कारागारको उत्पादनले बजार पाएन

लमजुङ-हिमाली जिल्ला मनाङको जिल्ला कारागारभित्र रहेका कैदी बन्दीहरूले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा कैदी बन्दीहरू निराश बनेका छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका थुनुवाहरूले आफ्नो सीप अनुसारको व्यवसाय गरे पनि उत्पादनले बजार नपाएपछि निराश बनेका हुन् । कारागारभित्र रहेका अधिकांश थुनवाहरूले बाँसको मुढा बनाउने, सल्लाको काठबाट डाडु पन्यु बनाउने र धागोबाट घोडा तथा खच्चडलाई प्रयोग गरीने डोरी बनाउने गरेका छन् । कारागार भित्र उत्पादन भएका सामग्रीहरू बलियो भएपनि बजार बजारमा पाइने रेडिमेड सस्ता सामग्रीले उनीहरूको सामग्री बिक्री हुन समस्या भएको हो ।
बजारमा सोही प्रकृतिका सामग्री निकै सस्तो पाउने भएपछि कारागार भित्रका सामग्री बिक्री हुन छोडेको मनाङ कारागारका बन्दी नाइके निमा लामाले बताए । कारागारमा उत्पादन भएका सामान महँगो हुन्छ भनेर नबिकेको नाइके लामाको भनाइ छ । “सामग्री बनायो, बिक्री नै हुँदैन” लामाले भने, “यहाँ बन्ने सामग्री सबै बजारमा सस्तो पाउनेभएपछि कारागार भित्रको सामग्री बिक्री हुनै छोडेको हो ।”
कारागारभित्र उत्पादन हुने सामग्रीको कच्चा पदार्थ लमजुङको बेसीसहरदेखि लैजानुपर्ने हुँदा ढुवानी महँगो भएको र बिक्री गर्दा सामग्रीको मूल्य पनि महँगो हुने गरेको उनीहरूको भनाइ छ । त्यसो त पहिले–पहिले मनाङसम्म सवारी नपुग्दासम्म कारागारभित्रका उत्पादन मज्जाले बिक्री हुने गरेका थिए । तर, पछिल्लो समय सवारी पुगेसँगै अधिकांश सामग्री ढुवानी हुन थालेपछि बाहिरको समान सस्तो पाउन थालिएको हो ।
जेलमा सीप भएकाहरूले आफ्नो सीप अनुसारको काम गर्दै आएकाछन् भने सीप नभएकाहरूले त्यही रहँदा बस्दा पनि काम सिकेका हुन् । फुर्सदको सयमा काम गरेर केही सामग्री बनाए पनि बिक्री नहुने भएपछि समय र श्रम खेर गएका अर्का बन्दी सुमनले बताए ।
“दुःख गरेर सामग्री बनायो, बिक्रीनै हुँदैन,” लामाले भने, “कोही व्यक्ति सामग्री किन्न आए पनि महँगो भयो भनेर फर्किन्छन्, सस्तोमा दिँदा लगानी पनि उठ्दैन ।” कैदी थुनुवाहरूको सीप सिकाइका लागि कारागारले बिभिन्न सीपमूलक तालिमहरू पनि आयोजना गर्दै आएको छ । पर्याप्त बजेट, स्रोत साधन नहुँदा सीपमूलक तालिमलाई अझै प्रभावकारी बनाउन नसकिएको कारागारले जनाएको छ । सोसँगै बजार व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको कारागार प्रमुख शैलेन्द्रकुमार चौधरीले बताए ।
“कैदी बन्दीहरूले सामान त बनाउँछन्, तर बिक्री हुँदैन,” चौधरीले भने, “बजार व्यवस्थापन गर्न नसक्दा उनीहरूको मेहनत खेर गएजस्तै भएको छ ।” कारागारमा अहिले सात जना कैदीबन्दीले हाते सीप प्रयोग गरेर सामान उत्पादन गर्दै आएका छन । मनाङ कारागारमा अत्याधिक बिक्री हुने घोडा वा खच्चडलाई प्रयोग गरीने डोरी पनि बिक्री हुन छोडेको छ । पछिल्लो समय सवारी पुगेसँगै घोडा तथा खच्चड पाल्न छोडेपछि त्यस्ता सामग्री बिक्री हुन छोडेको कारागारका कैदीबन्दीले बताएका छन् ।
कारागारभित्र बनेका मुढाको मूल्य १ हजार रुपैयाँदेखि माथि पर्छ भने, घोडा या खच्चडलाई प्रयोग गरिने डोरी १५ देखि माथि पर्ने कैदीबन्दीहरूले बताए । यस्तै कैदीबन्दीहरूले सल्लाको काठबाट आकर्षक डाडु पन्यु पनि बनाउदै आएका छन् । पछिल्लो समय सामग्री बिक्री हुन छोडेपछि मागअनुसार मात्र बनाउने गरेको कारागारले जनाएको छ ।
कारागारभित्र उत्पादन भएको सामानलाई बजारसम्म पु¥याउने माध्यम नहुँदा पनि कैदीले उत्पादन गरेका सामानको बजारीकरण हुन नसकेको उनीहरूको गुनासो छ । अहिले कारागारमा उत्पादन गरिएका मुढा, डोरी, डाडु पन्युलगायतका सामग्री थन्किएका छन् । उत्पादित सामान बजारसम्म पु-याउने व्यवस्था भयो भने आफूहरूको सीप र परिश्रमको फल आउने उनीहरूको अपेक्षा छ ।
सन्देश पौडेल