छ सय मुक्तकमैया अझै पुनःस्थापना गर्न बाँकी

धनगढी- सुदूरपश्चिम र ५ नं. प्रदेशको पा“च जिल्लामा अझै साढे ६ सय परिवार मुक्तकमैया पुनःस्थापना गर्न बा“की छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा सबै मुक्तकमैया र हलियाको पुनःस्थापना गरिसक्ने लक्ष्य लिए पनि पुनःस्थापनाको काम सकिएको छैन । सबैभन्दा बढी कैलालीमा तीन सय ८०, बा“केमा एक सय ५०, दाङ र बर्दियामा ५०÷५० र कञ्चनपुरमा १७ गरी छ सय ४७ परिवार मुक्तकमैया पुनःस्थापना गर्न बाँकी छ ।
मुक्तकमैया पुनःस्थापना गर्ने जिम्मा पाएको भूमि सुधार कार्यालयका अनुसार कैलालीमा रहेका जम्मा आठ हजार नौ सय १० मुक्तकमैया मध्ये आठ हजार पाँच सय ३० परिवारलाई पुनःस्थापना गरिसकिएको छ । सबैभन्दा बढी ११ हजार पाँच सय ५१ परिवार मुक्तकमैया रहेको बर्दियामा ११ हजार पाँच सय एक परिवारलाई पुनःस्थापना गरिसकिएको छ ।
दाङमा छ सय ५५, बाँकेमा एक हजार सात सय ७१ र कञ्चनपुरमा चार हजार चार सय एक मुक्तकमैया परिवारलाई पुनःस्थापना गरिएको छ । पाँचवटै जिल्लामा २७ हजार पाँच सय पाँच परिवार मुक्तकमैया मध्ये २६ आठ सय ५८ परिवारको पुनःस्थापना गरिएको छ । पुनःस्थापनाका लागि प्रति मुक्तकमैयालाई जमिन किन्न २ लाख रुपैयाँमा दिने सरकारी कार्यक्रमको विरोधमा मुक्तकमैयाहरू लागेपछि गत आर्थिक वर्षमा मुक्तकमैया पुनःस्थापनाको कामले गति लिन नसकेको हो । सरकारले जमिन किन्न अनुदान लिने मुक्तकमैयालाई घर निर्माण अनुदानवापत ५५ हजार र काठको सट्टा अनुदान रकमवापत एक लाख रुपैयाँ दिने कार्यक्रम ल्याएको थियो । तर मुक्तकमैयाका अधिकारका लागि काम गर्ने संघसंस्थाले कैलालीमा अझै ४ सय ९२ परिवारलाई पुनःस्थापना गर्न र एक हजार एक सय ८७ परिवारलाई सट्टा भर्नाबाट पुनःस्थापना दिन बाँकी रहेको जनाएका छन् । उनीहरूले एक हजार तीन सय ३८ परिवालरले घर बनाउन काठवापतको रकम पाउन बाँकी रहेको जनाएका छन् ।
सरकारले २०५७ साउन २ गते कमैयामुक्त भएको घोषणा गरेको थियो । कैलालीका मुक्तकमैयाले बिहीबार विभिन्न कार्यक्रम गरी १९औं मुक्तकमैया दिवस मनाएका छन् ।