Logo

भ्रष्टाचारविरुद्ध प्रदर्शन

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेको हो । नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् । उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा आएको बताइन् । उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन् ।

यस्तै प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए । उनले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे । सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरु खोल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्