८४ % लाभग्राहीले पहिलो किस्ता बुझे

भूकम्पबाट घर क्षति भएकामध्ये तनहुँमा ८४ प्रतिशत लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् । माघ १८ गतेसम्म निजी आवास पुनर्निर्माणका लागि १२ हजार ५९ जना लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बुझेको जिल्ला समन्वय समिति तनहुँले जनाएको छ ।
आव ०७३/७४ मा २ हजार ३५२ जनाले र चालू आवमा ९ हजार ७०७ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेको स्थानीय समन्वय अधिकारी अन्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार पहिलो किस्तावापतको रकमका लागि ६० करोड २९ लाख ५० हजार रुपैयाँ निकासा भएको छ । आव ०७३÷७४ मा ११ करोड ७६ लाख र चालू आवमा ४८ करोड ५३ लाख ५० हजार रुपैयाँ निकासा भएको छ ।
जिल्लामा १३ हजार ८ सय २१ पूर्ण र ४६६ आंशिक गरी १४ हजार २८७ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझ्नेछन् । व्यास नगरपालिकाका १ हजार ९४६, भानु नगरपालिकाका ४ हजार ९६, बन्दिपुर गाउँपालिकाका ९९०, आँबुखैरेनी गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका ४७४ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् ।
त्यस्तै घिरिङ गाउँपालिकाका १ सय, भीमाद नगरपालिकाका ८७९, म्याग्दे गाउँपालिकाका ९३७, शुक्लागण्डकी नगरपालिकाका १ हजार ६२२ र ऋषिङ गाउँपालिकाका ४४९ लाभग्राहीले पहिलो किस्ता बुझेका छन् ।सरकारले भूकम्पपीडितलाई आवास निर्माणका लागि तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान दिनेछ । पहिलो किस्तावापत भूकम्पपीडितलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै दोस्रो किस्तावापत १ लाख ५० हजार र तेस्रो किस्तावापत १ लाख गीर ३ लाख रुपैयाँ भूकम्पपीडितलाई प्रदान गरिनेछ ।