Logo

चार प्रतिशत खोपकाे लक्ष्य अधुरै

हरेक वर्ष ‘बृहत खोज र खोप’ अभियान चल्छ । अभियानअन्तर्गत हरेक वर्ष एक पटक माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण पनि हुन्छ । प्रत्येक वर्ष वैशाखमा वडा, पालिका र जिल्लास्तरमा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण गरिन्छ । खोप सेवाको दिगोपनाका लागि सरोकारवालाको संलग्नता र स्वामित्वमा योजना निर्माण हुन्छ । तर पनि नेपालमा चार प्रतिशत बालबालिकाले खोप सेवा पाउन सकेका छैनन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)ले चार प्रतिशत बालबालिकाले खोजको कुनै पनि डोज प्राप्त गर्न नसकेको जनाएको छ । हरेक पाँच वर्षमा गरिने यो सर्वेक्षणका अनुसार २०१६ मा सर्वेक्षण गर्दा यो दर एक प्रतिशतमा झरेको थियो भने २००६ र २०११ मा ३/३ प्रतिशत थियो भने १९९६ मा २० प्रतिशत रहेको यो दर २००१ मा यो दर एक प्रतिशत नै थियो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको संख्या २४ लाख ३९ हजार २८३ जना छ । सुदूरपश्चिममा सो उमेर समूहका बालबालिकाको संख्या दुई लाख ३९ हजार १३९ छ । जनगणनाको समयमै गरिएको एनडिएचएसले सुदूरपश्चिमका १.५ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाउन नपाएको जनाएको छ ।

प्रदेशमा २०१६ को एनडिएचएसले कुनै पनि खोप नपाउने बालबालिकाको अनुपात ०.७ रहेको जनाएको थियो । यस प्रदेशमा प्रदेशका सहरी क्षेत्रमा बस्ने २.२ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन सकेका छैनन् भने खोपको कुनै पनि डोज प्राप्त नगर्ने बालबालिकाको प्रतिशत ग्रामीण क्षेत्रमा शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

तर, प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले सुदूरपश्चिम प्रदेशमा पूर्णखोप प्राप्त गर्ने बालबालिका ९० प्रतिशत रहेको जनाएको छ । निर्देशनालयले ०७७/७८ मा ७९, ०७८/७९ मा ९० र ०७९/८० को वैशाख ९ गतेसम्म ४८ प्रतिशत बालबालिकाले पूर्णखोप पाएको जनाएको छ । प्रदेशमा सबै प्रकारका खोप लगाउने प्रतिशत वृद्धि भएको सर्वेक्षणले जनाएको छ । २०१६ मा प्रदेशमा पूर्ण खोप लगाउने ८३.४ प्रतिशत रहेकोमा २०२२ मा यो अनुपात ८८.८ प्रतिशत छ ।

प्रदेशमा खोप लगाउँदा लगाउँदै पूरा जोड खोप लगाउन नपाउने बालबालिकाको संख्या पनि उल्लेख्य छ । डिपिटि हेप बी हिब १–३ को पूर्णखोप लगाउन छुटेका बालबालिका ०७७/७८ मा ०.२४ प्रतिशत र ०७९/८० को वैशाख ९ गतेसम्म ५.१ प्रतिशत छन् । ०७८/७९ मा लक्ष्यभन्दा १.४ प्रतिशत बढी बालबालिकाले सो खोपको पूर्णडोज लगाएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।

उनले दादुरा रुबेलाको तीनवटै जोड लगाउन छुटेका बालबालिका ०७७/७८ मा ३.६ र ०७८/७९ मा ८.६ प्रतिशत रहेकोमा ०७९/८० मा हालसम्म ७.१ प्रतिशत बढि बालबालिकाले सो खोपको पूर्णडोज लगाइसकेको बताए । त्यसैगरी, डिपिटि, हेब बी हिब र दादुरा रुवेलाको पूर्णडोज लगाउन छुटेका बालबालिका ०७७/७८ मा १० र ०७८/७९ मा ८ प्रतिशत थिए भने चालू आर्थिक वर्षको वैशाख ९ गतेसम्म ३ प्रतिशत बढिले पूर्ण डोज लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. जोशीले बालबालिका के कारणले खोप कार्यक्रममा सहभागी भइरहेका छैनन् भन्ने कुरा पत्ता लगाउनै नसकिएको बताए । उनले हरेक वर्ष गाउँगाउँमा ‘खोज र खोप’ अभियान चलेको भए पनि ती बालबालिका खोप लगाउनबाट छुटिरहेको बताए । उनले खोप कार्यक्रममा सहभागी बालबालिका खोप लगाउँदा लगाउँदै छोड्नुको पछाडि बसाइँसराइ मुख्य कारण रहेको बताए ।

खोप लगाउँदा लगाउँदै अर्को ठाउँ सर्ने र रोजगारीका लागि अभिभावक भारत जाँदासगै लैजाने, अर्को प्रदेशमा बसाइँ सर्ने लगायतका कारणले खोप लगाउँदै खोप छोडिरहेको देखिन्छ । केहीले खोप लगाएको कारण ज्वरो आएको वा स्वास्थ्यमा अन्य समस्या आएको कारण देखाउँदै खोप छोडेको पनि भेटिएको उनले बताए । नेपाल सरकारले स्वास्थ्य संस्थाबाट १३ प्रकारका खोपहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यस वर्षको वैशाख ११ देखि १७ गतेसम्म देश व्यापीरूपमा खोप सप्ताह सुरु भएको छ । ‘खोज र खोप’ अभियानअन्तर्गत यही वैशाख १५ र ३१ गते खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने निर्देशक डा. जोशीले बताए । उनले प्रदेशको केही जिल्लामा सन्तोषजनक नरहेको निर्देशनालयले जनाएको छ । उनले बाजुरा र डोटीमा तीन आर्थिक वर्षमा खोप लगाउने बालबालिकाको संख्यामा कमी आइरहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्