दगाममा उत्पादित मह विदेश निर्यात

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादन गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापा मगरले जानकारी दिए ।
उनका अनुसार ती देशहरुमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँमा मह बिक्री हुने गरेको थापा बताउँछन् । “पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै तीन हजार किलोसम्म बिक्री भइराखेको छ,” उनले भने, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।” विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उनको भनाइ छ ।
समूहमा ४१ घरधुरीका कृषक आवद्ध छन् । सबै घरधुरीले मौरीपालन गरिरहेका छन् । यहाँ हरेक किसानले दुई घारदेखि ५५ घारसम्म मौरीपालन गरिएको छ । “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्,” उनले भने, “मौरीपालनबाट कृषक सन्तुष्ट छन् ।” कृषकले सिजनमा प्रति मौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ । “बढीमा प्रति घार ३० किलोसम्म पनि बिक्री हुँदै आएको छ,” उनले भने ।
कृषक समूहमा उत्पादित मह आफूहरुले संकलन गरेर काठमाडौका व्यापारीमार्फत् विदेश पठाउने गरेको थापा बताउँछन् । नेपालमा भने प्रति किलो एक हजार पाँच सय रुपैयाँमा मह बिक्री हुँदै आएको छ । उनका अनुसार यहाँ उत्पादित मह स्वदेशमै बिक्री वितरण गर्नुपर्छ भन्ने माग पनि आउन थालेको छ । दगाममा सिंचाईको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ ।
एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाईमा अवस्थित यस ठाउँमा सिंचाई अभाव भएपछि तरकारी खेती भन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनको भनाइ छ । उनल भने, “चारैतिर खुलेको डाँडा र जंगल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ ।” तर पछिल्लो समय वनमा लाग्ने डढेलो र प्रदूषणका कारण मह उत्पादनमा कमी आउन थालेको कृषकको गुनासो छ ।
“मह उत्पादनका लागि सफा र स्वच्छ वातावरण चाहिन्छ, तर केही समययता डढेलोको प्रकोप बढेका कारण मह उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित छन्,” समूहका अध्यक्ष कमला थापाले भनिन् । उनका अनुसार वातावरणमा भर पर्नुपर्दा कहिलेकाँही माग अनुसारको मह उत्पादन गर्न गाह्रो भइरहेको छ । कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकको रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ ।
एक हजार एक सय ३४ मिटर उचाईमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए । शुक्लागण्डकी नगरपालिका–१ र २ मा मौरीपालन कृषकको संख्या दुई सय २० छन् । सबै कृषकले मौरीपालेर मह उत्पादन गर्दै आएका छन् ।