बिदेसिने होडले दक्ष कामदारको अभाव

रोजगारीका लागि दक्ष कामदार विदेश जाने क्रम बढेसँगै स्वदेशका दक्ष जनशक्तिको अभाव देखिएको सरोकारवालाले बताएका छन् । नेपालमा सूचना प्रविधि र पर्यटनको क्षेत्रमा वार्षिक २० प्रतिशत रोजगारी सिर्जना हुने गरेको भए पनि दक्ष कामदारको भने अभाव देखिएको छ ।
दक्ष जनशक्तिको अभाव पूर्ति गर्न अर्धदक्ष कामदारलाई तालिम दिन विज्ञको सुझाव छ । सूचना प्रविधिको क्षेत्रमा बर्सेनि २१ प्रतिशतले रोजगारी सिर्जना हुने गरेको तर दक्ष कामदारको भने चरम अभाव रहेको एक अध्ययनले देखाएको छ ।
साउती नामक संस्थाले ओभरसिज डेभेलपमेन्ट इन्स्टिच्युट नामक अन्तर्राष्ट्रिय संस्थासँग मिलेर गरेको अध्ययनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा वार्षिक २१ प्रतिशत र पर्यटनको क्षेत्रमा १८.१ प्रतिशतले रोजगारी सिर्जना भए पनि दक्ष कामदारको अभाव रहेको देखाएको हो ।
ती दुई संस्थाले सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक र कृषि प्रशोधनको क्षेत्रमा गरेको अध्ययनअनुसार सूचना–प्रविधिको क्षेत्रमा कामदार पाउनै मुस्किल छ । सुरुवाती तलब मासिक २१ हजार ७ सय तथा मध्यम कामदारको तलब मासिक ५० हजार रहेको सूचना–प्रविधिको क्षेत्रमा वार्षिक १० देखि २० प्रतिशतका दरले तलब बढ्ने गरेको छ । तर, यसका बाबजुद पनि सूचना प्रविधिको क्षेत्रमा संलग्न कामदारमध्ये अधिकांशलाई काममा टिकाउन नै कठिन रहेको अध्ययनले देखाएको छ ।
अधिकांश व्यक्ति अध्ययनका लागि विदेश जाने गरेका कारण सूचना प्रविधिको क्षेत्रले कामदारको अभाव झेल्नुपरेको छ । सूचना प्रविधिको क्षेत्रका कामदारमध्ये ७८ प्रतिशत ३० वर्ष मुनिका छन् । पर्यटन र उत्पादनमूलक क्षेत्रमा कार्यरत कामदार पनि केही वर्षको अनुभवपछि धेरै आम्दानीका लागि विदेश जाने गरेको अध्ययनले देखाएको छ ।
साउतीले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले युवाहरुमा विदेश जाने लहड रहेका कारण नै सबैजसो क्षेत्रमा सीपयुक्त जनशक्तिको अभाव रहेको बताए । उनले मुलुकमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले अब सीपयुक्त युवाहरूलाई स्वदेशमै रोजगारी दिने गरी उद्योगहरू खोल्नुपर्ने बताए ।
साउती र ओडीआईले गरेको अध्ययनअनुसार कृषि प्रशोधनको क्षेत्रमा समेत सीपयुक्त प्राविधिकहरूको अभाव छ । दक्ष कामदारको रोजाइ विदेश हुने गरेकाले अर्धदक्ष कामदारलाई तालिम दिएर काममा लगाउन उपयुक्त हुने अध्ययनको सुझाव छ ।