानकारी दिइन् ।
सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि सदस्यहरुलाईनै बढी क्रियाशिल र जागरुक बनाउनु पर्ने अधिकांशले जोड दिएका छन् । संस्थाको निर्णयबारे सदस्यलाई जानकारी दिने, अधिवेशन तथा निर्वाचनमा सवै सदस्यको सहभागीतालाई प्रोत्साहित गर्ने, लेखा सुपरीवेक्षण समितिको क्षमता विकास गरि क्रियाशिल बनाएमा धेरै समस्याको समाधान हुने दमक नगरपालिका सहकारी शाखा प्रमुख चम्लागाँई बताउँछन् ।
त्यस्तै झापा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने सहकारी अभियानमा देखिएका समस्याका कारण आफूहरु गम्भीर बनेको बताउँछन् । तर केही व्यक्तिको गलत क्रियाकलापलाई लिएर अभियानलाई दोष लगाउनु भन्दा पनि सवै संस्थालाई सदस्य प्रति उत्तरदायी भएर कारोवार गर्न संघले आग्रह गरेको छ ।