भव्यताका साथ सकियो यस वर्षकाे ओशो महोत्सव

नयाँ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित ओशो महोत्सव सम्पन्न भएको छ । महोत्सव बिहान ९ देखि राति ९ बजेसम्म आयोजना गरिएको थियो । महोत्सव ओशो अनुयायी तथा योग ध्यान प्रेमीहरुको भव्य उपस्थितिमा सम्पन्न भएको थियो ।
महोत्सव उदघाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सबै उमेर समूहले योग ध्यानमा जोड दिनु पर्ने बताए । उनले भने,“ओशो महोत्सवले जनमानसमा योग ध्यानको बारेमा जनचेतना जगाउने छ भने स्वस्थ व्यक्ति र समाज निर्माणमा समेत टेवा पुग्ने छ ।”

महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ लाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यसबारे संयुक्त राष्ट्रसंघीय निकायसम्म पहल गरिएको जानकारी दिए । यही दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने उनले बताए ।
यो दिवसको घोषणा गर्न सकियो भने यसले नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनको भनाइ छ । गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष समेत रहेका भट्ट केही वर्षदेखि ओशो अभियानमा छन् ।

महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम भएका थिए ।
हास्यकलाकार मदकृष्ण श्रेष्ठ, मनोज गजुरेल र जितु नेपालले विभिन्न प्रहसनमार्फत सबैलाई हसाएका थिए । महोत्सव प्रवक्ता नीराजन भण्डारीका अनुसार ५० हजारभन्दा बढी व्यक्तिले महोत्सव अवलोकन गरेका थिए । महोत्सवमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको पनि उपस्थित थियो ।
