केसीले सम्हाले कार्यभार «

केसीले सम्हाले कार्यभार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनबाट छानिएका ३ अध्यक्षमध्ये अन्तिम कार्यकालका लागि डा. बद्री केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । शुक्रबार एनआरएनए सचिवालयमा भएको एक कार्यक्रममा निवर्तमान कार्यकारी अध्यक्ष रविना थापाले संघको हिसाबकिताब सहित प्रतिवेदन केसीलाई हस्तान्तरण गर्दै कार्यकारी दायित्व सुम्पिएकी छिन् ।

कार्यकारी पद सम्हाल्दै अध्यक्ष केसीले आगामी कार्यकालको प्रतिबद्धतापत्र पेश गरे । प्रतिबद्धता जनाउँदै केसीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरूलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथमिकता हुने बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्सन कोषमा सहभागी भएका वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई योजनामा आबद्ध गर्न मध्यपूर्वका मुलुकसहित मलेसिया, दक्षिण कोरिया तथा वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक गएका गन्तव्य मुलुकहरूमा विशेष रोड शो आयोजना गरिने उनले बताए । उनले आफ्नो प्रतिबद्धतापत्रको तेस्रो प्राथमिकतामा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) सँग मिलेर हाल विभिन्न १६ देशमा नेपाली श्रमिकको सीप स्केल म्यापिङ कार्यलाई थप विस्तार गरिने बताएका छन् ।

गैरआवासीय नेपालीहरूले लामो समयदेखि अपेक्षा गरिरहेको गैरआवासीय नागरिकताको सुनिश्चितता गर्न पहल गरिने उनले बताए । यसैगरी गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानुनी व्यवस्था मिलाउनको लागि गैरआवासीय नेपाली सम्बन्धी ऐनलाई आगामी संसद् अधिवेशन मार्फत टुग्गोमा पुर्‍याउन नेपाल सरकारसँग पहल गरिने भएको छ ।

सो ऐनमार्फत नेपाली मूल भएका तर पुस्त्रौदेखि विदेशमा बसोबास गर्दै आएका नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, ब्रुनाइ लगायतका मुलुकमा रहेका) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानुनी आधारसहित नेपालसँग जोडिनेछ । नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाई हाल १० अर्ब सुरूवाती पुँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सो फण्डमा आइपीओ मार्फत जोड्न ६ वटै रिजनमा नेपाली समुदायको बाहुल्य रहेको स्थानमा रोड शो गरिने भएको छ । गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्बद्ध वित्तीय निकायहरुबाट लगानीको व्यवस्था गरिने कार्यकारी अध्यक्ष केसी बताए ।

संयुक्त स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने र क्रमशः कार्यान्वयन समेत गरिने भएको छ । यसैगरी गैरआवासीय नेपाली संघमा महिला र युवाको थप सहभागिताका लागि विभिन्न कार्यक्रम ल्याइने भएको छ । पदभार हस्तान्तरण कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टले एनआरएनको सबैभन्दा ठूलो पक्ष संघको एकता रहेको बताउँदै संघले जस्तोसुकै परिस्थितिमा आफूलाई सफल बनाउन हरेक क्षेत्रमा लचकता अपनाउँदै आएको बताए ।

उनले यसअघिका २ कार्यकारी अध्यक्ष रविना थापा र कुल अचार्यलाई धन्याद दिँदै आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका अध्यक्ष डा. केसीलाई सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष कुल आचार्य र रविना थापाले पनि कार्यकारी अध्यक्ष केसीलाई शुभकामना दिएका दिए ।

प्रतिक्रिया दिनुहोस्