‘बजार थोरै माथि जाँदा पनि नाफा बुक गर्न सकिने म्युचुअल फण्ड ल्याएका हौं’ «

‘बजार थोरै माथि जाँदा पनि नाफा बुक गर्न सकिने म्युचुअल फण्ड ल्याएका हौं’

पछिल्लो समय मर्चेन्ट बैंकरहरूको संख्या धेरै भएको तथा अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै आलोचना हुने गरेको छ । सरोकारालाहरू मर्चेन्ट बैंकलाई व्यवस्थित बनाउनुपर्ने भन्दै समय–समयमा बहस गरिरहेका छन् । यसैबीचमा कारोबारकर्मी परिवर्तन देवकोटाले सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर वादे श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सार :

हाम्रो जस्तो सानो बजारमा मर्चेन्ट बैंकरको संख्या धेरै भयो भन्ने चर्चा सुनिन्छ, यसमा तपाईंको धारणा के छ ?

धेरै मर्चेन्ट बैंकर भएको सत्य हो । हरेक वाणिज्य बैंकको एउटा मर्चेन्ट बैंक छ । धेरै भयो भन्दा, बैंकहरूको शाखामार्फत मर्चेन्ट बैंकको पहुँच राष्ट्रव्यापी भएको पनि छ । तर, हामीले आफ्नै शाखा सञ्जाल विस्तार गर्न भने सकेका छैनौं । कहिलेकाहीँ शाखामा लगानी गरेअनुसारको बिजनेस पनि नहुने अवस्था आउने हुन्छ ।

प्रभावकारी काम गर्नका लागि अहिले भइरहेको मर्चेन्ट बैंकरहरूको संख्या अप्टिमम हो, धेरै पनि होइन थोरै पनि होइन । सेवा र सचेतनाका लागि थोरै संस्थाले पुग्दैन, यसका लागि धेरै नै चाहिन्छ । जति गर्नुपर्ने काम छ मर्चेन्ट बैंकरको, त्यसलाई हेर्ने हो भने संख्या धेरै होइन । अस्वस्थ प्रतिस्पर्धा भने मर्चेन्ट बैंकरहरूबीच एकदमै छ । सबै मर्चेन्ट बैंकरमा एक–अर्काभन्दा माथि जानुपर्ने सोच छ । आफ्नो प्यारेन्ट कम्पनी र स्टक होल्डरलाई पनि हामी माथि छौं भन्ने देखाउनका लागि प्रतिस्पर्धा छ ।

तर, पछिल्ला दिनमा अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । पहिले ठूलै कन्ट्र्याक हुन्थ्यो । पहिले ब्याज आम्दानी पनि राम्रै कमाइ हुन्थ्यो भने अहिले कम मूल्य वा न्यूनतम मूल्यमै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यो भनेको अस्वस्थ प्रतिस्पर्धा नै हो । पुरानै मूल्यमा कम्पनी, लागत र मार्जिन हेरेर शुल्क निर्धारण हुन्थ्यो । तर, अहिले यो केवल सिद्धान्त मात्रै भएको छ । मूल्य घट्दै गएको छ । यो बढी मात्रामा मर्चेन्ट बैंकिङ क्षेत्र जस्तैः आईपीओ, अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्टमा पनि निःशुल्क गरिनेलगायत गरिएको छ । निर्धारित शुल्क तोकेर अगाडि बढ्नु सामान्य भएपनि त्यो रोकिएको छैन ।

मर्चेन्ट बैंकर परम्परागत काममा मात्रै सीमित भए, सिर्जनशील भएनन्, बजार विस्तारमा सहयोग गर्न सकेनन् भन्ने आरोप पनि बेलाबखत लाग्ने गरेको छ नि ?

मर्चेन्ट बैंकरहरूमा भिजनको पनि कमी देखिन्छ, जसका कारण पनि यो समस्या आएको हो । जसले मर्चेन्ट बैंक चलाइरहनुभएको छ उहाँहरूले सर्ट ट्रमलाई बढी ध्यान दिनुभयो । अहिले नै आएका बिजनेसहरू पनि ओभरट्रमको दौडमा रहेको देखिन्छ । तर, हामी भने कर्पोरेट एड्भाइजरी, कन्सल्टेन्सी, एसेस्ट म्यानेजमेन्टलगायतका नयाँ आयाम थप्ने तयारीमा छौं ।

यसले हामीलाई सेयर मार्केट म्युचुअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट, मर्चेन्ट बैंकिङसहित अन्य फरक काम पनि गर्ने तयारीमा छौं । कुनै स्टार्टअप बिजनेसलाई इक्विटी विस्तार गर्नुपर्‍यो, कर्जा आवश्यक पर्‍यो भने त्यसको व्यवस्थापन र प्यारेन्ट बैंकहरूसँग कर्जाका लागि सहजीकरण गर्ने कामसमेत गरिरहेका छौं । टिम र टिम लिडरहरू मिलेर काम गरेको अवस्थामा सिर्जनशील बन्न सकिन्छ । कतिपय कम्पनीले अहिले नयाँ–नयाँ काम गरिरहेका छन् ।

एकातिर मर्चेन्ट बैंकरहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ भने अर्कातिर प्यारेन्ट कम्पनी र तिनका सञ्चालकसँग स्वार्थ बाझिने गरी काम भइरहेको छ भन्ने पनि यदाकदा सुन्नमा आउँछ । यो साँचो हो ?

अस्वस्थ प्रतिस्पर्धाको कुरा साँचो हो । तर, अर्को प्यारेन्ट कम्पनी र तिनका सञ्चालकसँग स्वार्थ बाझिने गरी काम भएको भन्नेचाहिँ सुनेको छैन । तर, त्यो जोखिम रहन्छ नै । सञ्चालकले गलत मनसायले कहिलेकाहीँ त्यस्तो काम गरेको पनि सुन्नमा आएको छ । तर, यस्तो अवस्था व्यापक रूपमा आएको भने छैन । त्यस्तो गरेको खण्डमा प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको जागिर नै जाने अवस्था आउँछ ।

अहिले सिटिजन्स क्यापिटलले नयाँ म्युचुअल फण्ड सार्वजनिक गरेको छ, यसबारे बताइदिनुस् न ?

अहिले नयाँ म्युचुअल फण्ड सिटिजन्स सुपर–३० वैशाख ६ देखि सार्वजनिक गरेका छौं । १ अर्बको साइज टार्गेट गरिएको छ । यसमा न्यूनतम १ सय एकाइदेखि अधिकतम १ करोड एकाइका लागि आवेदन दिन सकिनेछ । एकाइको निष्कासन छिटोमा वैशाख १० गतेसम्म खुला रहनेछ भने मागबमोजिम आवेदन नआएमा निष्कासन २० गतेसम्म लम्बिनेछ ।

अरू म्युचुअल फण्डभन्दा यस म्युचुअल फण्डमा भिन्नता छ । १ सय स्टक होल्ड गरेको व्यक्ति वा ५ स्टक होल्ड गरेको व्यक्ति वा संस्थामा १ सयवटा होल्ड गरेकालाई ‘लो रिस्की पोर्टफोलियो’ भनिन्छ । तर, नेपालको बजार रातो हुँदा सबै रातो वा हरियो हुँदा सबै हरियो हुने भएकाले वास्तविक रूपमा ५ वा १ सयवटा स्टकको पनि बराबर नै प्रतिशतमा पोर्टफोलियो घटबढ भइरहेको हुन्छ । त्यसकारण अप्टिमम साइजमा ३० वटा स्टक राम्रो हो भनेर ल्याएका हौं ।

पोर्टफोलियो टर्न गरिराख्ने, धेरै लामो समयसम्म नबस्ने, मार्केटले अलिकति माथि गयो भने नाफा बुक गरेर राख्न मिल्ने गरी यो योजना ल्याएका हौं । यसमा एक्जिस्टिङ फण्डहरूको एभरेज एनुअल रिटर्न १७ देखि १८ प्रतिशतसम्म छ, जुन राम्रो हो । अर्को, हामी अनुभवी टिममा काम गरिरहेका छौं । म आफैं पनि विभिन्न म्युचुअल फण्डमा काम गरेर आएको छु । त्यसकारण पनि यो नयाँ ढंगले अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं ।

पछिल्लो समयमा अर्थतन्त्र पूर्ण शिथिल भएको छ । व्यापार–व्यवसायमा मन्दी आएको छ । यस्तो अवस्थामा मर्चेन्ट बैंकरहरूको अवस्था कस्तो छ ?

हामी लगानी क्षेत्रमा पर्‍यौं । स्टक मार्केटमा लगानी भनेपछि मान्छेको आधारभूत आवश्यकतामा परेन । लगानीको मुड भनेको सबै राम्रै चलिरहेको समयमा अतिरिक्त लगानीका लागि मात्रै हो । विगतमा १८÷२० अर्ब ट्रेडिङ हुनेमा अहिले १ अर्बमात्रै भइरहेको हुन्छ । यसले पनि संकुचन देखाएको छ ।

अहिलेको अर्थतन्त्रको अवस्थाले मनोवैज्ञानिक रूपमा असर परेको छ । चिन्ताका साथसाथै ओभर प्यानिक भइरहेको अवस्था छ । बजारमा नकारात्मक हल्लाहरू छिटो फैलँदा लगानीकर्ता ओभर प्यानिक भइरहेको पाइन्छ । त्यसकारण रियालिटीमा आधारित साइकोलोजी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । ओभर एक्साइटेड बाइङ पनि हुन भएन, ओभर एक्साइटेड सेलिङ पनि हुन भएन । यसमा हामी सचेत छौं ।

अहिलेको जस्तो चुनौतीपूर्ण बजारमा टिकिरहन तपाईंहरूको रणनीति के छ ?

हामी पोर्टफोलियो म्यानेजमेन्ट बढाउन काम गरिरहेका छौं । अहिले उतारचढाव भइरहेको मार्केटमा लगानीकर्तालाई हजारौं कुरा सुनिरहनुको साटो एक टिमले नै लगानीकर्ताको पोर्टफोलियो म्यानेज गरिदिने काम गर्नेमा हामीले ध्यान दिएका छौं । बैंक खाताजस्तै चर्चित बनाउनुपर्ने छ, यसलाई । ५५ लाख लगानीकर्ता रहेको यस बजारमा अहिले जम्मा २ हजार हाराहारीले मात्रै पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका छन् ।

यो निकै न्यून हो । यसबाट लगानीकर्ताको जोखिम कम गर्न सकिन्छ । विद्यार्थी तथा अन्यलाई समेत यो आवश्यक हुन्छ । हाम्रो लगानी गर्ने बानी प्रायः सुनेको भरमा हुन्छ । तर त्यसले दीर्घकालमा राम्रो गर्दैन । बजारबारे विश्लेषण गरिरहन मानिसलाई फुर्सद पनि हुँदैन । त्यसकारण पोर्टफोलियो म्यानेजमेन्ट मेकानिजमले यसलाई सहजीकरण गर्छ ।

पुँजीबजारका नियम, कानुन वा संस्थागत व्यवस्थामा गर्नुपर्ने सुधार के हुन् ? जसले गर्दा तपार्ईंको काम–कारबाहीलाई सजिलो होस्, सेवाग्राहीलाई पनि सहज होस् ?

अहिले सबैभन्दा मुख्य कुरा वित्तीय साक्षरतामा सहजीकरण हो । मेरो संस्थाले कुनै सीमित बजेटमा वित्तीय साक्षरता, लगानी साक्षरताका कार्यक्रम गरिरहेको हुन्छ । तर त्यही कुरा कोअर्डिनेटिभ रूपमा भयो, तीन/चार महिनाको क्याम्पेनकै रूपमा धितोपत्र बोर्डले समेत गर्न सहजीकरण गरेमा सहज हुन्थ्यो भन्ने लाग्छ । अहिले कसैले लिडरसिप लिएर त्यो क्याम्पेन सुरु गर्न जरुरी छ । यसको नेतृत्व सेबोनले नै गरे पनि हुन्छ ।

कति कुरामा हाम्रो सहकार्य पनि छ, तर त्यसरी जानुपर्छ कि भन्ने लाग्छ । यसबाहेक, पछिल्ला दिनमा मर्चेन्ट बैंकरलाई केही गाह्रो भएको छ, सेबोनको नियमका कारण । आस्बा शुल्क पनि घटाएर १० बाट ५ रुपैयाँ बनाइएको छ । यो घटाएपछिको परिणाम सेबोनले अध्ययन गरेकै होला, तर केही चित्त नबुझेको कुरा पनि छ ।

लगानीकर्ताले महिनामा करिब ५ वटा कम्पनीको आईपीओ निस्कन्छ र त्यसमा आवेदन दिन्छ भने उसको लागत ५ कम्पनीका लागि ५० रुपैयाँ हो । अब अहिले १० रुपैयाँबाट ५ रुपैयाँ घटाउँदा त्यसले कस्तो प्रभाव पारेको छ त ? साँच्चै लगानीकर्ता बढाएको छ कि, बचत सिर्जना गरेको छ कि के गरेको छ ? नियामकबाट ‘पपुलारिटी’का लागि मात्रै गरियो कि यस्तो कार्य ? यसरी शुल्क घटाउँदा मर्चेन्ट बैंकरहरूको आम्दानी घटेको छ ।

हामी नाफामुखी नै हो । सेयर होल्डरलाई रिटर्न दिनैपर्छ । जनतालाई खासै फाइदा नहुने विषयमा शुल्क घटाइँदा त्यसको औचित्य के भयो भन्ने पनि बुझ्नु आवश्यक हुन्छ । आस्बा शुल्क धेरै भएको भन्ने त सुनियो, तर त्यो कम हुँदा कस–कसलाई साँच्चै सहज भएको अवस्था छ ? त्यस्तो छ देखिँदैन । अर्को, म्युचुअल फण्डको ५ प्रतिशत आरक्षण हटाउने तयारी भइरहेको छ । यसमा के बुझ्न जरुरी छ भने म्युचुअल फण्ड भनेको ससाना लगानीकर्ताकै फण्ड हो ।

यो ५ प्रतिशत आरक्षण क्यापिटललाई वा मर्चेन्ट बैंकरलाई दिएको होइन । यो म्युचुअल फण्डलाई दिएको आरक्षण हो, जुन हटाउनु हुँदैन । यसमा पर्याप्त छलफल हुनु जरुरी छ । अरू धेरै राम्रो काम सेबोनले गरेको छ । यसबाहेक अन्य नियामक निकाय, जस्तैः नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर पनि विभिन्न काम गर्ने, मौद्रिक नीतिमा सहजीकरण गर्ने जस्ता विभिन्न आवश्यकता पनि छन् ।

प्रतिक्रिया दिनुहोस्