आर्थिक मन्दीले पलायन हुँदै व्यापारी

रज्जवअलि मनिहार जुम्लाका एक सफल व्यवसायी हुन् । २०३८ सालतिर जुम्लामा घडी रेडियो बनाउँदै व्यवसायमा होमिएका मनिहारले २०४२ सालदेखि औपचारिक रुपमा व्यवसाय थालेका थिए । सफल व्यवसायीकै परिचय स्थापित गरेकै कारण जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षसमेत भए । वितेको चार दशकमा उनलाई व्यापार राम्रो आम्दानी दियो । दैनिक उपभोग्य सामानको डिलर सञ्चालन गरेर जिल्लाभर सेवा दिइरहेका मनिहारले पैसासँगै मान्छे पनि कमाए ।
व्यापारबाटै मान प्रतिष्ठान बनाइसकेका मनिहार पछिल्लो समय व्यापार संकटमा परेपछि पलायन हुनुपर्ने अवस्था आएको बताउँछन् । विगत चार दशकको व्यापार यात्रा अहिलेको जस्तो नाजुक स्थितिको सामना गर्नु परेन् । उनी भन्छन्, “व्यापार दिनप्रतिदिन नाजुक बन्दै छ । पहिला ८/९ प्रतिशत भनेर लिएको ऋण अहिले बैंकले १४/१६ प्रतिशत ब्याज पुर्याएको छ । कमाई छैन । २/३ महिना नबित्दै फोन आउने घरमै आएर ताकेता दिने गरिरहेका छन् । केही महिना यस्तै अवस्थाले निरन्तरता पाए पलायन हुनुको विकल्प छैन ।”
कोरोनाले थलिएको व्यवसाय भर्खर उठ्न थालेको थियो । मुलुकमा निम्तिएको आर्थिक संकटले बजारमा पैसाको अभाव चुलिँदै गएपछि त्यसको प्रत्यक्ष प्रभाव व्यवसायलाई परेको मनिहारले उल्लेख गरे । उनका अुसार दैनिक मुस्किलले ३० प्रतिशत मात्रै व्यापार हुन्छ । ७० प्रतिशत व्यापार घाटामा छ । दैनिक उपभोग्य सामानको बिक्री फाटफुट भइरहेको छ । त्यस्तै जुम्लाकै अर्का सफल व्यवसायी मिनप्रसाद पौडेल जुम्लाको ४० प्रतिशत व्यापार घटेको बताउँछन् ।
मुलुकको भएको आर्थिक मन्दीले व्यवसाय क्षेत्र धरासयी भएको छ । “हामीसँग बस्तु छ । तर उपभोक्ता पैसा छैन” उनले भने, “व्यापारीले ऋण गरेर पनि वस्तु ल्याइरहेकै छ । तर उपभोक्तासँग पैसा नहुँदा व्यापार ठप्प छ । जबसम्म उपभोक्ताको खल्तीमा पैसा हुन्न । तबसम्म बजारको काम छैन । सरकारी बजेट उत्पादनमुखी नहुँदाको परिणाम पनि हो अहिलेको आर्थिकमन्दी पछिको संकट ।” व्यापार ४० प्रतिशतले घट्दा नाफा ६० प्रतिशतले गिरावट छ । पहिला २ गाडी दैनिक सामान ढुवानी गर्दै आएकोमा हाल एउटा गाडी मात्रै सामान आउँछ त्यो महिना बिक्न मुस्किल छ ।
अत्याआश्यक बाहेक विलासीताको सामान ढुवानीमा रोक लगाउँदा पनि व्यापार सन्तोषजनक नहेको पौडेलको भनाइ छ । मिन प्रसाद र रज्जव अलि मनिहार व्यापारीका प्रतिनिधि पात्र मात्र हुन् । मुलुकमा बढ्दै गएको आर्थिक मन्दीका कारण कर्णालीका सयौ व्यापारी पलायन हुनुपर्ने स्थितिमा पुगेका छन् । महिनाभरीको कमाईले बैंकको किस्ता तिर्न समेत मुस्किल भएको व्यापारीहरु बताउँछन् । कर्णालीका अधिकांश साना ठूला व्यापारीले बैंकको ब्याज बुझाउन खाडी मुलुक जानेकी कालापहाड जाने भन्ने विषयमा सोच्न समेत थालेका छन् ।
आर्थिक संकटको मारमा व्यापारी
मुलुकमा बढ्दो आर्थिक संकटको मारमा व्यापारी परेका छन् । बढी पुँजी लगानी भएको सहरी क्षेत्र भन्दा कर्णाली जस्तो दुर्गम भेगका व्यापारीलाई आर्थिक मन्दीले मारमा पारेको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जुम्लाका अधिकांश व्यापारी बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उद्योग वाणिज्य संघ जुम्लामा दर्ता भएका १८ सय व्यवसायमध्ये ५ सय ६५ वटा व्यवसायबाहेक अन्य नविरकण हुन सकेका छैनन् ।
उनले भने, “बैंकबाट ऋण प्रवाह छैन । व्यापार गतिलो नहुँदा धेरै व्यवसाय नविकरण समेत भएनन् । मुलुकभरकै व्यापार व्यवसाय संकटमा परेको छ । यस अवस्थामा जिल्लाले केही गर्न सक्ने अवस्था छैन । सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन ।” अनुदान लिनकै लागि मात्र उद्योग दर्ता गर्ने र अनुदान सकिएसँगै उद्योगमा खिया लाग्ने प्रवृत्तिले राज्यको लगानी बालुवामा पानी बनेको छ । बजारमा दैनिक उपभोग्य पसलबाहेक अन्य व्यवसाय बढी संकटमा छन् । आर्थिक संकटको कारण देखाउँदै बजारमा महंगी पनि उत्तिकै बढेको छ ।
जसका कारण उपभोक्ता मारमा छन् । उद्योग वाणिज्य संघले बजारका व्यापार व्यवसायीको समस्या बुझ्न तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन थालिने अध्यक्ष देवकोटाले बताए । भौगोलिक रुपमा विकट भएपनि कर्णाली सम्भवनाले भरिपूर्ण प्रदेश हो । यहाँका स्थानीय र प्रदेश सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएमा आर्थिक संकटमा व्यवसायी पलायन हुनुपर्ने स्थिति नआउने नागरिक अगुवा राजबहादुर महत बताउँछन् ।