Logo

इजरायलमा आठ सय ३७ नेपालीले भरे उद्धार आवेदन

काठमाडौं– परराष्ट्र मन्त्रालय र नेपाली दूतावास इजरायलले रोजगारी तथा अन्य कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उद्धार तथा अवस्थाबारे जानकारी लिन सुरु गरेका छन् । मन्त्रालयले इजरायलमा रहेका नेपालीको अवस्था जानकारी र आवश्यकताअनुसार उद्धार प्रयोजनका लागि विवरण फारम सार्वजनिक गदै स्वदेश फर्कन चहाने नेपालीलाई फारम भर्नसमेत अनुरोध गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म आठ सय ३७ नेपालीले उनीहरुको अवस्था जानकारी गरादै फारम भरेको बताए । ‘फारम भर्ने सबैले उद्धार गर्न मात्र नभई आफ्नो अवस्था जानकारी पनि गराउने गरेको देखिन्छ,’ उनले कारोबारसँग भने, ‘यसमध्ये ३५ जनाले उद्धारका लागि अनुरोध गरेका छन् ।’

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपाय अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने बताइन् । सरकारले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिस्ट्रेसन पनि खुलेको र उनीहरू स्वदेश फर्कन चाहे उद्धारका लागि त्यसको प्रबन्धको गरिएको छ । जीटूजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपाली नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहे सोका लागि इजरायलले सहजीकरण गर्नेछ ।

त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपाली स्वदेश फर्कन चाहेमा उनीहरुको उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको प्रवक्ता क्षेत्रीले बताए । जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीलाई सम्बन्धित नेपाली दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरिएको थियो । ती मुलुकमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।

परराष्ट्रले गत बुधबार नै दोश्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध गरिएको थियो । त्यसैगरी इजरायलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित नेपाली दूतावासलाई सम्बन्धित सरकारी अधिकारी, यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरू र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ ।

हाल इजरायलमा पाँच हजार पाँच हजारदेखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन् ।

इरानमा फसेका नेपालीको उद्धारमा भारतीय सहयोग लिइने
भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले छिमेकी नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको हो । बीबीसीका अनुसार भारतीय दूतावासले आफ्नो एक्सपोस्टमाफतत् उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

इरानका लागि भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावास इरानमा फसेका दुवै देशका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने छ ।’ केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री डा आरजु राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन् ।

त्यसका लागि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्